विद्यार्थीको ईच्छा आकांक्षालाई दिशा निर्देश दिन सक्नुपर्छ –बज्राचार्य

२०७९ असार २१ गते

लावण्य/साँखु । लुम्बिनी विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले भाग्योदय क्याम्पसको २० औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै शिक्षकले विद्यार्थीको ईच्छा आकांक्षालाई दिशा निर्देश दिन सक्नुपर्छ भन्नुभएको छ ।

लुम्बिनी विश्वविद्यालय र भाग्योदय क्याम्पसबीच केही विषयमा सम्झौता भई भाग्योदय क्याम्पसमा लुम्बिनी विश्वविद्यालय अन्तर्गतका कक्षाहरु सञ्चालन गर्ने तयारी भईरहेको सो अवसरमा जानकारी गराईएको थियो ।

बज्रयोगिनीको विहार (गुँबिहार)लाई नेपालमै पहिलो बिहारको रुपमा लिईने गरेको समेत उहाँले उल्लेख गर्नुभयो ।

उहाँले क्याम्पसमा एउटा विषय संस्कृति कला सम्बन्धी हुनुपर्ने र त्यसमा बाजागाजा लगायतका विषयहरु समावेश गर्नुपर्ने सुझाव समेत उहाँको थियो ।

कार्यक्रममा मेयर रमेश नापितले भाग्योदय क्याम्पस सञ्चालनका लागि आवश्यक जे जस्तो समस्याहरु छन् ती सबै समस्याहरु समाधान गर्न नगरपालिका तयार रहेको बताउँदै भाग्योदय क्याम्पसलाई यस भेगकै नमूना क्याम्पस बनाउनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले वन जंगलको उपयोग गर्न सकिने बताउनुभयो । त्यहाँ सिताके च्याउ लगायतका कृषिजन्य उत्पादन गर्न सकेमा खेर गईरहेको जमिनको उपयोग हुने विचार व्यक्त गर्दै बजारीकरणको लागि आफूहरुको साथ सहयोग रहने बताउनुभएको छ ।

भाग्योदय क्याम्पसका संस्थापक अध्यक्ष जोगमेहेर श्रेष्ठका सुपुत्र ई. सुमन मेहेर श्रेष्ठले आफ्नो बुबाले २०५९ सालमा क्याम्पस स्थापना गर्नको लागि तयारी गर्दा यहाँ कुनै पूर्वाधार नभएको र यहाँका स्थानीयहरु काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा गएर पढ्नुपर्ने बाध्यता भएकोले सो बाट मुक्ति पाउनको लागि सेवामूलक क्याम्पसको स्थापना गर्ने लक्ष्य सहित यो क्याम्पसको स्थापना भएको बताउनुभएको थियो ।

सो अवसरमा निवर्तमान मेयर सुवर्ण श्रेष्ठले भन्नुभयो– आफु मेयर भएर आएपछि भाग्योदय क्याम्पसको अवस्था केही खस्किएको देखिएको बताउँदै सो अवसरमा सुरुको वर्षहरुमा आर्थिक सहायता दिईयो त्यहाँबाट पनि सम्भवत नभएपछि नगरपालिकाले ह्याण्ड ओभर गरेर लिएको बताउँदै आवश्यक बजेट विनियोजन गरिएको बताउनुभयो ।

यस वर्ष अझ बढी बजेट विनियोजन गरिनुपर्ने उहाँको विचार रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै भाग्योदय क्याम्पसका क्याम्पस प्रमुख बौधराज निरौलाले आफु क्याम्पस प्रमुख भएर आएको बेला गत साल विद्यार्थी संख्या ८५ रहेकोमा अहिले १४० जना विद्यार्थी रहेको बताउनुभयो । साथै उहाँले अनलाईन क्लास सञ्चालन गरेतापनि प्रभावकारी नभएको बताउँदै शैक्षिक क्यालेण्डर प्रकाशन, आफ्नै वेवसाईट बनाउने देखि गुणस्तरीय शिक्षाको लागि आवश्यक पूर्वाधार तयारीमा क्याम्पस जुटेको बताउँदै भाग्योदय क्याम्पसको लागि शिक्षालय भवनको जोहो गर्नुपर्ने बताउनुभएको थियो ।

शिक्षासेवी राष्ट्रिय माविका प्राचार्य अर्जुन कारञ्जितले उच्च शिक्षा पाउनको लागि यहाँका स्थानीयले दुःख नपाओस् भनेर क्याम्पस खोलिएको बताउँदै पढ्न सक्ने र पढ्न चाहने वातावरण निर्माणमा जोड दिनुभएको थियो । साथै अबको केही वर्षमा भाग्योदय क्याम्पसले मास्टर्स तहको पढाई सञ्चालन गर्नुपर्ने सुझाव उहाँको थियो ।

कार्यक्रममा विभिन्न संकायमा प्रथम भएका विद्यार्थीहरुलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।

Facebook Comments Box