विद्यालयको लापरवाहीले एसिडको होली: पीडित किशोरी भन्छिन्- ‘मलाई पहिलेकै अनुहार दिलाइदिनुस्’

लावण्य/सााखु । आइतबार होलीको दिन । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं. १ नाङ्लेभारेमा रहेको नवीन ग्राम माध्यमिक बिद्यालयको प्राङ्गणभित्रै एसिडको होली खेलियो । पानी ठानेर एसिड छ्याप्दा ३ जना बालबालिकासहित अन्य केही व्यक्ति घाइते भए ।  साँखुको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारपछि २ जना घाइते बालकलाई डिस्चार्ज गरिएको छ भने गम्भीर घाइते बालिका अस्मिता तामाङको उपचार भइरहेको छ । उनको दुबै आँखा बन्द अवस्थामा छ भने अनुहार सुन्निएको छ । अहिले उनको अवस्था खतरामुक्त रहेको अस्पतालका मेडिकल डाइरेक्टर सन्तोषविक्रम भण्डारीले जानकारी दिएका छन् । घटनापछि नाङ्लेभारे प्रहरीले ३ जनालाई प्रक्राउ समेत गरेको छ । 

यसरी भएको थियो घटना 

नवीनाग्राम माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने बालिका अस्मिता तामाङ होली पर्वको दिन गत आइतबार साथीहरुसँग होली मनाउन स्कूल पुगेकी थिइन् । त्यसदिन सार्वजनिक बिदा भएकोले स्कूल बिदा थियो । स्कूल छेउमा साँखु–मेलम्ची सडक मर्मतका खटिएका मजदूरहरु काम गरिरहेका थिए । अस्मिता आफ्ना साथीहरुसँग स्कुल परिसरभित्र होली खेलिरहेकी थिइन् ।

दिउँसो साढेँ ३ बजेतिर होली खेलिरहेका बेला सडक निर्माणमा खटिएका १७ वर्षका पवन पहाडी र १८ वर्षका आकाश तामाङ पनि होली खेल्न विद्यालयभित्र छिरे । विद्यालय हाताभित्र जर्किनमा रहेको एसिडलाई पानी ठानेर त्यसमा रंग घोलेर अस्मिता, तामाङ, सविन तामाङ लगायतलाई छ्याप्न थाले । जब शरीरका विभिन्न भागमा पोल्न थाल्यो, तब उनीहरुले त्यो पानी नभई एसिड रहेको थाहा पाए ।

होली खेल्ने क्रममा भूलबस भएको एसिड प्रहारबाट सबैभन्दा धेरै असर अस्मितालाई परेको छ । उनको अनुहार तथा शरीरका विभिन्न भागमा एसिड परेको छ । साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गराइरहेकी उनले अनुहार तथा शरीरका विभिन्न भागमा पोलिरहेको र दुखिरहेको बताइन् । स्कुलमा जहिले पनि त्यो सेतो जर्किन रहने गरेको तर त्यो अहिले आएर एसिड भएको थाहा भएको उनले बताइन् । 

होली खेलिरहेका बेला स्कुलमा आएर एसिड हान्नेलाई आफूले पहिले कहिल्यै पनि नदेखेको उनले बताइन् । उनले आफूलाई यस्तो अवस्थाहरूमा पु¥याउनेलाई कारवाही गर्न माग गरेकी छिन् । अस्मिताकी फुपु दिदी श्रीमाया तामाङले एसिडले पोलेपछि बहिनी धेरै आत्तिएको र रोइरहेको बताइन् । उनले प्रश्न गरिन्–‘विद्यालयको कम्पाउन्डमा डेरी, अरु उद्योग खोल्न लगाउने हो ? विद्यालयभित्र जहाँ पायो त्यही एसिड राख्ने हो ? विद्यालयको व्यवस्थापकहरु समेत यसको जवाफदेही हुनुपर्छ । को–को दोषी छन्, तिनीहरुलाई कारवाही हुनुपर्छ । एसिड हान्नेलाई, राख्नेलाई र विद्यालय व्यवस्थापन समितिलाई कारवाही हुनुपर्छ ।’ 

अस्पतालमा उपचार गराइरहेकी अस्मिता आफ्नो अनुहार पहिलेको अवस्थामा नफर्किने हो कि भनेर चिन्तामा छिन् ।  अस्पतालको शैयाबाट उनले भनिन्– ‘यस्तो बनाउनेलाई कारवाही होस् । मलाई मेरो  पहिला जस्तो अनुहार थियो, त्यस्तै अनुहार चाहिन्छ ।’ 

