काठमाडौं उपत्यकाभित्र थपियो एक साता निषेधाज्ञा, के-के खुल्छ ?
लावण्य/साँखु । काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।
आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार साबिकको निषेधाज्ञाभन्दा केही खुकुलो बनाइएको छ ।
अब खाद्यान्न, तरकारी किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिइने छ ।
विकास निर्माणका काममा आवश्यक पर्ने पसललाई बेलुका चार बजेदेखि खुल्न दिने निर्णय भएको छ ।
‘पहिले खाद्यान्न, किराना, तरकारी पसल, फलफूल पसललाई बिहान ९ बजेसम्म मात्र खोल्न दिइने निर्णय भएको थियो, अब ती पसल ११ बजेसम्म खोल्न दिने निर्णय भएको छ,’ भट्टराईले भने, ‘यसमा पुस्तक पसल पनि थप गरिएको छ ।’
होटलमा टेक अवे सेवालाई निरन्तरता दिने निर्णय भएको उनले बताए । अनलाइन डेलिभरीका लागि होटलहरूलाई बिहान सात बजेदेखि काम गर्न दिइने छ ।
विकास निर्माणका काममा स्वास्थ्य मापदण्ड पूरा गरेर मजदुरहरू राख्न पाइन्छ । वर्कसपहरू बिहानदेखि बेलुकीसम्मै खोल्न पाइने पनि निर्णय भएको छ ।
अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ । एम्बुलेन्स, शववाहन लगायत स्वास्थ्य सेवामा खटिने साधनले परिचय पत्र देखाउनु पर्दैन ।
बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ । पहिले जिल्लामा दुई वटा बैंकका शाखा सञ्चालन गर्न दिइएको थियो । यसमा सामान्य सहजीकरण गरिएको भट्टराईले बताए ।
सहकारीका लागि सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ । बैंकहरूको अरू शाखा खोल्नका लागि राष्ट्र बैंकमार्फत् कुरा गरेर कति दिन खोल्ने भन्ने प्रोटोकलअनुसार खोल्न सकिने पनि उनले बताए ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि राति १२ बजे सकिँदै थियो । त्यसको पूर्वसन्ध्यामा प्रमुख जिल्ला अधिकारीहरूले नयाँ निषेधाज्ञा जारी गरेका हुन् ।
उपत्यकामा कोरोना संक्रमणको दर उल्लेखनीय नघटेसम्म निषेधाज्ञालाई कायम राख्ने सरोकारवाला निकायको सिफारिस बमोजिम निषेधाज्ञालाई निरन्तरता दिइएको भट्टराईले बताए ।
उपत्यकामा संक्रमणदर १० प्रतिशतमा झरेपछि मात्रै निषेधाज्ञा हटाएर क्रमशः ‘लुजडाउन’मा जानुपर्ने सुझाव सरोकारवाला निकायको रहेको सिडिओहरूले बताएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कृषिजन्य कामका लागि मल ढुवानी र बीऊ बिजनका पसलहरू खुल्न दिने निर्णय भएको छ ।
कुटनीतिक निकायबाट जारी हुने भिसा, परीक्षा र अन्तर्वार्ता खुला गरिएको छ ।