पालुङ सहरको इन्द्रायणी माई एक परिचय–६

जंगली राजकुमार प्रधान

पौराणिक नाम चिसापानी इलाका पालुङ सहर
जहा“ अहिलेसम्म पनि ठकुरी राजाको अस्तित्व सा“स्कृतिकरुपमा रहेको छ ।

भाग–९
तीन वर्षे जात्रा विधि ः

तीन वर्षे जात्राको नियम तान्त्रिक विधी विधान यस तीन वर्षे इन्द्रायणी माईको जात्रा ललितपुर पाटनबाट तान्त्रिक विशेषज्ञ कर्माचार्यहरु आएर नियम पूर्वक जात्रा सञ्चालन गर्दछन् । जात्रा हुने चार दिन अगाडि मंसिर शुक्ल द्वादशीको दिन देउला गाउँबाट खाली रथ पालुङ नेवार गाउँमा ल्याइन्छ, रथ गाउँ भित्र्याएपछि १६ द्वारको भोज र निमन्त्रणा पूजा सुरु हुन्छ । द्वादशीको दिनदेखि पहिलो निम्तो पूजा भगवती पूजारीबाट हुन्छ । त्रयोदशीको दिन काला भैरव पूजारीबाट पूजा र भोज हुन्छ । चतुर्दशीका दिन इन्द्रायणी पूजारीबाट हुन्छ र १६ द्वार भोज खुवाउने कार्य समाप्त हुन्छ । १६ द्वारहरु तीन कवलमा विभाजन गरिएको छ । सो तीन कवलबाट तीनजना भण्डारीहरु राखिएको हुन्छ । जसको काम जात्रा भरी वली पूजा गर्ने कर्ताहरुलाई पकाई तुल्याई खुवाउने काम हुन्छ । देवी श्रृङ्गार इन्द्रायणी स्थानमा पाँच सल्लाको लिङ्गो ल्याएर चार सुरमा गाडिन्छ । चँदुवा टाँगिन्छ । एउटा मूल लिङ्गो रथ झर्ने दिन राति उठाइन्छ । लौठसल्ला, पानीफुल देउताको वरिपरी राखेर सिँगारिन्छ । (काठको गुँदल कसिन्छ, देवल आकारको दियो बाल्ने झ्याल)

