गिरिजाप्रसाद जोशीको “ल्वहँमा” महाकाव्य अध्ययन गर्दा
– चन्द्र बहादुर उलक –
गिरिजाप्रसाद जोशीबाट रचित ‘ल्वहँमा’ महाकाव्य नेपालभाषा साहित्य क्षेत्रमा छुट्टै अस्तित्व बोकेको सामाजिक महाकाव्य हो । यस महाकाव्यमा समाजभित्र देखिने निहित स्वार्थ, भ्रष्टाचार, अनैतिकता तथा सत्य र असत्य विचारबीच द्वन्द्वको चित्र कोरेको छ । मान्छे परिस्थितिअनुसार चल्न सकिएन भने विभिन्न थरीका समस्याहरू भोग्नुपर्नेछ भन्ने सन्देश कृतिमा छ । जस्तोसुकै समस्या भोग्नु परे तापनि सत्यको बाटो छोड्नुहुन्न भन्ने कुरा महाकाव्यमा छ ।
एउटा निर्जीव वस्तुलाई मुख्य पात्र बनाई समाजको अध्ययन गराउन ‘ल्वहँमा’ महाकाव्य सफल छ । विभिन्न छन्दमा रचित यस महाकाव्यको ९ अध्याय छ ।
अनकन्टार जङ्गलभित्रको एउटा झरनामाथिको चट्टानले कालीगढको सीपबाट पानीघट्ट हुँदै ‘ल्वहँमा’ (सिलौटो) मा परिणत भइसकेपछि मानव बस्तीभित्रको समस्या अध्ययन गर्दै काव्य अगाडि बढ्छ । महाकाव्य यसरी सुरु हुन्छ– एउटा सानो निम्न मध्यम वर्गीय परिवार थियो । परिवारमा माता, पिता, छोरा र छोरी गरी ४ जना सदस्य थिए । बेरोजगारको कारण त्यस परिवारले दुःख झेलिरहेका थिए । फुलुचा भन्ने छोरीको भविष्यबारे उनीहरूलाई चिन्ता थियो । फुलुचाको विवाहको विषयमा वैचारिक द्वन्द्व माता–पिता र छोरा रमेशको बीचमा चलिरहेको थियो ।
जस्तोसुकै खराब परिवार भए तापनि हुनेखाने परिवारमै छोरीको विवाह भइदिए हुन्थ्यो भन्ने इच्छा माता–पिताको थियो तर, छोरा रमेशको विचार भिन्न थियो । ऊ चाहन्थ्यो कि इमानदार परिवारमा बहिनीको विवाह होस् । यही विषयमा परिवारमा द्वन्द्व देखाइएको छ ।
पिता र छोराको माझमा यसरी द्वन्द्व देखाइएको छ–
बौम्ह धाःम्ह खः–धन हे तःधं,
धन मदय्क याय् फइ मखु छुं ।”
काय्म्ह धाःम्ह खः–इमान तःधं,
इमान मदय्कं दइ मखु छुं ।”
(पेज १३)
भावानुवाद–
पिताले भन्छ – धन नै ठूलो,
धनबिना हँुदैन क्यै ।”
छोराले भन्छ – इमान ठूलो
इमानबिना हुँदैन क्यै ।”
एकदिन एकजना सरकारी कर्मचारी खरिदार र विद्यालयका शिक्षक छोरी फुल्चा माग्न आउँथे । छोरीको विवाह एकदिन गर्नैपर्ने भएको हुँदा खरिदार वा शिक्षक कसलाई कन्यादान दिने भन्ने विषयमा छलफल भयो । माता–पिताको खरिदारलाई छोरी सुम्पने विचार थियो । छोरा रमेशको विचार फरक थियो । खरिदार भ्रष्टाचारी हुनाको कारण बहिनी उसलाई सुम्पनु हुन्न । बरु, इमानदार मास्टरलाई बहिनी सुम्पिन पाए हुन्थ्यो भन्ने छोराको मत थियो । यसै विषयमा माता, पिता र छोरामाझ कटाक्ष भए ।
खरिदारलाई आफ्नो छोरी सुम्पन पाए छोरीले सुख पाउँछे, जागीरको भरमा जिउनुपर्ने मास्टरलाई छोरी सुम्पियो भने दुःख पाउँछे भन्ने सोच माता–पिताको थियो । त्यस्तै भ्रष्टाचारीसँग बहिनीको विवाह भयो भने इज्जतविहीन जीवन बिताउनुपर्ला भन्ने चिन्ता छोरा रमेशमा थियो ।
