भक्तपुर–१ मा प्रेम सुवाल विजयी

भक्तपुर–१ मा सत्ता गठबन्धनका उमेदवारको जमानत जफत 

८ मंसिर २०७९, बिहीवार

लावण्य/साँखु । भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ मा नेमकिपाका प्रेम सुवालले ४२ हजार ७६१ मत पाउँदा पाँचदलीय सत्ता गठबन्धनका साझा उमेदवार एवं नेकपा (माओवादी केन्द्र)का नेता सुनील गोठेको जमानत जफत भएको छ । उनले ५ हजार २८३ मत पाएका थिए ।

सुवालले निकटतम प्रतिद्वद्वि नेकपा एमालेका नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पछाडि पारेका थिए । त्यहाँ सुवालको विपक्षमा रहेका सबैको मत जोड्दा २८ हजार ९४८ हुन आउँछ अर्थात् सबै प्रतिपक्षीहरुको मत जोड्दा पनि सुवाललाई हराउन १३ हजार ८१४ मत आवश्यक हुन्छ ।

भक्तपुर–१ मा कुल ७३ हजार ६१८ मत खसेको थियो । त्यसमध्ये ७१ हजार ७०९ मत सदर भएको छ । एक हजार ९०९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले जनाएको छ ।

आयोगका अनुसार यहाँ माओवादी केन्द्रका उमेदवार गोठे चौथो स्थानमा रहे । उनले पाँच हजार २८३ मत पाएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए जमानत जफत हुने व्यवस्था छ । “पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उमेदवारको धरौटी जफत हुनेछ,” निर्वाचन ऐन, २०७४ को दफा ७१ मा उल्लेख छ ।

उक्त दफा अनुसार भक्तपुर–१ मा गोठेले जमानत जोगाउन सकेनन् । उनले जमानत जोगाउन ७ हजार १७० मत ल्याउनुपर्ने थियो । तर, पाँच हजार २८३ मत मात्र प्राप्त गरे ।

यो क्षेत्रमा नेकपा (एमाले)का नवराज गेलाल ११ हजार ९६८ मतसहित दोस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार भरतबहादुर खड्का ९ हजार ३०३ मतसहित तेस्रो स्थानमा रहे । उनीहरूको भने जमानत जोगिएको छ ।

Facebook Comments Box