स्थायी समाधान निकाल्न जरुरी


केही दिन अगाडि सरकारले पेट्रोलमा २० रुपैयाँ र डिजेल र मट्टितेलमा मा २९ रुपैयाँ भाऊ घटाएको छ । यसको लागि सरकारले केही राजस्वका दरहरु परिवर्तन गर्ने भएका छन् ।
सरकारको यो निर्णयसँगै आम जनतामा केही राहत मिल्नेछ । तर सरकारले यो निर्णय समयमै नगर्दा बजार भाउ अचाक्ली बढिसकेको छ भने यातायात भाडा समेत बढिसकेको छ ।
नेपालमा सामान्यतया सार्वजनिक यातायातमा भाऊ बढाईसकेपछि घटाउन मुश्किल हुन्छ । त्यो भन्दा पनि ट्रक, कन्टेनर, ट्याक्सी, टेम्पोमा त भाऊ घट्ने नामै नलिँदा हुन्छ । अहिले कुनैपनि ठाउँमा जानको लागि ट्याक्सी लिनुपरे आम उपभोक्ताले या त कति लिने भनेर ट्याक्सीसँग भाडा सोधेर मात्रै यात्रा गर्छ नभए इन ड्राइभर, पठाओ जस्ता एप्सको प्रयोग गरेर भाडा वार्गेनिङ गरेपछि मात्रै ट्याक्सी चढ्ने गरेको पाइएको छ ।
यसले गर्दा ट्याक्सी व्यवसायीहरुलाई पनि मर्का परेको छ भने आम जनतालाई पनि जहाँसुकैजानु परेपनि हतारमा खुरुक्क ट्याक्सी रोकेर जाने परिस्थिति बनेको छैन । अझ कुनै पनि हस्पिटल जानु परेमा अथवा हस्पिटलबाट डिस्चार्ज लिएर विरामी ल्याउनु परेमा ट्याक्सी रोकेर फलाना ठाउँमा जाउँ भन्नासाथ ट्याक्सीले यत्ति रुपैयाँ भए मात्रै जाने भन्न थालेका छन् ।
आम मानिसको यो समस्या सरकारमा बस्नेहरु, नीति निर्माणको तहमा बस्ने कर्मचारीहरु, राजनैतिक पार्टीका ठूला नेताहरु कसैले देखेका छैनन् । यस पटकको स्थानीय चुनावमा वडा अध्यक्षका उम्मेदवारहरुको खर्च नै दिनको १० लाख सम्म पुगेको सुनिनमा आएको छ । यस्तो खर्च गरेर आएका जनप्रतिनिधिले भोलि पदमा पुगेपछि अनावश्यक लाभ लिने र यसको लागि आम जनतालाई दुःख दिने नै छ ।
यसैले सरकारले पेट्रोलियम पदार्थको भाऊ घटाए जस्तै आगामी संसदीय र प्रदेश सभाको चुनावको खर्च घटाउन र खर्च नियन्त्रण र नियमन गर्नुपर्ने छ । यसको लागि ठूला राजनैतिक दलहरु, कर्मचारी प्रशासन, निर्वाचन आयोग र सरकारी संयन्त्र चुस्त दूरुस्त हुनु आवश्यक छ ।
पेट्रोलियम पदार्थको भाऊ घटाउनु वास्तवमा अस्थायी समाधान मात्रै हो । यसको स्थायी समाधानको लागि सरकारले पहल गर्नु जरुरी छ । कुनै पनि वस्तुको भाऊ स्थिर रहँदैन । भाऊ घट्नु वा बढ्नु सामान्य सिद्धान्त नै हो । तर भाऊ बढ्दा आम जनतालाई के कस्तो समस्या पर्छ त्यतातर्फ ध्यान दिएर सरकारले राहत कार्ड वितरण गरी आम जनतालाई राहत दिने पहल गर्नु जरुरी छ । नभए अस्थायी समाधानले मात्रै आम जनतालाई सधैँको लागि समस्याबाट मुक्ति दिन सकिँदैन । सबैलाई चेतना भया !