शंखरापुर नगरपालिका वडा नं. ९ को कार्यालयमा तालाबन्दी गरिने !

२०७८ असोज १४ गते

लावण्य/साँखु । शंखरापुर ९ सरोकार समितिले आज एक विज्ञप्ती प्रकाशित गरी भोलि बिहान ९ बजे शंखरापुर नगरपालिका वडा नं. ९ को कार्यालयमा तालाबन्दी गरिने जानकारी गराएको छ ।

पूर्वी क्षेत्र सहरी विकास आयोजनाले शंखरापुर ९ को जग्गा जमिन खरिद विक्री एवं कित्ताकाट गर्न रोक लगाएपछि शंखरापुर ९ का स्थानीय आन्दोलित भईरहेका छन् । उनीहरुको प्रमुख माग भनेकै स्थानीयको जग्गा रोक्का फुकुवा गर्नु हो । साथै स्मार्ट सिटी बनाउनको लागि व्यापक छलफल हुनुपर्ने समेत उनीहरुको माग रहेको छ । “आफ्नो जग्गामा आफ्नो अधिकार” स्थापित हुनुपर्ने माग उनीहरुको रहेको छ ।

यसैक्रममा यही असोज १५ गते शुक्रबार बिहान ९ बजे वडा कार्यालय ईन्द्रायणीमा भेला भई स्थानीयले वडा कार्यालयमा तालाबन्दी गर्न लागेको हो ।

सरोकार समितिले शंखरापुर ९ मा घरदैलो र माइकिङ्ग गर्दै स्थानीय बासिन्दालाई वडा कार्यालय घेराऊ र तालाबन्दी कार्यक्रममा सरिक हुन आग्रह गरिरहेको छ ।

विज्ञप्ती यस प्रकार रहेको छ–

विषय ः विरोध कार्यक्रम गर्ने बारेमा ।

सरोकारवाला दाजुभाई दिदीबहिनीहरुमा,

उपर्युक्त स्म्बन्धमा यस सरोकार समितिले पूर्वी शहरी विकास परियोजनाबाट रोक्का गरिएका जग्गा फुकुवा गरिदिन पटक पटक ज्ञापनपत्र बुझाउने एवम् शंखरापुर नपाका मेयर श्री सुवर्ण श्रेष्ठज्यू एवम् परियोजनाका प्रमुख र समितिका पदाधिकारीहरुको मिति २०७८।५।२२ र २३ गते भएको छलफलबाट रोक्का फुकुवा गर्ने प्रक्रिया अगाडि बढिसकेको र १० दिन भित्र रोक्का जग्गा फुकुवा गरिसक्ने प्रतिवद्धता जनाएकोमा हालसम्म पनि फुकुवा प्रक्रिया अगाडि नबढाएकोले यस नपा का सरोकारवाला दाजुभाई दिदीबहिनीहरुमा मेयर श्री सुवर्ण श्रेष्ठ ज्यूको जनताको सम्पत्ति माथिको स्वेच्छाचारी एवम् निरंकुश कदमको विरुद्धमा हामी आन्दोलित हुन बाध्य भएका छौँ, तसर्थ हाम्रो पूर्व निर्धारित वडा कार्यालय घेराऊ एवम् तालाबन्दी कार्यक्रम मिति २०७८।६।१५ गते बिहान ९ बजे वडा कार्यालय अगाडि जम्मा भई सुरु हुने भएकोले सरोकारवाला दाजुभाई दिदीबहिनीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

अध्यक्ष शंखरापुर ९ सरोकार समिति

Facebook Comments Box