पूर्णिमाको दिन भगवती आँगं घरमा सूचीनिची गरी तोर्मा पकाइन्छ । गाउँको माझ खण्डमा नुहाईधुवाई गरी शुद्ध भएर गोजा (तोर्मा) पकाइन्छ । त्यसपछि इन्द्रायणी पूजारीबाट देउता लिन जाने पूजा ल्याउँछन् । र, गाउँले १६ द्वार बाजा गाजा बजाई देउला गाउँमा देउता लिन जान्छन्, तीन पूजारी ठकु जुजु, कर्माचार्य समेत जान्छन् । देउला गाउँमा पुगेपछि द्यः नायः, द्यः पाला, गाँ नायः समेतले द्यः छेँ (देउता घर) बाट उठाएर ल्याइन्छ र डबलीमा सजाएर राखिन्छ । र, राखिसकेपछि इन्द्रायणी पूजारीले आफ्नो नित्यकर्म गरी पूजा गरिसकेपछि द्यः नायः, द्यः पाला, गाँ नायः समेतले देउता उठाएर ल्याउँछन् र सो देवी देवता गाउँमा पु¥याएपछि आ–आफ्नो रथमा विराजमान गराइन्छ । त्यसपछि सर्वप्रथम ठकु जुजुको पूजा हुन्छ । ठकु जुजुको पूजा पछि अरु गाउँलेहरुको र १६ द्वारको पूजा हुन्छ । सबै गाउँलेको पूजा सकिएपछि आँगं घरमा भगवती पूजारीले पकाएको १२ जोर तोर्मा बाजागाजा सहित इन्द्रायणी स्थानमा १२ पटक गरी चढाउन लान्छ । सो १२ जोर पूजा सकिएपछि अब कुमारी गोजा (तोर्मा) एक पाथी चामलको भात पकाई कुमारी गोजा (कुमारी तोर्मा) बनाउँछ । कुमारी मूर्ति कालो भटमासबाट आँखा, सिन्दूर, केशरीबाट नाक, कान सहित चतुर्मुखी तोर्मा बनाउने, गाईको घिउबाट तोर्मामा दल्ने । सो कार्य सम्पन्न भईसकेपछि ठकु जुजुले संकल्प पूजा ल्याएर कर्माचार्यले तान्त्रिक विधि पढेर ठकु जुजुले संकल्प गर्छ, संकल्प कार्यपछि अब रथ उठाउने पूजा ठगकु जुजुबाट ल्याउँछ । त्यसपछि इन्द्रायणी पूजारीले दुई राँगो, दुई बोका, भाले, परेवा, हाँस समेत पञ्चवली पूजा कार्य स्थलमा ल्याउँछ । यसरी क्रमशः भगवती, कालाभैरव पूजारीले पनि वली सहित पूजा ल्याउँछ । त्यसपछि १६ द्वार र गाउँले सबैको पूजा जम्मा भईसकेपछि सर्वप्रथम द्यः नायःले पाता उठाएर टाउकोमा राख्छ, त्यसपछि कुमारी गोजा (तोर्मा) उठाउँछ । त्यसपछि आगं उठाउँछ । यी सबै उठाइसकेपछि गणेशको रथ उठाउँछ । क्रमशः कुमारी, इन्द्रायणी, भैरवको रथ उठाउँछ । र, श्री गणेशकी जय ! श्री बालकुमारी की जय ! श्री इन्द्रायणी की जय ! श्री भैरवकी जय ! यसरी जय जयकार मनाई अष्टभैरव परिक्रमा गरी बाजागाजा सहित रथ देवी स्थानमा लगिन्छ । देवी स्थानमा लगेपछि द्यः नायः, द्यः पाला, गाँ नायः समेतले रथबाट देवीहरु निकालेर आ–आफ्नो स्थानमा विराजमान गराइन्छ । त्यसपछि एक माना अक्षताको भात पकाउँछ । भात पाकिसकेपछि तोर्मा बनाउँछ, सो तोर्मामा कर्माचार्यले तान्त्रिक विधिबाट अब इन्द्रायणी माइले निमन्त्रणा गरे जति ३३ कोटी देवताहरु जात्रा स्थलमा आइसकेको हुनाले अब देखि भुतपे्रत, राक्षस, डांकिनी कुनैले पनि बाधा विरोध गर्न आउन पाउँदैन भनी तोर्मामा भालेको वली चढाई पूजा सकेपछि तोर्मा (गोजा) चारै दिशामा लगि पूजा गरिन्छ । सो गोजाले चढाएको बाटो बन्द गरिएको मानिन्छ । सो बाटो बन्द गर्ने कार्य सकिएपछि अब पूजा सुरु हुन्छ । सर्वप्रथम ठकु जुजुको पूजा वली आचार्यबाट संकल्प गरी पूजा गरिन्छ । त्यसपछि भगवतीको वली पूजा गरिन्छ । त्यसरी नै काला भैरव पछि इन्द्रायणी पूजारीको पञ्चवली पूजा हुन्छ । त्यसपछि १६ द्वारहरुको पूजा हुन्छ । १६ द्वारको पूजा सकिएपछि गाउँलेहरुको पूजा हुन्छ । १६ द्वारहरुको बोकाको टाउको देवी स्थानमै राखिन्छ । र, गाउँलेहरुको पूजा सकिएपछि पहिलो दिनको जात्रा समाप्त हुन्छ ।

