काँगे्रसको ध्यान राष्ट्रपति चुनावमा केन्द्रित, तीन पार्टीले थाले ओलीविरुद्ध मोर्चावन्दी

तीन पार्टीले थाले ओलीविरुद्ध मोर्चावन्दी
काँगे्रसको ध्यान राष्ट्रपति चुनावमा केन्द्रित

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने, सबै दलको सहयोग लिने निर्णय

लावण्य/साँखु । सत्तामा रहेको पार्टीसँग सत्ता बाहिर रहेका दुई पार्टीले मोर्चा निर्माण गर्ने तयारी थालेका छन् । सरकारमा रहेको माओवादी केन्द्रसँग प्रधानमन्त्रीलाई विश्वास दिएको नेकपा एकीकृत समाजवादी र सरकारलाई समर्थन गरेको तर सरकारमा सहभागी नभएको जनता समाजवादी पार्टीले एकता गर्ने सम्मको तयारी थालेका छन् ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच गोप्य वार्तापछि प्रक्रिया शुरु भएको बताइएको छ । तीनै पार्टीका अध्यक्षबीच गोप्य छलफलपछि वार्ता टोली अहिले सक्रिय रहेका छन् । एकताका लागि पार्टीका दोस्रो तहका नेताहरूलाई अध्यक्षले खटाएका छन् ।

एकता प्रक्रियाका लागि आइतबार एसका महासचिव बेदुराम भुसाल, उपमहासचिव विजय पौडेल र प्रकाश ज्वालाले जसपाका अशोक राई र राजेन्द्र श्रेष्ठलाई भेटेका थिए । बैठक एसको केन्द्रीय कार्यालय तीनकुनेमा भएको थियो ।

त्यसपछि एसका तीनै नेता पेरिसडाँडा पुगेर माओवादीका नेतासँग भेट गरेका थिए । बैठकमा माओवादीका नेता कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत सहभागी थिए । माओवादी र एसले देउवा नेतृत्वको सरकारकै समयमा एकताका लागि एकता संयोजन समिति बनाएको थियो ।

एमाले छोडेका माधव नेपालले एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएका छैनन् । सरकारमा अध्यक्ष केपी ओलीसँगको दल एमाले प्रमुख रहेकाले उनी झस्किएका छन् । तर उनको पार्टीको प्रधानमन्त्री रहेका प्रचण्डसँग सम्बन्ध सुमधुर रहेको छ ।

यता पछिल्लो समय सरकारमा सहभागी र सरकार बाहिर रहेका दल उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एमाले अध्यक्ष ओलीसँग खासै सन्तुष्ट छैनन् । जसपाले ओली सामु असन्तुष्टि पोखि सकेको छ । मन्त्रिपरिषद्मा भागबन्डा नमिलेपछि सरकारलाई समर्थन गरेको जसपा सरकारमा सहभागी भएको छैन । अध्यक्ष ओली संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रले सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको जसपाले ठहर नै गरेको छ ।

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने, सबै दलको सहयोग लिने निर्णय

नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । सोमबार विहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले सबै दलको सहयोग लिएर राष्ट्रपतिमा उम्मेदवारी दिन निर्णय गरेको हो ।  कांग्रेस प्रवक्ता प्रकाशशरण महतले रातोपाटीसँग भने, ‘कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ । राष्ट्रपतिमा सबै दलको सहयोग लिएर अगाडि बढ्ने निर्णय भयो ।’

कांग्रेसले समयमै राष्ट्रपतिको निर्वाचन गराउनका लागि निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता महतले बताए । महतका अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती भएको भनेर आफूले नभनेको नेता शेखर कोइरालाले बताए ।  ‘मैले यस्तो भनेको होइन । झुटो प्रचार गरियो । प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा अलग मत छ भनेकै छैन,’ उनले भने, ‘मैले भन्दै नभनेको कुरा प्रयोजित रुपमा बाहिर आयो । मैले यसको खण्डन गरिसकेको छु ।’ कोइरालाले राष्ट्रपतिको निर्वाचनमा समर्थन जुटाउन लाग्ने बताएका थिए ।

Facebook Comments Box