देशको नेतृत्व गर्नको लागि मलाई मत दिनुहोस्–ओनसरी घर्ती

कांग्रेसलाई ओनसरीले भनिन्–मलाई काठमाडौंमा जिताउनुस्, हामी रोल्पामा जिताउँदैछौं

२९ कार्तिक २०७९, मंगलवार

लावण्य/साँखु । पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले ४ मंसिरको निर्वाचनमा माओवादी,  काँग्रेस र एकीकृत समाजवादी एक अर्काप्रति इमानदार रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । सत्तारुढ गठबन्धनले काठमाण्डौंको ऐतिहासिक सहर साँखुमा सोमबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै घर्तीले गठबन्धनमा आबद्ध काँग्रेस, माओवादी र एकीकृत समाजवादीको मत एकअर्को दलका उम्मेदवारलाई सहजै ‘ट्रान्सफर’ हुने वातावरण बनेको बताउनुभयो ।

उहाँले आफू व्यवस्थापिका संसदको गरिमामय सभामुख पदमा बसेर काम गर्दा पनि थोरै पनि नैतिकतामा कमी कमजोरी नगरेको स्मरण गराउँदै आफु महिलाहरुको हक अधिकारमा दृढ रहेको बताउनुभयो ।

वहाँले साँखु ८ वटा टोलहरु मिलेर बनेजस्तै आफ्नो ८ बुँदे प्रतिवद्धता रहेको भन्दै सुनाउनुभएको थियो ।

वहाँले जे बोल्छु त्यो गर्छु र जे गर्छु त्यो बोल्छु भन्नुहुँदै बज्रयोगिनीमाता र शालिनदी माता साक्षी राख्दै देशको नेतृत्व गर्नकोलागि आफूलाई मतदान गर्न आग्रह गर्नुभयो । साथै उहाँले आफ्नो जीवन काठमाडौँ २ को लागि खर्चिने बचनवद्धता समेत प्रकट गर्नुभएको थियो ।

४ मंसिरको निर्वाचनलाई सामान्य आवधिक चुनावका रूपमा मात्र लिन नहुने चर्चा गर्दै उनले लोकतन्त्र,  व्यवस्था, संविधान र जनताको जित या हारका रूपमा लिनुपर्ने उनको भनाइ थियो । घर्तीले आफूलाई माओवादीको मात्र नभई गठबन्धनको उम्मेदवारका रूपमा हेर्न भन्दै माओवादी मतदाता र जनताले अन्यत्र कांग्रेस र समाजवादीका उम्मेदवारलाई पनि आफ्नै ठानेर मत दिने उल्लेख गरिन् । काँग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर काठमाण्डौं–२ बाट संघमा आफू विजयी हुँदै गरेको भन्दै उनले रोल्पाको प्रदेश (ख)मा माओवादी मतले काँग्रेस उम्मेदवार विजयी हुँदै गरेको बताइन् । घर्तीको गृहिजल्ला रोल्पाको प्रदेश (ख) मा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन गठबन्धनका साझा उम्मेदवार छन् ।

‘काँग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर यहाँबाट संघमा म विजयी हुँदै गर्दा उनले रोल्पाको प्रदेश (ख) मा काँग्रेसका उम्मेदवार विजयी हुँदैछन्’, उनले भनिन्, ‘तपाईँहरू हँसिया हथौडामा भोट दिएर मलाई यहाँ जिताउँदै हुनुहुन्छ, रोल्पामा हामी रुखमा भोट दिएर काँग्रेसका उम्मेदवार जिताउँदैछौं । कतै कलम र कतै गिलासको जित गराउँदैछौं ।’ गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सात दल र तत्कालीन विद्रोही आफ्नो दल मिलेर मुलुकबाट राजतन्त्र अन्त्य गरेको स्मरण गरिन् । कांग्रेस र कम्युनिस्ट मिलेर व्यवस्था परिवर्तन गरेको भन्दै उनले अवस्था परिवर्तन गर्न गिरिजाप्रसादले भन्ने गरेको जस्तै प्रमुख दलबीच सहमति, सहकार्य र एकताको सूत्रलाई आत्मसात गरेर अघि बढ्नुपर्ने बताइन् । गिरिजाप्रसादकै शैलीमा उनले तीनपटक कार्यक्रममा जय नेपाल उच्चारण गरिन् ।