यस विषयमा प्रतिवाद गर्दै पिता भन्छ–
धन दत धाःसा न्याय् फइ न्याय नं
हाकुगु तुयिका हयफु धनं ।
लुच्चा– खुँत नं पापी दुष्ट नं
सज्जन जुइकाः हय्फु धनं ।”
(पेज १५)
भावानुवाद–
“न्याय किन्न सकिन्छ धनले
कालोलाई सेतो बनाउन पनि ।
सज्जन बनाउन सकिन्छ धनले
चोर फटाहा दुष्ट पनि ।”
धनभन्दा इमान ठूलो र इमानभन्दा धन ठूलो भन्ने वादविवाद तथा द्वन्द्व चलाउँदै उक्त परिवार अगाडि बढ्दै थियो । पिताको आँखामा छोरा रमेश कौडीको मूल्यमा पनि नबिक्ने मूर्ख सन्तान पाएँ भन्ने चिन्तामा थियो । माता–पिताको गलत विचारले गर्दा रमेशको मन खिन्न थियो । छोराको विषयमा पिताको भावना यसरी व्यक्त गरिएको छ–
“कर्पिनि काय्पिं चंख गपाय्सं
बुद्धि भ्याः भचा मदुम्ह थ्व खः ।
अहो ! अः खः बुद्धि गपाय्सं
ध्वाद्ध ! कर्मय मरुम्ह थ्व खः ।”
(पेज १६)
भावानुवाद–
“अर्काको छोरा चलाक कस्तो
बुद्धि छैन अलिकति हाम्रो ।
उल्टो बुद्धि भयो हाय् !
भाग्यबिनाको लोसेजस्तो ।”
महाकाव्यको मूल पात्र ‘ल्वहँमा’ मा घरको बुइँगलमा बसेर त्यस परिवारको दुःख कष्ट, द्वन्द्व हेर्दै वर्तमान समाजको जीवनबारे सही ज्ञान सँगालिरहेको कुरा उल्लेख छ । साथै ‘ल्वहँमा’ ले आफै विगतको जीवन सम्झना गर्दै चट्टानबाट पानी घट्ट, पानी घट्टबाट– ल्वहँमा परिणत भई यो सांसारिक जीवनको यथार्थताबारे ज्ञान पाउन प्रयत्नशील देखिन्छ ।
देशमा दण्डहीनता, भष्टाचार, अनियमितताजस्ता अनैतिक कार्यहरूमाथि कारबाही गर्दै स्वच्छ समाज निर्माण गर्दै लानुपर्नेमा त्यसको ठीकविपरीत त्यसैलाई प्रोत्साहन दिँदै समाज अघि बढिरहेको विषयमा व्यङ्ग गर्दै ल्वहँमामा भनिएको छ –
“घुस धइगु बुलुहुं बुलुहुं
जुल इज्जत दुगु लजगाः हे ।
“घुस्या” धइगु नं बुलुहुं बुलुहुं
जुल इज्जत दुगु दर्जा हे ।।”
(पेज १७)
भावानुवाद–
“घुस भन्ने बिस्तारै बिस्तारै
भयो इज्जतदार पेशा नै ।
घुस्याहा भयो बिस्तारै बिस्तारै
भयो इज्जतदार दर्जा नै ।”
यस्तै वादविवाद छलफलसँगै छोरी फुल्चाको विवाह त्यही भ्रष्टाचारी खरिदारसँग हुनजान्छ । साथै पिताको चरित्र खराब रहेछ भन्ने कुरा ल्वहँमामार्फत उदाङ्ग्याइएको छ –
“फुलुचिगु इहिपाः जुल, खर्दार
तसकं हे सुख ब्यूगु खना ।
जिचा भाजुया खल्तिइ बौम्हं
सच्छी वंगु नं खूगु खना ।।”
(पेज १७)
भावानुवाद–
“फुलुचाको भयो विवाह, खरिदारले
अति नै सुख दिएको देखे ।”
ज्वाइँको खल्तीबाट सयको नोट
ससुराले चोरेको देखे ।।”
रमेशको रोजगार नभएपछि उसको घरको चुल्होमा आगो बल्न छाड्छ । परिवार भोकभोकै सुत्न बाध्य हुन्छ । घरको वातावरण उराठलाग्न थाल्छ । कसैले पनि सहानुभूति दिन आएनन् । तर, अयोग्यताका कारण नै आफ्नो छोराले जागीरबाट हात धुनु परेको विचार पिताको थियो । यस विषयमा बुबा अडिग भएर भन्छ–
छ ज्या सम्ह जूसा, छु जागीर मबीला ?