उनको अनुहार र दुबै आँखा सुन्निए पनि अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।  ११ वर्षका सविन तामाङ पनि नवीनग्राम माविमा कक्षा ४ मा पढ्छन् । एसिडबाट उनको अनुहारको छाला डढेको छ । स्कुलमा होली खेलिरहेका बेला उनलाई पनि समातेर रंग मिसाएको एसिड दलिदिएको बताए ।

उनकी आमा बेली तामाङले आइतबार सबिन २ बजे घरबाट होली खेल्न निस्किएको र अस्पताल पुर्याएपछि दिउँसो ४ बजे मात्र घटनाबारे थाहा पाएको बताइन् ।   उनले आफ्नो परिवारको आर्थिक कमजोर रहेकोले उपचार खर्च बेहोर्न नसक्ने उल्लेख गरिन् । उनले भनिन्– ‘उपचार गर्न हाम्रो क्षमता छैन् । मेरो छोराको अनुहार जस्तो थियो त्यस्तै बनाइ दिइयोस् ।’  विद्यार्थीका अभिभावक मानबहादुर तामाङले बिद्यालयको कारण यस्तो घटना घटेको उल्लेख गर्दै उपचारका लागि आफ्नो आर्थिक अवस्थाले नभ्याउने बताए ।

चिकित्सक भन्छन्– ‘अहिले खतरामुक्त अवस्थामा छन्’ 

एसिडको होलीबाट घाइते बालबालिकाको स्वास्थ्य खतरामुक्त रहेपनि उनीहरुको उपचारमा केही साता लाग्ने सुष्मा कोइराला मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर डा.सन्तोष विक्रम भण्डारीले जानकारी दिए । 

उनले आगोले पोलेको भन्दा एसिडले पोलेको जलन धेरै हुने, सल्फरिक एसिडले पोलेकोले जलन बढी हुने र उपचारमा केही साता लाग्ने बताए । उनले भने–‘अहिले उनीहरुलाई सबै औषधीहरु चलाइरहेको छ । अनुहार, दुवै आँखा सुन्निएको छ । उपचारका लागि झन्डै ३ साता बढी लाग्नसक्छ । उपचार खर्च तीन चार लाख हाराहारी लाग्न सक्छ ।’ 

स्कूलमा डेरी चलाउन दिने प्रध्यानाध्यापक भन्छन्– ‘म अहिले अप्ठेरोमा परेको छु’

नवीनग्राम माविका प्रधानाध्यापक गुरुप्रसाद दंगालले विद्यालय परिसरमा दुध संकलन गर्ने डेरी चलाउन भाडामा विद्यालयको कोठा दिएका थिए । स्थानीयका अनुसार विद्यालय व्यवस्थापन समितिसँग छलफल समेत नगरी एकलौटी ढंगले एकल निर्णयमा विद्यालयको कोठा भाडामा लगाएका थिए । विद्यालयको कोठा डेरी चलाउन भाडामा दिएपनि विद्यालय प्रशासनले कहिले पनि अनुगमन गर्ने, व्यवस्थापनबारे चासो राख्ने नगरेको स्थानीय बताउँछन् । रातोपाटीले प्रअ गुरुप्रसाद दंगालसँग पटक–पटक विद्यालयमा भएको एसिड घटनाबारे जिज्ञासा राख्दा उनले आफू निकै अप्ठेरोमा परेको र पछि फोन गर्ने बताउँदै फोन राखे ।

विद्यालय क्षेत्रलाई सुरक्षित र व्यवस्थित राख्न नसक्नु प्रधानाध्यापक र विद्यालय व्यवस्थापनको गम्भीर कमजोरी रहेको सोही विद्यालयमा कार्यरत एक शिक्षकले उल्लेख गरे । विद्यालयमा एसिडको घटना घटेपछि विवादमा आएका उनी यसअघि पनि शिक्षकले पाउनुपर्ने तलब नदिएका कारण विवादमा परेका थिए । एमालेको स्थानीय नेता तथा शिक्षक राजनीतिमा समेत लागेका उनलाई कोरोना पछि भएको लकडाउन अवधिमा शिक्षकले पाउनुपर्ने तलब नदिएपछि केही शिक्षकहरुले आक्रमण समेत गरेको सोही विद्यालयका एक शिक्षकले बताए । 

