शंखरापुर नपाभित्रका स्कुलहरुमा कक्षा १ देखि ९ सम्मकोलागि मूल्यांकन मापदण्ड तयार

लावण्य/साँखु । शंखरापुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले यसवर्ष सञ्चालन हुनुपर्ने अन्तिम परीक्षाको लागि मापदण्ड तयार गरी सूचना प्रकाशित गरेको छ ।
सो सूचना अनुसार शंखरापुर नपा भित्रका कक्षा १ देखि ७ र ९ कक्षाको परीक्षा पहिलो त्रैमासिकको ४० प्रतिशत र दोस्रो त्रैमासिकको ६० प्रतिशत मूल्यांकन कायम गरी वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
त्यसैगरी कक्षा ८ को सवालमा विद्यार्थीको सिकाई मूल्यांकन गर्दा विद्यालयबाट पहिलो त्रैमासिक र दोस्रो त्रैमासिकमा गरेको मूल्यांकनबाट ५० प्रतिशत र नगरपालिकाबाट लिइने अनलाइन परीक्षाबाट ५० प्रतिशत कायम गरी अन्तिम परीक्षाको नतिजा प्रकाशन गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी कक्षा १० को सवालमा विद्यार्थी मूल्यांकन सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्राप्त हुने निर्देशनानुसार गर्ने भएको छ ।
शिक्षा शाखाबाट प्राप्त सूचना यसप्रकार रहेको छ ।
मिति ः २०७८ जेष्ठ ६ गते
विषय ः कक्षा ८ लगायतको परीक्षा सम्बन्धमा ।
श्री सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु,
शंखरापुर, काठमाडौँ ।
कोभिड–१९ को दोस्रो लहरले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा लक डाउन भएको कारणले गर्दा विद्यार्थीको पठनपाठन तथा मूल्यांकन प्रक्रियामा गम्भीर रुपमा असर परेको छ । यस विषम परिस्थितिमा शिक्षक तथा विद्यार्थीहरुको स्वास्थ्य प्रति सतर्कता अपनाउन जति महत्वपूर्ण छ, विद्यार्थीहरुले सिकेको ज्ञान सीपलाई उपयुक्त माध्यम अपनाएर मापन गरी प्रमाणित गर्नु पनि उत्तिकै आवश्यक र चुनौतीपूर्ण छ । उपरोक्त सन्दर्भमा मिति २०७८ जेष्ठ ४ गतेको प्रअ अनलाइन बैठक र २०७८ जेष्ठ ६ गतेको कक्षा ८ मा अध्यापन गराउने शिक्षकहरुसहितको प्रअहरुको अनलाइन बैठकबाट प्राप्त सुझावसमेतको आधारमा विद्यालय तहको परीक्षा तपसिल बमोजिम सञ्चालन गर्ने नगर परीक्षा समितिको मिति २०७८ जेष्ठ ६ गतेको र्बैठकबाट निर्णय भएकोले सोही अनुसार कार्यान्वयन गर्नु गराउनु हुन अनुरोध छ ।
तपसिल ः
१) कक्षा १ देखि ७ र ९ कक्षाको परीक्षा पहिलो त्रैमासिकको ४० प्रतिशत र दोस्रो त्रैमासिकको ६० प्रतिशत मूल्यांकन कायम गरी वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाउने ।
२) कक्षा ८ को विद्यार्थीको सिकाई मूल्यांकन गर्दा विद्यालयबाट पहिलो त्रैमासिक र दोस्रो त्रैमासिकमा गरेको मूल्यांकनबाट ५० प्रतिशत र नगरपालिकाबाट लिइने अनलाइन परीक्षाबाट ५० प्रतिशत कायम गरी अन्तिम परीक्षाको नतिजा प्रकाशन गर्ने ।
३) कक्षा १० को विद्यार्थी मूल्यांकन सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्राप्त हुने निर्देशन अनुसार गर्ने ।
बौधराज निरौला
उप सचिव
शिक्षा, युवा तथा खेलकुद शाखा

Facebook Comments Box