महामारीको जोखिमलाई उपेक्षा नगर !

कोभिडको संक्रमण फेरि बढ्न लागेको छ । हैजाले पनि यही बेला दागा धरेको छ । हुँदा हुँदा नैरोबी फ्लाई भनिने कीराबाट हुने संक्रमण पनि देखिन थालेको छ । लाग्छ, नियति काठमाडौंका जनताको धैर्यको परीक्षा लिन आतुर छ ।

मुलुकको राजधानी र प्रमुख व्यापारिक केन्द्र पनि भएकाले काठमाडौं उपत्यकामा कुनै संक्रमण सुरु भयो भने देशभर फैलन बेरै लाग्दैन । त्यसो त आवागमन सुविधाका कारण देशको अरू कुनै पनि भेगमा देखिने संक्रमण पनि काठमाडौंमा सजिलै फैलन सक्छ ।

संक्रमणको जोखिम जति बढे पनि सरकारी पदाधिकारीको ध्यान जनताको ज्यान होइन आफ्नै पद र खान्गी जोगाउन केन्द्रित देखिन्छ । एकपछि अर्को काण्ड गर्ने अनि त्यसलाई ढाकछोप गर्न लागि पर्ने नै शासक र तिनका गुमस्ताको ध्याउन्ना भएको छ ।

यस्तो अवस्थामा सङ्क्रमणबाट जोगिन र जोगाउन जनसाधारण स्वयं जागरुक हुनुबाहेक अरू उपाय हुँदैन । कोभिड –१९ फेरि डरलाग्दो गरी फैलन नपाउँदै  पूर्ण सावधानी अपनाउन जनतालाई सुसूचित गर्नुपर्छ । मास्क, खोप र भिडभाडबाट जोगिनु सायद उत्तम उपाय हो ।

सरकारले वितरण गर्ने वा निजी क्षेत्रले बेच्ने दुवैगरी पानीको नमुना परीक्षणमा हैजा फैलाउने जीवाणु पाइएका छन् । यसैले जुनसुकै स्रोतको भए पनि पानी उमालेरमात्र खाने र व्यक्तिगत तथा पारिवारिक सरसफाइमा ध्यान दिनु अपरिहार्य भएको छ ।

नैरोबी फ्लाई नेपालीका लागि अपेक्षाकृत नौलो कीरा हो  । यसको विष शरीरमा परेपछि मूलतः  छालामा बिबिरा वा पाछेको दागजस्तो देखिन्छ । यसैले त्यस्ता कीरा शरीरमा बस्नै नदिन सावधान हुनुपर्छ । विशेषगरी बालबालिकालाई जोगाउनु बढी जरुरी छ ।

संक्रमणविरुद्ध जोगिने सबैभन्दा उत्तम उपाय सावधानी नै हो । संक्रमणको जोखिम र त्यसबाट जोगिने उपायको व्यापक प्रचारप्रसारले नै जनतालाई सजग र सावधान बनाउने हो । सालिग ठड्याउने र आफन्तलाई फाइदा हुनेगरी बजेट बिगार्नेबाहेक जनहितका विषयमा शासकहरूको ध्यान जाला ?

Facebook Comments Box