शालिनदी परीसरबाट वृद्धा दम्पत्तिको उद्धार

लावण्य/साँखु । महानगरीय प्रहरी प्रभाग र शंखरापुर नगरपालिकाको पहलमा धादिङ घर भई शालिनदी परिसरको भीमसेन सत्तलपाटीमा वर्षौँदेखि बस्दै आएका दलबहादुर नगरकोटी र उनकी श्रीमती सुन्दरी नगरकोटीको उद्धार गरी मानव सेवा आश्रम ललितपुर पठाइएको छ ।
दलबहादुर ७० वर्षका थिए भने सुन्दरी अन्दाजी ६० वर्षकी थिईन् । सुन्दरी नगरकोटी बोल्न नसक्ने भएकोले अझै समस्यामा छन् । त्यसैले दलबहादुरलाई आफ्नो भन्दा उनैको बढी चिन्ता लाग्दो रहेछ ।

शालिनदी परिसरबाट उद्धार गर्नको लागि शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, उप मेयर शुक्रलक्ष्मी श्रेष्ठ, वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, प्रहरी निरीक्षक गोविन्द पन्थी, समाजसेवी प्रविनमान सिं लगायत शालिनदी परीसर पुगेका थिए । मानव सेवा आश्रमको तर्फबाट केन्द्रिय उपाध्यक्ष अधिवक्ता धर्म प्रसाद पौडेल (सन्तोष) ले वृद्धा दम्पत्तिको जिम्मा लिनुभएको थियो ।
सो अवसरमा मेयर सुवर्ण श्रेष्ठले नगरपालिकाले केही समय अगाडि नै उहाँहरुलाई शालिनदीको पुलबाट उद्धार गरी पाटीमा राखिएको र त्यसपछि उहाँका परिवारहरुसँग सम्पर्क गर्दा पनि लामो समयसम्म सम्पर्कमा नआउनुभएको कारण उहाँहरुको बिजोग नहोस् भनि मानव सेवा आश्रमको जिम्मा लगाइएको बताउँदै मानव सेवा आश्रमलाई आफु र नगरपालिकाको तर्फबाट सक्दो सहयोग गरिने बताउनुभयो । वृद्धा दम्पत्तिलाई पनि आफु केही समयमै भेटघाट एवं हेरदेखको लागि आउने बताउनुभयो ।
महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले भीमसेन सत्तल पुनर्निर्माण गर्न लागिएको र वृद्धा दम्पत्तिलाई अन्यत्र सार्न समेत कठिनाई भएको भनी समाजसेवी प्रविनमान सिंहले भनेपछि आफुले मानव सेवा आश्रमको साथ र सहयोग खोजेको बताउँदै यसरी सडकमा बसेकाहरुको उद्धार गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
मानव सेवा आश्रमका धर्मप्रसाद पौडेलले वृद्धा दम्पत्तिलाई आफुहरुले सक्दो राम्रो व्यवस्थ ागर्ने जानकारी गराउँदै आफ्नो आश्रम विदेशी दाताहरुबाट चलेको नभई पूर्णरुपमा नेपाली दाताहहरुकै भरमा रहेको बताउनुभयो र उहाँले आफ्नो आश्रमले मुलुकभर करिब ११ सय व्यक्तिहरुको लागि आश्रय दिएको बताउँदै दाताहरुको सहयोगमा यस्तो गर्न सकिएको बताउनुभयो । साथै उहाँले साँखुबासीहरुलाई पनि मानव सेवा आश्रमको भ्रमणको निम्ता गर्नुभयो ।