भक्तपुर काण्ड : पञ्चायती फासीवादको सिलसिला

भाद्र १२ गते
लावण्य÷साँखु । नेपाल मजदुर किासन पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले नेमकिपाविरुद्ध पञ्चायती राज्यस्तरको षड्यन्त्र र पञ्चहरुबाट भएको ज्यादतीबारे नयाँ पुस्तालाई थाहा दिन र राजनीतिक पूर्वाग्रह राखी दमन गर्ने काम आगामी दिनहरुमा पनि हुन सक्ने विषयमा सचेत पार्न वर्षेनी भक्तपुर काण्डको विरोध र भत्र्सना कार्यक्रमहरु गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड (२०४५ भदौ ९) को विरोध कार्यक्रममा बोल्नुहुँदै सांसद सुवालले भक्तपुर काण्ड भक्तपुरबासीहरुलाई जातीय हिसाबले दमन गर्ने पञ्चायती फासीवादको सिलसिला भएको बताउनुभयो ।
२०४६ सालको जनआन्दोलनमा सहादत प्राप्त गर्नुभएका सहिदहरुको योगदान स्मरणीय भएको बताउनुहुँदै सांसद सुवालले भक्तपुर काण्डले शत्रु र मित्र चिन्ने अवसर मिलेको बताउनुभयो ।
दल विभाजनसम्बन्धी अध्यादेशले राजनीतिक पार्टीहरु विभाजित हुन सक्ने खतरा रहेको औंल्याउनुहुँदै उहाँले यो अध्यादेश प्रजातन्त्रविपरीत, लोकतन्त्रविपरीत र निरंकुश भएको बताउनुभयो ।
राजनीतिक दलले आफ्ना कार्यकर्ताहरुलाई विचार र सिद्धान्तबाट अनुशासित नबनाएसम्म देशमा भ्रष्टाचारको अन्त्य गर्न सम्भव नभएको बताउनुहुँदै कार्यकर्ताहरुले संकटमा भाग्ने होइन, त्यसको प्रतिरोध गर्ने प्रतिबद्धता लिनु आवश्यक भएको बताउनुभयो ।
निर्वाचन आयोगलाई स्वायत्त, निष्पक्ष र स्वतन्त्र बनाउनुपर्नेमा जोड दिनुहुँदै सांसद सुवालले विदेशीको सहयोगमा निर्वाचन आयोगको सफ्टवेयर बनाउनु गलत कदम भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुँजीपति वर्ग शासन सत्ता हातमा लिन जस्तोसुकै अनैतिक र कठोर कदम चाल्न पनि पछि नपर्ने बताउनुभयो ।
सामान्य कुटपिटबाट घाइते भएका व्यक्तिलाई मृत घोषणा गरेर भक्तपुर काण्ड घटना घटाइएको स्मरण गर्नुहुँदै उहाँले ‘जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ’ भनेझैं भक्तपुर काण्डको विरोधमा भएको चर्को प्रतिरोधका कारण देशभरका जनतालाई एउटा नयाँ ऊर्जा दिएको र षड्यन्त्रको सहारामा शासन सत्ता टिकाउन खोज्ने पञ्चहरू आफै समाप्त भएको बताउनुभयो ।
पुँजीवादी व्यवस्था भित्र गएर जनताको सेवा गर्ने नीतिअनुसार नेमकिपाले क्रान्तिकारी संसदवादको रुपमा काम गर्दै आइरहेको प्रष्ट पार्नुहुँदै प्रमुख प्रजापतिले संसदमा जनविरोधी कानुन पारित हुन नदिन, जनताको पक्षमा नयाँ नयाँ कानुनहरू निर्माण गर्न नेमकिपाले संघ र प्रदेश संसदलाई उपयोग गरिरहेको छ भन्नुभयो ।
सत्ता सुरक्षाको लागि शासक वर्गले छद्म भेषमा विभिन्न गतिविधिहरू गर्न सक्ने, नेमकिपालाई नष्ट गर्न सम्पूर्ण बल प्रयोग गरी उठ्न सक्ने र २०४५ सालको ‘भक्तपुर काण्ड’ फेरि फेरि दोहोरिन सक्नेतर्फ उहाँले सचेत गराउनुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले राज्यस्तरबाट नेमकिपालाई समाप्त गर्न रचिएको षड्यन्त्र अन्ततः असफल भएको बताउनुहुँदै नेमकिपा विचार र सिद्धान्तमा अडिग पार्टी भएको बताउनुभयो ।
‘भक्तपुर काण्ड’ जस्ता घटनाहरु फेरि पनि घट्न सक्ने सम्भावना रहेको औंल्याउनुहुँदै उपप्रमुख जोशीले नेमकिपाका जनप्रतिनिधि, कार्यकर्ता, कर्मचारीहरु सचेत र सजग भई जनताको सेवामा कटिबद्ध भई लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ६ का वडा सदस्य गोविन्द दुवालले पञ्चायती राज्य आतंकविरुद्धको संघर्षको स्मरण गर्नुहुँदै भक्तपुर काण्डमा नेमकिपाको पक्षमा वकालत गर्ने न्यायप्रेमी जनता, बुद्धिजीवी र सञ्चारमाध्यमहरु धन्यवादका पात्र भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले आफ्नो जेल जीवनको अनुभव सुनाउनुहुँदै भक्तपुर काण्ड नेमकिपाको विचार र सिद्धान्तविरुद्ध रचिएको षड्यन्त्र भएको बताउनुभयो ।
भक्तपुर नपाका कार्यपालिका सदस्य रोशनमैंया सुवालले भक्तपुर काण्डको समयमा महिलाहरुको भूमिकामाथि प्रष्ट पार्नुहुँदै पञ्चायती व्यवस्था अन्त्य गर्न भक्तपुरका महिलाहरुको साहसिक भूमिका उल्लेखनीय भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुरका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुर काण्डको समयमा निरंकुश निर्दलीय पञ्चायती राज्य सत्ताले भक्तपुर नगरपालिकाका कर्मचारीहरुप्रति गरेको ज्यादती अविष्मणरीय भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो ।साभार : भक्तपुर खबर डटकमबाट