हनं मेम्ह मुख्या सुनां माः वनी ला ?
झिक जाँच ब्यूसां छक पास जू ला ?
छक पास जूसा झिकः बी छु मा ला ? (पेज २२)
भावानुवाद–
काम जान्ने तिमी भए दिँदैन होला र जागीर
मुखिया अर्को कसैले खोज्न त्यसै जाला र ?
दशौँ पटक परीक्षा दिँदा उत्तीर्ण भए एक
पटक
उत्तीर्ण भए एकपटक, पर्दैन दिनु दशौँ
पटक ।।
कार्यालयका हाकिमलाई नयाँ कर्मचारी नियुक्ति गर्दा २–२ महिनाको अग्रीम तलब घुसबापत बुझाउनु पर्दोरहेछ । यदि कसैले २ महिनाको तलब बुझाइन भने नियुक्ति नपाउने कुरा पितालाई थाहा रहेनछ । यस विषयमा रमेशले जानकारी दिन्छ–
निलाया तलब वं जितः तः बलयनं
कया ब्यूगु खः भ्वं उकिं हे जित वं
लिकै हःगु आ नं निलाया तलब जिं
ह नं वैत बी ला ? छु याय् बुद्धिमानपिं । (पेज २३)
भावानुवाद–
दुई महिनाको तलब दिएपछि उसले
नियुक्ति पत्र दियो मलाई ।
माग्यो फेरि दुई महिनाको तलब उसले
दिन नमान्दा गर्यो बर्खास्त उसले ।
घुस ख्वाउने हरेक कर्मचारीले अर्को तरिकाबाट परिपूर्ति गर्दोरहेछ भन्ने कुरा रमेशको बुबामार्फत ल्वहँमाले जानकारी दिएको छ । आफ्ना आमा–बुबाको जोर जुलमपछि हाकिमको खुसामद गर्न गएको रमेशले नयाँ नियुक्ति पाउन गंगा नामको केटीमाथि हाकिमको अश्लील व्यवहार देख्दा रमेश लजाएर फर्कन्छ । यस घटनापछि रमेशको योजना भताभुङ्ग हुन्छ ।
छोराको अव्यवहारिकता देखेर पिताले गाली गर्छ–
छ खः मूर्ख, कर्मय् मरु धैम्ह हे खः
गपाय्सं छ ध्वादः, छ धिक्कार हे खः ।
छु हाकीम तय्थाय् द्वहं थे तप्यंक
वनां ज्या खँ ज्वीला सुनानं मस्यंक ।
(पेज २५)
भावानुवाद–
तँ मूर्ख छस्, भाग्यबिनाको
धिक्कार होस् तँ मूर्खलाई ।
साँढेजस्तो पसेर हाकिमकहाँ
काम तिम्रो कहिल्यै बन्ला र ?
