काठमाडौँ काग्रेसमा क्रियाशील विवाद

लावण्य/साँखु । काठमाडौँका १० वटा निर्वाचन क्षेत्रमध्ये नेता प्रकाशमान सिंहको क्षेत्र नम्बर १ र गगन थापाको ४ बाहेक अरु सबै ठाउँमा क्रियाशिल सदस्यता वितरणबारे विवाद भएको छ ।
त्यसै क्रममा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर २ मा क्रियाशिल सदस्यता वितरणमा विवाद भएको छ ।
संस्थापन पक्षमा रहेका क्षेत्रीय सभापति उपेन्द्र कार्कीले विधानविपरीत एक पक्षीय रुपमा नयाँ क्रियाशिल सदस्यता केन्द्रमा पठाएको आरोप इतर पक्षले लगाएको छ ।
कागेश्वरी नगरपालिकाको वडा नम्बर ७ र महानगरपालिकाको ३२ नम्बरमा नयाँ क्रियाशिल सदस्यता वितरणमा विवाद भएको हो ।
१४औँ महाधिवेशनका लागि कांग्रेसले शतप्रतिशत क्रियाशिल थपेर पठाउन निर्देशन गरेको छ ।
साविकको क्रियाशिल सदस्यता नविकरणमा कुनै समस्या नभए पनि थप गरिएको क्रियाशिल सदस्यतामा चर्को असन्तुष्टि देखिएको हो ।
३२ नम्बर वडामा साविक क्रियाशिल सदस्यता ७५३ रहेकोमा त्यति नै थप हुनुपर्नेमा झण्डै एक सय जना बढाएर ८५० जनाको नाम केन्द्रीय सफ्टवेरमा इन्ट्री भएको ३२ नम्बर वडा इकाइ सचिव राजन पराजुलीले बताउनुहुन्छ ।
त्यस्तै कागेश्वरी–७ मा साविक क्रियाशिल सदस्यता १८३ रहेकोमा नयाँ त्यति नै थपिनु पर्ने भए पनि २५४ जना केन्द्रमा इन्ट्री भएको इकाइ सचिव कृष्णराम रायमाझीको कथन छ ।
क्षेत्रीय सभापतिको निर्णयविरुद्ध इतर पक्षले संगठित रुपमै विरोध जनाएको छ । रायमाझीले विधानविपरीत इन्ट्री भएका सबै क्रियाशिल सदस्यतालाई मान्यता नदिन उजुरी गरिएको बताएका छन् ।
३२ नम्बर वडाका लगभग सबै इकाइ समितिका सदस्यको उपस्थितिमा निर्णय गरेर केन्द्रीय कार्यालयमा उजुरी गरिएको इकाइ उपसभापति मुरारी ढकालले जानकारी दिए ।
उनले भने, ‘हामी इकाइमा १८ जना छौँ । जसमध्ये १५ जनाले हस्ताक्षर गरेर ६ गते पार्टी कार्यालयमा क्रियाशिल सदस्यता वितरण विरुद्ध उजुरी गरेका छौँ ।’
क्षेत्रीय सभापति कार्कीले भने विधान सम्बत रुपमै सबै क्रियाशिल सदस्यता केन्द्रमा पठाइएको बताए। आफू कमजोर हुने भएपछि सदस्यता वितरणमा विवाद सिर्जना गर्न खोजिएको उनको दाबी छ ।
कार्कीले भने, ‘यो सबै आफू कमजोर भएपछि निकालिएको विवाद हो । जतिको क्रियाशिल सिफारिस भएको छ, ती सबैको मतदाता नामावलीसँगै समावेश गरिएको छ ।’
कार्कीले वडा ३२ का पूर्वइकाइ सभापति अर्जुन पराजुुलीले लगेको फारम लुकाएर अरुमाथि आरोप लगाएको दाबी गरे ।
उहाँले हामीसँग भने, ‘मैले सुरुमा अर्जुन जीलाई आएको पाँच सय मध्ये तीन सय फारम दिएको थिएँ । मैले थप फारमसमेत ल्याएर वितरण गरेपछि उहाँहरु अल्पमतमा पर्ने ठानेर त्यो लुकाउनु भयो । अनि विवाद गर्न थाल्नुभएको हो ।’
कांग्रेसले आउँदो भदौ १६ देखि १९ गतेसम्म हुने १४ औँ महाधिवेशनका लागि असार २० गतेभित्र क्रियाशिल सदस्यता टुंग्याउने कार्यतालिका बनाएको छ । यसपटक कांग्रेसले शत प्रतिशत क्रियाशिल सदस्यता थपेर दश लाख पु¥याउने तयारी गरेको छ ।