सहकारी र ऋण असुली
केही दिन अगाडि मात्रै भक्तपुरको एउटा सहकारीले जग्गाधनीलाई पत्तै नदिई जग्गा धितोराखी लिलामी लगायत सबै प्रक्रिया पूरा गरी आफ्नै नाममा जग्गा पास गरेको समाचार प्रकाशित भएको छ ।
हुनतः जग्गाधनीले जग्गा धितो नराखिकन सहकारीले लिलाम लगायतका प्रक्रिया पूरा गर्न सक्छ भन्ने बिश्वास गर्ने आधार छैन । तर पनि ऋणीले राखेको ५ कित्ता जग्गा ऋणीको आफ्नै नाउँमा मात्रै नभई अन्य २ जनाको नाममा समेत देखिन्छ । सहकारीले उक्त जग्गा दृष्टी बन्धकी राखेर ऋण दिएको देखिन्छ ।
जुन ऋण दिँदा अन्य २ जनाले ऋणीलाई सहमति दिएको वा नदिएको अहिलेसम्म खुलेको छैन । जे भएपनि ऋण लिएको रकम नतिरेपछि सहकारीले घर जग्गा लिलामीमा लैजानु स्वाभाविकै भएतापनि ऋण लिएका ऋणी बाहेकका सहमति दिएका जग्गाधनीहरुले समेत आफ्नो जग्गा जमीन लिलामी प्रक्रियामा जाँदा समेत थाहा नपाएको हो भने त्यसो हुनुहुन्थेन । यहाँनिर सहकारीले पनि सहमति दिने जग्गा धनीलाई समेत पत्र काट्नुपर्ने हो । तर सहमति दिईसकेका जग्गाधनीहरुले खाली लिलाम रोक्नकै लागि मात्रै प्रपञ्च गरेको भए कुरा अर्कै हो ।
ऋण लिएपछि तिर्नुपर्ने दायित्व ऋणीको हो भने ऋणीले ऋणको साँवा ब्याज तिर्न नसक्नुमा के कस्तो कमजोरी रहेको छ समयमै सहकारी वा बैँकले नियमन गर्नुपर्नेमा नियमन नगरेको हो भने बैँक वा सहकारीको पनि कमजोरी देखिन्छ ।
कुनै पनि बैँक वा वित्तिय संस्थाले ऋण दिँदा ऋणीले ऋणको साँवा ब्याज के कसरी तिर्छन् भनेर हेर्नुपर्ने हुन्छ । न कि उनको सम्पत्ति लिलाम गर्ने ध्ययेले ऋण दिने हो । ऋण निश्चित प्रयोजनको लागि दिनुपर्दछ र ऋण दिँदा ऋणीले दिएको व्यवसाय योजनालाई आधार मानेर ऋण स्वीकृत गरिनुपर्छ । साथै ऋण दिईसकेपछि समय समयमा ऋणको साँवा ब्याज भुक्तानी भएको छ, छैन र उनले ऋणको सदुपयोग गरेको छ कि दूरुपयोग सो बारे पनि बैँक वा वित्तिय संस्थाले ध्यान दिनु जरुरी रहेको छ ।
लावण्य सन्देश वर्ष ७ अंक ३४ को सम्पादकीयबाट