राष्ट्रपति भण्डारीले हदभन्दा बढी गरेकाले अदालत गएका हौँ– देउवा



संविधान अनुसार देउवा प्रधानमन्त्री निश्चित–प्रचण्ड

लावण्य/साँखु । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले आफूलाई प्रधानमन्त्री बनाउ भनेर राष्ट्रपतिलाई आदेश दिनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो बनेर राष्ट्रपतिले मर्यादा भुलेको बताउँदै शनिबार बानेश्वरमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले हदभन्दा बढी गरेको आरोप समेत लगाउनुभयो ।

राष्ट्रपतिले आफूलाई नियुक्त नगरेपछि बाध्य भएर सर्वोच्चमा गएको उल्लेख गर्दै देउवाले राष्ट्रपति असंवैधानिक बाटोमा लागेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिलाई शंका लागेमा सांसदहरुलाई बोलाएर सनाखत गर्नुपर्ने बाटो हुँदाहुँदै गलत कदम चालेकाले हामी अदालत जान बाध्य बनेका हौं ।’

संविधानको अन्तिम व्याख्याता अदालत भएकाले अदालतले संविधान अनुसार न्याय दिने उहाँले विश्वास ब्यक्त गरे । अर्को प्रसंगमा उहाँले आफूलाई ओलीसँग मिल्यो भनेर गलत आरोप लगाएकोमा दुखेसो गर्नुभयो ।

संविधान अनुसार देउवा प्रधानमन्त्री निश्चित ः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा ज्ञानेन्द्रले बनाएको शाही आयोग खारेज गरेर लोकतन्त्रको पक्षमा उभिएको अदालतलाई राष्ट्रपतिको बारेमा अदालतमा बहस गर्न पाइँदैन भन्न नपाइने बताउनुभएको छ ।

राष्ट्रपतिले गरेको क्रियाकलापलाई अदालतले सच्याउन सक्ने उहाँको भनाइ थियो । विपक्षी गठबन्धनले शनिबार पत्रकारहरुसँग वानेश्वरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उहाँले त्यस्तो बताउनुभएको हो ।

सर्वोच्चले संविधान अनुसार, लोकतान्त्रिक मूल्य मान्यता अनुसार फैसला गर्ने बताउँदै प्रचण्डले भन्नुभयो, ‘अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरेर शेरबहादुर देउवा जीलाई प्रधानमन्त्री तोक्नुपर्छ, अदालतले देउवालाई प्रधानमन्त्री बनाउनुको विकल्प छैन ।’

अराजक शैलीमा केपी ओली संविधानको विरुद्धमा उत्रिएको आरोप लगाउँदै प्रचण्डले संविधान अनुसार ओलीपछि देउवा प्रधानमन्त्री बन्ने ठोकुवा गर्नुभयो ।

देउवाको साटो मलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको थियो तर गठबन्धनलाई धोका दिइँन ः माधव नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूहरुको लडाइ केपी ओली व्यक्तिविरुद्ध नभई ओलीप्रवृत्तिविरुद्ध रहेको स्पष्ट पार्नुभएको छ ।

विपक्षी गठबन्धनले शनिबार पत्रकारहरुसँग वानेश्वरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले ओलीले पटक–पटकको धोका दिएका कारण आफूहरु विद्रोहमा उत्रिनुपरेको बताउनुभयो ।

ओलीलाई सत्ता, शक्ति र पैसाको मात लागेको उल्लेख गर्दै उहाँले लोकतन्त्रको रक्षा, जनताको अधिकार रक्षा, संविधान बचाउन, संघीयता जोगाउन आफूहरु मैदानमा उत्रिएको बताउनुभयो । उनले ओलीले सत्ताबाहेक अरु नदेखेको आरोप समेत लगाए ।

सो क्रममा नेता नेपालले विपक्षी गठबन्धनलाई कुनै पनि हालतमा धोका नदिने स्पष्ट पारे । ‘माधव नेपालले धोका दिँदैन, धोका दिने मान्छे होइन, सर्वोच्चमा गरिएको हस्ताक्षर फिर्ता लिएर धोका दिने काम हुँदैन’ उनले भने ।

ओलीसँग नमिल्ने र विपक्षी गठबन्धन नछोड्ने घोषणा गरेका नेपालले ओलीबाट प्रधानमन्त्रीको अफर आएको दाबी पनि गरे । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको तर आफूले स्वीकार नगर्ने उनको दाबी छ ।

‘मलाई प्रधानमन्त्री अफर गरेर अब केही हुँदैन, ओलीले राइटिस्ट कोलिसन बनाउनुभएको छ त्यसलाई करेक्सन गर्नुपर्छ, सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउँला’ नेपालको भनाइ थियो । आफूले कुनै पदका लागि लडाइँ लडेको नभइ ओलीको गलत प्रवृत्ति र गलत चिन्तनविरुद्ध उत्रिएको बताए ।

Facebook Comments Box