सुषमा मेमोरियल अस्पतालमा शंखरापुर नपा भित्रका कोभिडका बिरामीलाई ५० प्रतिशत छूट

लावण्य/साँखु । शंखरापुर नगरपालिका र सुषमा मेमोरियल अस्पतालबीच भएको सम्झौता अनुसार शंखरापुर नगरपालिकाभित्र बसोबास गर्ने नागरिकहरुमा कोभिड संक्रमण भई सो अस्पतालमा भर्ना भई उपचार गराउनु परेमा अस्पतालले तोकेको शुल्कमा ५० प्रतिशत छूट पाउने भएको छ ।

आज नगरपालिकामा यस सम्बन्धी सम्झौतापत्रमा शंखरापुर नगपालिकाका मेयर सुवर्ण श्रेष्ठ र अस्पतालको तर्फबाट डा. सन्तोष विक्रम भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

यो सम्झौतासँगै अब सुषमा मेमोरियल अस्पतालमा उपचाररत कोभिड–१९ का बिरामीहरुले अस्पतालले लिने शुल्कमा ५० प्रतिशत छूट पाउने भएको छ । सो छूटको रकममा २५ प्रतिशत अस्पतालले व्यहोर्ने छ भने २५ प्रतिशत नगरपालिकाले व्यहोर्ने भएको छ ।

सो हस्ताक्षर कार्यक्रममा अस्पतालको तर्फबाट आर्थिक प्रशासन शाखा प्रमुख भोला विष्ट र नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने उपस्थित थिए ।

सो अवसरमा मेयर श्रेष्ठले भन्नुभयो– जनताको ज्यान बचाउनु नगरपालिकाको पहिलो दायित्व भएकोले उपचारमा जनतालाई केहि राहत मिलोस भनेर सम्झौता गरिएको उहाँले बताउनु भयो।

इन्द्रायणीमा रहेको प्रस्तावित नगर अस्पतालमा आइसुलेसनमा बसेर उपचार गराइरहेका बिरामीहरुलाई नगरपालिकाले नि:शुल्क उपचार गराइरहेको मेयर श्रेष्ठले बताउनु भएको छ।

हाल सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गराउने कोबिड-१९ का बिरामीलाई आइ.सि.युमा ३२ हजार ७ सय, नन आइ. सि.युमा २३ हजार ६ सय र आइसुलेसन वार्डमा बस्ने बिरामीलाई ५ हजार खर्च लाग्ने सुस्मा कोइराला मेमोरियल अस्पतालका आर्थिक शाखा प्रमुख भोला बिष्टले जानकारी दिनु भएको छ।

नगरपालिका र अस्पताल बीच भएको आजको सम्झौताले आर्थिक समस्यामा परेका बिरामीहरुलाइ राहत मिल्ने छ।

Facebook Comments Box