अब दोस्रो दिनको जात्रा विधि ः

दोस्रो दिन अर्थात् प्रतिपदा तिथिको दिन विहान सबेरै ठकु जुजु गंगाजीमा नुहाई धुवाई गरी सुद्ध गरी पूजा सामग्री तयार पारेपछि देउलाहरु ठकु जुजुको घरमा बाजा बजाई पूजा लिन आउँछन् र ठकु जुुजुको पूजाको साथै कर्माचार्य पनि जान्छ । सर्वप्रथम ठकु जुजुको पूजा सकेपछि मात्र अन्य गाउँलेहरुको पूजा सुरु हुन्छ । त्यो दिनको जात्रालाई मूल जात्रा पनि भनिन्छ । त्यो दिन वली पूजा गर्नेहरुको लाईन छुट्टै हुन्छ । भजन किर्तन गर्नेहरु छुट्टै हुन्छन् । पञ्चवली पूजा छुट्टै हुन्छ । दुंदनेगु (बाटो नाप्ने) अर्थात् अष्टांग दण्डवत गर्नेहरुको पूजा छुट्टै हुन्छ । त्यसैक्रममा वली पूजा तान्त्रिक कर्माचार्यबाट वली बोका संकल्प गर्छन् । आचार्यबाट बोकाको टाउकोमा जल चढाई यस जुनीमा पशु भएर जन्मेपछि श्री भगवान महामयी भगवती जगत जननी माताको पाउमा रक्त चढाई मुक्त हुन चाहन्छु । अब कोटी कोटी जन्ममा पनि पशु भएर जन्म लिन नपरोस्, सदा सदा बैकुण्ठ बास होस् भनि मन्त्र पढेर फुल अक्षता वली बोकाको टाउकोमा हाली दिन्छन् । त्यसपछि पानी मन्त्रेर कानमा हालेपछि बोका प्रसन्न हुन्छ, त्यसपछि बोकालाई इन्द्रायणी स्थान भित्र लगिन्छ र वली चढाइन्छ । यसरी हजारौँ हजार वली पूजा हुन्छ । त्यो दिन बहुत हर्ष उल्लासका साथ दर्शकहरुले जात्रा अवलोकन गरेको हुन्छ । धिमे बाजामा नाच्ने, बाँसुरी बाजामा नाच्ने, विभिन्न बाजामा नाच्दै गाउँदै देवी परिक्रमा गर्ने हजारौँ हजार दर्शक महानुभावहरु हुन्छन् । यसरी क्रमशः लाईनमा आउने सबै वली पूजा यही रीतले हुन्छ । त्यो दिन करिब दिउँसो २÷३ बजेसम्म वली पूजा, पञ्चवली पूजा एकनासले चलिनैरहन्छ । देवी स्थान भित्र वली काट्ने, पूजा गर्ने मध्ये देउता नाइके १, काला भैरव पूजारी १ समेत ६ जनाले सबै भक्तजनहरुको पूजा गरिदिन्छन् । सो दिनको पूजा समाप्त भएपछि दोस्रो दिनको जात्रा पनि सकिएको हुन्छ । त्यसपछि पूजा कर्ताहरु हातमुख धोएर आउँछ र पूजारीहरुलाई भण्डारेले खाना खुवाउँछ । त्यसपछि अब बोकाको टाउको झिक्ने काम सुरु हुन्छ र ठकु जुजुको घरबाट पूजा ल्याई पूजा गरिसकेपछि बोकाको टाउको चलाई फिजाई दिन्छ र १६ द्वारहरुको बोकाको टाउको बाँडिदिन्छन् । त्यस दिन अरु पूजा गरिँदैन र फूल प्रसाद बाँड्ने काम सुरु हुन्छ । १६ द्वारहरुले टाउको घरमा लगेर त्यसै रात माइस्थानमा मध्य रातमा स्यू का भ्वय् (वलीको प्रसाद सहतिको भोज) गरिन्छ । दोस्रो दिनको राति इन्द्रायणी माईको प्राङ्गण मसानमा कोटी होम गरिन्छ ।

क्रमशः ……..

(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

Facebook Comments Box