शिक्षासेवी शम्भु सरको नाम अमर रहने गरी काम गरिनेछ–सुवर्ण श्रेष्ठ

लावण्य/साँखु । भाग्योदय क्याम्पसको आयोजनामा काठमाडौँ उत्तरपूर्वी भेगका शिक्षासेवी शम्भुदास श्रेष्ठको सम्झनामा उहाँ दिवंगत हुनुभएको १३ औँ दिनका दिन श्रद्धाञ्जली सभा गरिएको छ ।
सो सभामा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले आफ्ना गुरु शम्भुदास श्रेष्ठले भाग्योदय क्याम्पस यस भेगकै नमूना क्याम्पसको रुपमा बनाउन चाहेको बताउँदै उहाँको सो सपना साकार पार्नको लागि नगरपालिका र आफ्नो तर्फबाट सक्दो कोसिस गर्ने बताउनुभएको छ ।
उहाँले स्व. श्रेष्ठको सम्झनामा उहाँको नाम परन्तु सम्म रहने गरि प्रतिष्ठान गठन गर्ने वा पुरस्कार स्थापना गर्ने हो अथवा अरु नै केही काम गरेरै भएपनि आफ्नो गुरुको सम्मानमा कुनै कमी नल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्व. श्रेष्ठको संक्षिप्त जिवनी कार्यवाहक क्याम्पस प्रमुख विरेन्द्र प्रसाद श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वर्गिय श्रेष्ठका सुपुत्र शंकर सन श्रेष्ठले बुबाले अनवरतरुपमा शिक्षा क्षेत्रमा योगदान दिनुभएकै कारण उहाँलाई अहिले सबैले सम्झना गरेको बताउनुभयो ।
कार्यक्रममा शंखरापुर नगरपालिकाका उप मेयर शुक्रलक्ष्मी श्रेष्ठ, भाग्योदय माविका प्रअ रुषण बसी, राष्ट्रिय माविका प्रअ अर्जुन नारायण कारञ्जित, भगवती माविका प्रअ अनुप श्रेष्ठ, बौधराज निरौला, मिजेन्द्रकाजी श्रेष्ठ, राजकुमार श्रेष्ठ लगायतले स्व. श्रेष्ठको योगदानबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रम भाग्योदय क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा भएको थियो ।