रमेशले कार्यालयको नियम तोडेर हाकिमलाई भेट्न गएको हुँदा काम बन्न नसकेको भन्ने सोच पिताको थियो । त्यसकारण उनी रिसाइरहन्थे, रमेशलाई गालि गरिरहन्थे ।
एकदिन ज्वाइँ छोरी आफ्ना बाल बच्चाहरूको साथमा ससुरालीमा आउँछन् । आफ्नो ज्वाइँ आएको हुँदा घरमा मीठो मसिनो खाजाको बन्दोबस्त हुन्छ । तर, ज्वाइँ एकदम डराएको जस्तो देखिन्छ । प्रहरीले पक्रन आयो भन्ने डरले कुनाकाप्चा तथा अँध्यारो ठाउँमा लुक्न जान्थ्यो । ज्वाइँको त्यस्तो व्यवहार देखेर रमेशको आमा–बुबा आश्चर्य हुन्थे । आफ्नो ज्वाइँ बहुला भएको उनीहरूले शङ्का गरे ।
त्यसै बखत छोरी फुल्चाको सासु–ससुरा घरमा झगडा गर्न आउँछन् । एक आपसमा आरोप–प्रत्यारोप गर्छ । सासु–बुहारीको माझमा हात हालाहाल हुन्छ । घरको सामान तोडफोड हुन्छ । सम्धिहरूले कहिल्यै नचिताएको आरोप दिँदा किंकर्तव्यविमूढ हुन्छ ।
सम्धिले आरोप दिन्छन् –
नय् मखं जिमि च्वकि निगः हे
थन कवाफय् दुं भुजिं
हःगु दुइ दुइ लाख दां प्व
आः थ्व मन गय् तय्गु जिं ।
(पेज ७३)
भावानुवाद–
खान पाएको छैन हामीले कनिका पनि
यहाँ त डुब्छ कवाफमा झिङ्गा दुई दुई
लाखको त्यो पोको
अब कसरी सम्हालुँ मेरो मन ।
आफ्नो छोराले दुई लाखको पोको आफ्नो घरमा नल्याइकन बुहारीको कुरा सुनी ससुरालीमा बुझाउन ल्यायो भन्ने ठानी सम्धि सम्धिनीहरू दुबै झगडा गर्न आएका रहेछन् । आफ्नो छोरालाई बुहारीले मोहनी गरेर आफूतिर फर्कायो भन्ने आरोप छ–
थुइक भ्याः भति धर्म मदुम्ह छ !
काय कतः या काम्ह छ !
हा ! जि काय् लाता जुयावन
म्वहःनि याना तःम्ह छ ।
(पेज ७९)
भावानुवाद–
थुइथ्या तिमीलाई धर्मबिनाको
अर्काको छोरो पल्टाउने
हाय् ¤ छोरो मेरो लाटो भएछ
मोहनी गरी तान्ने ।
ज्वाइँले कार्यालयबाट दुई लाखको पोको ल्याएको छ भन्ने विषयमा रमेशको बुबालाई विश्वास लाग्यो । अब व्यापार गर्न ज्वाइँसँग पुँजी माग्न पाउने भो भने आशाले खुसी भयो । झगडा साम्य भएपछि उसले छोरीसँग अनुरोध गर्छ–
दः झिद्वः जक लाय् ब्यु नानि
थौ पसः क्वाः माः वने ।
माल हङ.कङ.यागु तय्माः
माल थौं हे धाः वने ।
(पेज ८९)
भावानुवाद–
मात्र दश हजार पुँजी देऊ छोरी
आजै पसल खोज्न जान्छु म !
हङकङको सामान राख्नुपर्छ
सामान आजै खोज्न जान्छु म !
