काठमाडौँ–२ बाट माधव नेपाल विजयी

लावण्य/साँखु । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौँ क्षेत्र नं. २ बाट २७ हजार ३ सय ६६ मतका साथ विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वि निवर्तमान सांसद दीपकप्रसाद कुइँकेलले १४ हजार ९ सय मत पाएका थिए भने तेस्रो हुनुभएका विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४ सय ३७ मत पाएका छन् ।

यो जीत सँगै एमाले नेता नेपालले यस क्षेत्रबाट दोस्रोपटक नेतृत्व गर्ने हुनुभएको छ । यस अघि २०७० सालको दोस्रो संविधानसभामा निर्वाचित नेपालले उपनिर्वाचनमा यस क्षेत्र छाडेपछि कुँइकेल निर्वाचित भएका थिए ।

चुनाव जितेपछि माधव नेपालको यस्तो प्रतिक्रिया

चुनाव जितेपछि पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधव कुमार नेपालले अबको कार्यभार नयाँ सरकार गठन र पार्टी एकीकरण रहेको बताएका छन् ।

निर्वाचित भएपछि राष्ट्रिय सभागृहमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता नेपालले समयसिमा भित्र सरकार गठन गर्ने, सरकारको नीति तथा कार्यक्रम तय गर्ने र नेता कार्यकर्ताको भावना अनुसार पार्टी एकताको विषयमा अगाडि बढाउनेतर्फ ध्यान केन्द्रीत गर्ने बताएका हुन् ।

उनले आफ्नो विजयलाई  जनताले परिवर्तन चाहेको र यथास्थीतीबाट बाट परिर्वतन नहुने भएकोले आफूलाई निर्वाचित गराएको प्रतिक्रिया दिए ।

उनले भने–‘जनताले चम्किरहेको सुर्य जस्तै परिवर्तनका लागि नयाँ शक्ति खोजेका छन् । जनताले के चाहेका छन् अब त्यसमा हामीले ध्यान दिनुपर्छ । यूवाहरु, गरिव जनताले के चाहेका छन् त्यो पूरा गर्नुपर्छ । जनतामा राष्ट्रियताको भावना अघि बढाउनु पर्छ । न्याय समानता र समृद्धीको बाटोमा अघि बढ्नुपर्छ । बाम गठबन्धनले विजयी हुँदैमा लोकतन्त्र कटौती हुन्छ भन्नेमा कसैले आशंका नगरे हुन्छ ।’

उनले जनताले परिवर्तन खोजेको, लोकतन्त्र र देशलाई बलियो बनाँउन बाम शक्ति आएको बताए । उनले बाम शक्ति विजयको उन्मादमा नमात्तिन र पराजितलाई नआत्तिन  समेत आग्रह गरे । उनले विपक्षीलाई साथमा लिन सक्नुपर्ने र बिपक्षीले हारको तोडमा ध्वंश र नकारात्मकताको बाटोमा जान नहुने बताए ।

कुइँकेलले ३ वर्ष ३ महिना सांसद भएर यस क्षेत्रमा काम गर्ने अवसर पाएका थिए । यस क्षेत्रमा नेपाली काँगेंसले अहिलेसम्म १ पटकमात्रै जीत हात पारेको छ । यस क्षेत्रमा २०४६ सालपछि जहिलेपनि एमालेले जित्दै आएको थियो भने २०६४ को संविधानसभाको प्रथम निर्वाचनमा भने नेकपा माओवादी का झक्कुप्रसाद सुवेदीले जीत हातपारेका थिए । सुवेदी यसपटक भने नेपाली काँगे्रसका भीमसेनदास प्रधानसँग हार्नुभएको छ ।

लावण्य सन्देश वर्ष ७ अंक २५ बाट

Facebook Comments Box