उनले सत्ता गठबन्धन लोकतन्त्र र संविधानमाथिको प्रहार रोकेर राजनीतिक स्थायित्व, विकास र मुलुकको सम्बृद्धिका लागि बनेको दाबी गरिन् । गठबन्धनका दलबीच नीति र सिद्धान्तमा केही भिन्नता भए पनि मुलुकको विकास सबैको साझा उद्देश्य भएको उल्लेख गरिन् ।

उहाँले सबैभन्दा बढी काँगे्रसका नेता कार्यकर्ता र मतदाता जिम्मेवार बन्नुपर्ने बताउँदै यस क्षेत्रमा काँगे्रस सबैभन्दा ठूलो दल भएको हुँदा बढी जिम्मेवारी वहाँहरुकै हुने बताउनुभएको थियो ।

वहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्ने बताउनुभएको छ । ओली प्रधानमन्त्री हुँदा दुईदुई पटक संसद विघटन गरेकाले जनताले त्यसको दण्ड आसन्न निर्वाचनबाट दिनुपर्ने बताउनुभएको हो ।

उहाँले कम्युनिष्ट पार्टीलाई फेरि फुटाउन र दुई तिहाई बहुमतको नजिक पुगेको आफ्नै सरकारको संसदलाई दुई पटक विघटन गरेर मृत्यु शैय्यामा पु¥याउनको लागि पुनः बहुमत चाहिएको हो ? भन्दै प्रश्न  गरिन् । पूर्वसभामुख घर्तीले पछिल्लो समयमा एमाले अध्यक्ष ओलीको तानाशाही प्रवृत्ति र कुकर्मको आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्ने बताउनुभयो ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्र बाट प्रतिनिधि सभा उम्मेदवारसमेत रहेकी उनले एमाले अध्यक्ष ओलीले जनतामाझ बहुमत माग्नुको कारण नरहेको जिकिरसमेत गरे । उनले भनिन्, ‘यहाँ म सुन्दैछु, केपी शर्मा ओलीले आज जनतासमक्ष गएर बहुमत माग्दै हुनुहुन्छ रे ? केका लागि बहुमत, हुँदाखाँदाको कम्युनिष्ट पार्टीलाई फेरि फोर्नको लागि बहुमत? वा दुई तिहाई बहुमतको नजिक पुगेको आफ्नै सरकारको संसदलाई दुई पटक विघटन गरेर मृत्यु शैय्यामा पु¥याउनको लागि बहुमत ? वा उनले गरेको यो बीचको तानाशाही प्रवृत्ति र यो बीचको कुकर्मको लागि बहुमत ? केका लागि भोट केपी ओलीलाई ? मैले आज उहाँलाई भोट दिनुपर्ने कारण देखेको छैन । उहाँले इतिहासमा ठूलो भुल गर्नुभएको छ ।

जनताले ५ वर्षका लागि कम्युनिष्टलाई चलाउन दिएको देशको जनादेशलाई कुल्चिएर उहाँले जे अपराध गर्नुपर्छ, उहाँलाई भोट होइन,नेपाली जनताले दण्ड दिनुपर्छ । उहाँले हामीलाई राष्ट्रियताको सवालमा पनि भन्ने गर्नुहुन्छ रे गठबन्धनले राष्ट्रियताको एजेण्डा बोकेन । उहाँले कसरी बोक्नुभयो त ? मध्यरातमा नेपालको हेड क्वार्टर प्रधानमन्त्री निवासमा १२ बजे सामन्त गोयललाई छिराउने को हो ? त्यहाँ भएको सहमति के थियो ? के के कुरा गरियो, अनि हामीले एउटा चुच्चे नक्शा पारित गरेका थियौँ । हामीले चुच्चे नक्शा पाठ्यक्रममा छापौँ भन्दा छाप्नै नमान्ने को हो ? त्यसोभए ओली देशभक्त हो ?’ नेतृ घर्तीले राज्यको समृद्धिको लागि गठबन्धनले सहमति, सहकार्य र एकताको राजनीति गर्न जरुरी रहेको पनि बताउनुभयो ।

Facebook Comments Box