बज्रयोगिनी जात्राको तयारी हुँदै

लावण्य/साँखु । यही बैशाख १४ गते देखि ८ रात ९ दिनसम्म चल्ने बज्रयोगिनी माईको जात्राको लागि साँखुको चलाखु टोल सुधार समितिले तयारी पूरा गरेको छ ।
समितिले जात्राको लागि तयारी गर्ने सिलसिलामा साँखु बजारका सम्पूर्ण टोलहरुको भेला गरेको छ भने संघसंस्था भेला समेत गरिसकेकोछ । त्यसैगरी समितिले यही बैशाख ४ गते बज्रयोगिनी जाने बाटो कोलागालमा सरसफाई कार्यक्रम समेत गरिसकेकोछ ।
त्यसैगरी खटको लागि चाहिने बाँस ल्याईसकिएको छ भने धुनी जगाउनको लागि आवश्यक काठको जोहो यस अघि नै बिस्काको लिंगो लिन जाने बेलामै गरिसकेको छ ।
अहिले टोलमा दिनहूँ बाजागाजाको स्वर सुन्न सकिन्छ । स्थानीय युवाहरुलाई बाजागाजा बजाउन माई राख्ने सत्तलमा प्रयोगात्मक कार्य गराईरहेको छ । साथै यस वर्ष पनि गत वर्ष जस्तै कोभिड–१९ को कारण जात्रा स्थगित गर्नुपर्ला किन भनेर समितिले आवश्यक तयारी गरी जात्रा चलाउने निधो गरेको छ ।
यसवर्ष माघ मेला सञ्चालन गरेकै शैलीमा आवश्यक सुरक्षा मापदण्ड अपनाई जात्रा सञ्चालन गर्ने तयारी गरिएको छ ।
जात्राको लागि खट बनाउने कार्यको लागि छलफल चलाईसकिएको छ भने आवश्यक काठको जोहो गरिरहेको जानकारी समितिले दिएको छ ।
समितिले चलाखु टोलमा जात्राको लागि र अघि पछि समेत उज्यालो होस् भनि आवश्यक बत्तिको व्यवस्था गरिसकेको छ भने आवश्यक सिसि क्यामेरा समेत जडान गरिसकेको छ ।
यस अघि नै भूकम्प पछि साँखु बजारमै सबैभन्दा पहिलोपल्ट चलाखु टोलमा ईट्टा प्लास्टर गरिसकिएको छ ।
यसरी यस वर्ष दु्रत गतिमा बज्रयोगिनी माईको जात्राको तयारी गरिएको छ ।
साँखु बजारको मुटु मानिने चलाखु टोलको पालो पर्दा बज्रयोगिनी जात्रा सबैभन्दा रमाईलो हुने साँखुबासीहरुको कथन छ ।