शंखरापुर नगरपालिका र सुषमा कोईराला मेमोरियल अस्पतालबीच सम्झौता कुन–कुन शीषर्कमा निःशुल्क हेर्नुहोस्

१२ भाद्र २०७९, मंगलवार
शंखरापुरका मेयर सुरु गरे स्वास्थ्य सेवामा निःशल्क अभियान : शंखरापुर नगरपालिका र सुष्मा कोइराला अस्पतालबीच सम्झौता भयो ।
लावण्य÷साँखु । शंखरापुर नगरपालिका र सुषमा कोईराला मेमोरियल अस्पताल साँखु बीच शंखरापुर नगरपालिका वडा नं १ देखि ९ सम्मका नगरबासीहरूलाई उक्त अस्पतालमा उपलब्ध सेवा मध्ये ७ वटा स्वास्थ्य सेवाहरू निःशुल्क र ११ वटा स्वास्थ्य सेवाहरू ३० देखि ६० प्रतिशत छूट हुनेगरि आपसी समझदारी पत्रमा यही मिति २०७९÷०५÷१२ गते आईतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा नगरपालिकाको तर्फबाट मेयर रमेश नापित र अस्पतालको तर्फबाट निर्देशक डा. सन्तोष बिक्रम भण्डारीले हस्ताक्षर गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नगरपालिकाको तर्फबाट उपमेयर समिता श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत रमेश गौतम, प्रवक्ता एवं ६ नं वडाका वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ, प्रशासन शाखा प्रमुख सुभद्रा पुडासैनी, स्वास्थ्य शाखा प्रमुख बिष्णु चापागाईं र अस्पतालको तर्फबाट सुजाता कोईरालाका स्वास्थ्य सल्लाहकार राम भण्डारी, सि.ई.ओ. दिपेन्द्र र अर्थ संयोजक भोला बिष्ट लगायतको उपस्थिति रहेको थियो ।
यो सम्झौता हुनासाथ सुषमा मेमोरियल अस्पतालले दिनुपर्ने सुविधा सोही दिन देखि लागू हुने अस्पताल प्रशासनले बताएको छ ।
समझदारी पत्रमा हस्ताक्षर गरेपछि नगरप्रमुख नापितले निर्वाचनका बेला आफूले गरेको प्रतिबद्धता कार्यान्वयन गरेको बताउँदै नगरबासीको सेवामा नगरपालिका दृढसंकल्पित भएर लागिपरेको बताउनुभयो । उहाँले न्यून आम्दानी भएका र सामान्य स्वास्थ्य सेवा लिनबाट समेत बञ्चित भएका नगरबासी सो सम्झौताबाट लाभान्वित हुने बताउनुभयो । कोही पनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चित नहोउन भन्नेमा नगरपालिका संवेदनशील रहेको बताउँदै आगामी दिनमा आफ्नो नेतृत्वमा थप लोक कल्याणकारी कार्यक्रमहरु लिएर अघि बढ्ने प्रतिबद्धता समेत उहाँले ब्यक्त गर्नुभयो ।

कुन कुन उपचारमा कस्तो सुविधा पाइने ?

नगरप्रमुख नापित र सुष्मा कोइराला मेमेरियल अस्पतालका निर्देशक डा. भण्डारीबिच ७ प्रकारका स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्झौता भएको हो । जस अनुसार डेन्टल ओपिडी (कस्मेटिक बाहेक) निःशुल्क, जेनेरल ओपिडी निःशुल्क, प्लास्टिक सजर्री (कस्मेटिक बाहेक) निःशुल्क, इमेर्जेन्सी निःशूल्क, फिजियोथेरापी ओपिडी निःशुल्क, ड्रेसिङ निःशुल्क, नर्मल बेड निःशुल्क गर्ने सम्झौता भएको छ । माथि उल्लेखित उपचार शूल्क पूर्ण रुपमा निःशुल्क गर्ने सम्झौता भएको हो ।

यस्तै इन्भेस्टिगेशन अन्तर्गत ल्याव, एक्सरे, ईसिजी, युएसजीमा लागेको खर्चको ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । स्पेशल ओपिडी जस अन्तर्गत (गाइनो, अर्थो, स्पाइन, साइकोलोजी, साइक्याट्री, इएनटी) मा लागेको खर्चको ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
निःशुल्क तथा विशेष छुटमा गरिएको उपचार खर्च वापत नगरपालिकाले अस्पताललाई निश्चित रकम भुक्तानी गर्नेगरी सम्झौता भएको हो ।