पछि छोरीको जवाफ सुनेर पिता हिस्स हुन्छ । छोरीले भनी–
दांछि दां हे मदु यबाः, छेँय्
च्वनकि ज्वंवइ धाःगुलिं
सुचुक्य मालाः वःगु खः थन
वइत माला च्वंगुलि ।
(पेज ९०)
भावानुवाद–
एक दाम पनि छैन बुबा घरमा बस्दा
ज्वाइँलाई पक्रन आउँछ भन्ने डरले
ससुरालीमा लुक्नमात्र आएको हो ।
ज्वाइँलाई खोज्दै छरे ।
रोजगारविहीन हुँदा रमेशको परिवारको जीवन बिताउन गाह्रो हुँदै गयो । रमेश विदेशिने विचार गर्छ । सन्तानको मायाले रमेशलाई विदेश पठाउने कुरामा आमा इन्कार गर्छिन् । तर, विदेश गएर धन कमाउन सकिन्छ भन्ने विचार पिताको थियो । रमेश विदेशिने कुरामा उनले समर्थन गरे । विदेशमा समाजअनुसार चल्न सिक्नुपर्छ । सबै मान्छे फटाहा, चोर र लुच्चा छन् । त्यस्तो देशमा आफूमात्र सज्जन भएर हिँड्नु मूर्खता हो भन्दै छिमेकीले विदेशबाट धेरै धन चोरेर ल्याएको उदाहरण दिन्छ । पिताले डबलचा भन्ने चोर भाग्यमानी तथा बुद्धिमानी भएको बताउँदै आफ्नो छोरोलाई उसबाट पे्ररित हुन हौसिल्याउँछ । तर, पिताको खराब विचार सुनेर रमेशको आमाले आफ्नो बुढोलाई हप्काउँछिन् –
धइच्वन अन मामं–धरी धाय्गुला अय्
छु गति जुइ दबलचा लाःगु जूसा व जेलय् ।
(पेज ६०)
भावानुवाद–
भन्यो आमाले त्यहाँ, धत्तेरी भन्ने हो र
त्यस्तो
के गति होला डबलचा यदि परेको भए जेल ।
छोरा रमेशले पनि आफ्नो पितालाई जवाफ दिन्छ –
मखु मखुगु लँ बाः नं खं मखं मेगु भिं लँ
मदुगु मखु थ्व देय्सय् जीवनय् माःगु भिं लँ ।
(पेज ६०)
भावानुवाद–
उल्पट्याङ बाटो देखाउनुहुन्छ बाले
देख्नुहुन्न कहिल्यै राम्रो बाटो,
नभएको होइन यो देशमा पनि
जीवनमा चाहिने राम्रो बाटो ।
आफ्नो छोरा रमेशले कमाएर ल्याओस् भन्ने आमाको मनोविश्लेषण छ ।
आफ्नो कुरा परिवारले नमान्दा रमेशको बुबा दिक्क मान्छन् । मैले भनेको कुरा तिमीहरूले मानेका भए दुःख आउने थिएन भन्दै सबैलाई गाली गर्छ । जुनसुकै ठाउँमा रमेशको बुबा काम गर्न जाँदा चोर्ने काम गर्दथ्यो, कसैले उसलाई विश्वास गर्दैनथे । उसको बानी खराब थियो । आफूलाई चोरको संज्ञा दिनेहरूलाई मुखभरि जवाफ दिने गर्दथ्यो ।
‘बुँ गुलि दु फुकं मंकाः खः सुनां यागु थःगु
खुँत खुँत जक जाना खः थ्व कानुन हःगु !’
भावानुवाद–
खेत सबै साझा हो, कसले निजी बनायो ?
चोरै चोर मिलेर सबै, कानुन त्यसले बनायो ।
सम्धिहरू आफ्नो घरमा आएर झूठा आरोप दिई बेइज्जत गरेदेखि रमेशको आमा चिन्ताले ग्रसित थिइन् । छिमेकीकहाँ कसरी मुख देखाउने भन्ने पिरले तिनी बिरामी पर्छिन् । शत्रुले पनि यस्तो आरोप खप्न नपरोस् भन्ने ईश्वरलाई पुकार्छिन्–
न्हय्जुनीया शत्रु जुसां
थुलित ब्यैजत याय् मज्यू !
खः व मखु छुं सिइ मदय्कं
ल्वापु अमिसं थय् मज्यू ।।
(पेज ८८)
भावानुवाद–
सात जुनीको शत्रु भए तापनि
बेइज्जत यस्तो गर्नु हुन्नथ्यो !
