शंखरापुर नगरपालिकाको बजेट करीब ९७ करोड, कर बढ्यो
लावण्य/साँखु । शंखरापुर नगरपालिकाको छैठौ नगर परिषद बैठकबाट सर्वसम्मतरुपमा नीति तथा कार्यक्रम पारित हुनुका साथै ९६ करोड ७० लाख ९९ सय हजार बराबरको बजेट पारित गरेको जानकारी प्राप्त भएको छ । साथै बजेट मार्फत् सम्पत्ति कर लगायतका करको दर वृद्धि गरेको जानकारी प्राप्त भएको छ । तर आधिकारिकरुपमा नगरपालिकाले यस सम्बन्धी जानकारी गराएको छैन ।
शंखरापुर नगरपालिकाका उप मेयर शुक्रलक्ष्मी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले नीति तथा कार्यक्रम र आ. ब. २०७८÷७९को लागि बजेट प्रस्तुत गरेका थिए ।
मेयर श्रेष्ठ द्वारा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट माथि छलफल पछि परिषद बैठकले सर्बसम्मतिले पारित गरेको शंखरापुर नगरपालिकाका उप मेयर शुक्रलक्ष्मीले बताउनु भयो ।
कोभिड–१९ कोरोना भाइरस संक्रमण रोकथाम तथा न्युनिकरणको लागि बिशेष कार्यक्रम, कोरोनाका कारण थलियको पर्यटन बिकासको लागि छुट्टै शाखा स्थापना गरि कार्य अघि बढाउने, मेयर उज्यालो कार्यक्रम, जनतासंग मेयर कार्यक्रम, कर्मचारी तथा जनप्रतिनिधिको दक्षता अभिवृद्धीको लागि तालिमको ब्यबस्था लगायतका कार्यक्रमहरु प्राथमिकतामा परेको थियो ।
त्यसैगरी शिक्षा तर्फ बहु कक्षा बहु शिक्षण कार्यक्रम र अनलाइन पद्धति मार्फत कक्षा संचालन लाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा समाबेश गरिएको छ ।
एक घर एक धारा कार्यक्रमलाई प्रभाबकारी रुपमा अघि बढाउने र नदी तथा पानीका मुहान प्रदुषण रोक्ने कार्यक्रम ल्याइने भएको छ ।
त्यसैगरि किसानहरुलाइ समयानुकूल मलखाद र बिउबिजन सरल र सहज रुपमा उपलब्ध गराउने, सबै तिर सिचाइको ब्यबस्था गरिने र किसान क्रेडिट कार्डको अबधारणा अनुसार सहुलियत दरको कृषि ऋण उपलब्ध गराउने कार्यक्रमहरु समाबेश गरिएका छन ।
नगरपालिका लाई हरित नगरको रुपमा बिकास गरिने र नगरमा ४० माइक्रोन भन्दा कम तौलको प्लास्टिक प्रयोगमा निरुत्साहित गरिने कार्यक्रमहरु समाबेश गरिएको छ ।
सभामा सहभागी एकजना वडा सदस्यका अनुसार करको दर बढाइएको छ, कर बढाउनको लागि सम्बन्धित समितिमा छलफल समेत गरिएको छैन । बहुमतको नाममा सिधै करको दर बढाएर नीति तथा कार्यक्रम र बजेट मार्फत् सार्वजनिक गरिएको छ । सो विषयमा असहमति व्यक्त गर्दा समेत कुनै सुनुवाई भएन ।