कोभिडबाट बच्दै सावधानीका साथ संस्कृति धान्दै

गत वर्ष कोभिड महामारीका कारण विशेषगरी नेवार समुदायले आफ्नो जात्रा मात्रा एवं पर्वहरु मनाउन पाएनन् । तर गत वर्ष माघ देखि भने साँखुको कुरा गर्ने हो भने दशौँ लाख भक्तजनलाई स्वागत गर्दै स्वास्थ्य मापदण्डको सक्दो पालना गर्दै माधवनारायण व्रत एवं माघ मेला सञ्चालन गरिसकेपछि भने विभिन्न जात्राहरु सुरु भए ।

सोही क्रममा साँखुको जात्रा, भक्तपुरको जात्रा, टोखाको जात्रा सञ्चालन भएपनि मछिन्द्रनाथको जात्रा सांकेतिकरुपमा मात्रै भयो भने बनेपा, पनौति लगायतका स्थानहरुमा जात्रा सञ्चालन भएनन् ।

त्यसपछि बिस्तारै कोरोनाको ग्राफ कतै उकालो कतै ओरालो लागेपनि खोप लगाउन थालेपछि भने स्वास्थ्य मापदण्ड अपनाउँदै जनैपूर्णिमा मेला, सापारु, गाईजात्रा, रोपाइँ जात्रा सञ्चालनमा आए । तर पनि आम जनसमुदाय डराईरहेका छन् त्यसैले स्वास्थ्य मापदण्ड पनि अपनाईरहेका छन् । गएको वर्ष भरीमा आफ्ना आफन्त गुमाएकाहरुले निकाल्नै पर्ने गाईजात्राको झाँकी निकाल्दा समेत सबैले मास्क लगाएरै बजार परिक्रमा गरिएका दृश्यहरु यसपाली जताततै देखिए ।

यसपटक साँखु र पाटनमा नृसिंह जात्रा पूजा समेत स्वास्थ्य मापदण्ड अपनाएर चलाईए । त्यसैगरी साँखुमा गत साल रोपाइँ जात्रा चलाईएको थिएन भने यसपटक भने रोपाइँ जात्रा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई चलाउने निधो गरेको छ ।

जो जो रोपाइँ जात्रामा आउँछन् उनीहरुले अनिवार्यरुपमा मास्क लगाउनुपर्नेछ भने स्यानिटाईजर, पन्जा समेत लगाउन आयोजकले अनुरोध गरेको छ ।

भीडभाडले मात्रै कोरोना सर्ने हैन तर त्यो पनि एउटा कारक तत्व हुनसक्छ भनी आयोजकले सर्वसाधारणलाई कोभिड १९ को प्रोटोकल पालना गर्न अनुरोध गरेको हो ।

यसरी स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्ना संस्कृति र परम्परा जोगाउन नेवार समुदाय लागेको देख्दा साह्रै खुशी मान्नुपर्ने हुन्छ । जस्ले जत्तिसुकै कुरा गर्दा पनि नेपालको परिचय भनेकै नेवार संस्कृति हो । हुनतः अन्य जातजातिका संस्कृति नभएका होईनन् । जस्तै मिथिला संस्कृति, तामाङ संस्कृति, भोट वर्मेली संस्कृति, पश्चिमेली संस्कृति यी सबै संस्कृति र परम्पराको जगेर्ना गर्न पनि अब कोभिड १९ को प्रोटोकल जति सक्दो बढी पालना गरेर सांस्कृतिक कार्यक्रमहरु, जात्रा पर्व सञ्चालन गर्नु जरुरी हुन आउँछ ।

Facebook Comments Box