सत्य के हो नबुझिकन
झगडा तिनीहरूले गर्न हुन्नथ्यो ।
यही पिरले रमेशको आमाको मृत्यु हुन्छ । मृत्यु संस्कार देखेर ल्वहँमा आश्चर्य मानिरहन्छ । समय बित्दै गएपछि रमेशले ठण्डा बरफको व्यवसाय गरेर हलुङ्गो पार्छ । भोकभोकै सुत्नुपर्ने बाध्यताबाट मुक्त हुन्छ । तर, आफ्नो आमाले सुखको अनुभवै नगरी मृत्यु भएको हुँदा रातभरि रमेश रोइरहन्छ भने बहिनी फुल्चा पनि आमा सम्झेर दिनभरि रुँदै दिन बिताउँछे ।
एकदिन हाकिमको रखेली भएर बसेकी गंगामाया गहनाको पोको बोकेर राति रमेशलाई भेट्न आउँछे । ती सबै गहनाहरू रमेशलाई दिँदै भन्छे–
छवया वैत नर्कय् हया खंक्को फुक्क
छ द्यांलाय्गु छाय् आः । थ्व का छन्त फुक्क ।
भावानुवाद–
पठाएँ त्यसलाई नर्कमा, ल्याएँ सबै देख्या जति
भोकै बस्नु किन तिमी, ल्याऊ सबै यो तिमीले नै !
व्यक्तिहत्या गरी गहना ल्याएको कुरा गंगामायाले बताएको हुँदा रमेशले विरोध गर्छ । व्यक्तिहत्याको विरोधमा रमेशले आफ्नो भावना व्यक्त गर्छ–
व राक्षेस स्याय्वं फुक्क दुष्ट सी ला ?
थ्व ध्वग्गी व्यवस्था व स्याय्व हिली ला ?
(पेज १५२)
भावानुवाद–
त्यो राक्षस मार्दैमा सबै दुष्ट मर्ला र ?
हत्या गर्दैमा व्यवस्था परिवर्तन होला र ?
गहनाहरू लिन इन्कार गर्दै रमेशले भन्छ–
जित तःमि याय्वं न्हिली ला समाज ?
जि नं ज्वी धुँ थे हे फुक्कं याय्त राज ।। (पेज १५२)
भावानुवाद–
मलाई धनी बनाउँदैमा सुखी समाज होला र ?
म पनि होला बाघझैँ राज्य गर्ने ”
समग्रमा विचार गर्दा हाम्रो देशमा समाजवादी व्यवस्थाको लागि सशस्त्र क्रान्ति नगरी हुन्न भन्ने भावना व्यक्त गरेको पाइन्छ । त्यसको निम्ति गरिब जनतालाई सङ्गठित पार्ने उदेश्य लिन्छ–
मनू मुकि गां गां चाः हुला छं
व गांयागु भासं थ्व शिक्षा वियाः छुं । (पेज १५४)
भावानुवाद–
जम्मा गर जनता गाउँ घुमेर तिमीले ।
जनताकै भाषामा शिक्षा देऊ तिमीले ।
जनक्रान्तिको निम्ति रमेश र गंगा घरबाट बाहिरिन्छन् र यी सबै घटनाहरू बुइँगलमा बस्ने ल्वहँमाले हेरिरहेको थियो । अन्तमा, खराब नियतबाट बहुला भएका रमेशको बुबाले ल्वहँमालाई फुटाली दिन्छन् ।
यस महाकाव्यले घाँटी हेरी हाड निल्नुपर्छ, खराब आचरणको फल खराबै हुन्छ भन्ने सन्देश सरल ढङ्गबाट दिएको छ । समाजमा दुःख भइरहनु खराब राजनैतिक व्यवस्थाको कारण हो भन्ने प्रस्टयाइएको छ । व्यक्तिहत्याबाट राजनैतिक परिवर्तन हुन्न । जनताको सङ्गठित शक्तिबाट मात्र जनताको हित हुने राजनैतिक व्यवस्था स्थापना गर्नुपर्छ भन्ने सन्देश दिइएको छ ।
कविले सरल ढङ्गबाट अन्यायको विरुद्ध आवाज उठाउन आह्वान गरेका छन् । आफूप्रति अन्याय भएको थाहा हुँदा हुँदै चुप लागेर बस्नु कमजोरी हो । मरीमरी जिउनुभन्दा लडेर मृत्यु स्वीकार्नुपर्छ, डराउनुहुन्न भन्ने आँट समाजलाई दिइएको छ ।