अनुसन्धान गर्न अदालतले दियो ५ दिनको म्याद 

एसिडमा रंग घोलेर दल्ने १७ वर्षीय पवन पहाडी र १८ वर्षीय आकाश तामाङ प्रहरी हिरासतमा रहेका छन् । आरोपीले नाङ्गलेभारे नवीन ग्राम माविमा रहेको  सरस्वती दुग्ध उत्पादन सहकारी संस्थाले राखेको सल्फ्युरिक एसिड ल्याएका थिए । 

दुग्ध सहकारीका ४४ वर्षीय केशव नेपाललाई पनि पक्रेर मुद्दा चलाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर आरोपीहरुमाथि महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । 

होली खेल्ने क्रममा पानी मागेपछि ९ वर्षका बालकले डेरीबाट ग्यालिनको एसिड लगिदिएको र एसिड भन्ने नचिनेर उनीहरुले दलेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

यस्तो छ कानुनी व्यवस्था

सरकारले एसिडलाई घातक बस्तु मान्दै एसिड आक्रमण तथा एसिड प्रयोग सम्बन्धमा कडा कानुनी व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता ०७४ (संसोधित) को दफा–१९३ अनुसार तेजाब प्रहार गरेर कुरुप बनाएमा २० वर्ष कैद र १० लाख जरिवाना हुने कानुनी व्यवस्था छ । जरिवाना बापतको रकम पीडितलाई क्षतिपूर्ति दिनुपर्छ । 

यस्तै अनुहार कुरुप बनाउने मनसाय नभएको तर लापरवाही गरेको पुष्टि भएमा २ वर्ष कैद अथवा २० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।   तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश–०७७ अनुसार एसिड राख्नका लागि अनुमति लिनुपर्छ । तर यो घटनामा अनुमति नलिई विद्यालयभित्र एसिड राखेको पाइएको प्रहरीले बताएको छ । अनुमति नलिई एसिड राख्नेलाई ५० हजारदेखि १ लाख जरिवाना र ३ महिनादेखि १ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । 

पीडितका परिवारले दुग्ध उत्पादन सहकारीका सञ्चालकसहित ३ जनाविरुद्ध किटानी जाहेरी दिएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नविन कार्कीले रातोपाटीलाई बताएका छन् । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

आगोले पोलेका र एसिड पीडितकोलागि वरदान सुषमा कोईराला मेमोरियल अस्पताल
सम्भवतः दक्षिण एसियामै नाम चलेका हस्पिटलहरुमध्ये एक सुषमा कोईराला मेमोरियल हस्पिटल, सुरुमा यो हस्पिटलको स्थापना हुँदा जर्मन फण्डबाट चलेको हस्पिटल थियो र यो हस्पिटलमा विशेषतः कुष्ठ रोगीहरु्रको उपचार गर्नको लागि स्थापना भएको थियो ।
पछि यो हस्पिटल सुषमा मेमोरियल ट्रस्टले हस्तान्तरण गरेर लिएपछि भने यस ट्रस्टका अध्यक्ष सुजाता कोईरालाले आफ्नो आमाको सम्झनामा आगोले पोलेका र एसिड पीडितहरुको लागि प्लाष्टिक सर्जरी गरेर पीडितको अनुहार तथा शरीरका दाग धब्बाहरु हटाउने भरिसक्य राम्रो बनाउने कार्य त्यो पनि ट्रस्टको सिफारिशमा धेरै व्यक्तिहरुको सित्तैमा उपचार गरिदिएको छ यो हस्पिटलले सोही कारण आगोले पोलेका विरामीहरु जो आर्थिक रुपले सक्षम छैनन् उनीहरु र आर्थिक रुपले सक्षम भएकाहरुमा पनि नाम चलेका नायिका समेत यस हस्पिटलमा प्लाष्टिक सर्जरी गराएर गईसकेका छन् । यो हस्पिटलले विशेषत प्लाष्टिक सर्जरीमा मुलुकभरमै नाम कमाएका छन् भने दक्षिण एशियामै नाम कहलिएको र भारतको बिहार लगायतका विभिन्न ठाउँबाट समेत बिरामीहरु तथा प्लष्टिक सर्जरीको लागि यस हस्पिटलमा आउने गरेका छन् ।
हुनतः यस हस्पिटलमा जनरल सेवा, हाड जोर्नी, आँखा, दन्त उपचार, प्रसुति सेवा लगायत अति आवश्यक सेवाहरु रहेका छन् । तर यस हस्पिटलको प्रमुख विशेषता भनेकै प्लाष्टिक सर्जरी हो ।
(समाचार रातोपाटी डटकमबाट साभार गरिएको हो ।)

Facebook Comments Box