साँखु/काठमाडौँ।
अमेरिकामा गरिएको पछिल्लो सर्वेक्षणले इरानसँग जारी युद्ध छिट्टै अन्त्य गर्नुपर्ने पक्षमा बहुसंख्यक अमेरिकी नागरिक रहेको देखाएको छ। अमेरिकी सर्वेक्षण कम्पनी इप्सस र अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले संयुक्त रूपमा गरेको सर्वेक्षणअनुसार दुई तिहाइ अमेरिकी नागरिकहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको उद्देश्य पूरा भए पनि नभए पनि युद्ध अन्त्य गर्नुपर्ने बताएका छन्।
सर्वेक्षणमा २७ प्रतिशत सहभागीले लक्ष्य पूरा नभएसम्म युद्ध जारी राख्नुपर्ने मत दिएका छन् भने ६ प्रतिशतले कुनै प्रतिक्रिया नदिएको जनाइएको छ। रिपब्लिकन समर्थकहरूभित्र पनि मत विभाजन देखिएको छ। ट्रम्प समर्थकहरूमध्ये ४० प्रतिशतले लक्ष्य अधुरो रहे पनि युद्ध अन्त्य गर्नुपर्ने बताएका छन् भने ५७ प्रतिशतले दीर्घकालीन संलग्नताको पक्ष लिएका छन्।
एक महिनादेखि जारी युद्धले मध्यपूर्व क्षेत्रभरि असर पार्दै हजारौंको ज्यान लिइसकेको छ भने विश्व अर्थतन्त्रमा समेत दबाब सिर्जना गरेको छ। ऊर्जा मूल्यमा भएको तीव्र वृद्धिले मुद्रास्फीति बढ्ने चिन्ता थपिएको छ। सर्वेक्षणमा सहभागीमध्ये ६० प्रतिशतले इरानमाथि अमेरिकाले गरेको सैन्य आक्रमणप्रति असहमति जनाएका छन् भने ३५ प्रतिशतले मात्रै समर्थन गरेका छन्।
युद्धको प्रभाव अमेरिकाको घरेलु बजारमा समेत देखिएको छ। पेट्रोलको मूल्य तीन वर्षयताकै उच्च स्तर पार गर्दै प्रतिग्यालन ४ डलर नाघेको छ। सर्वेक्षणमा सहभागी दुई तिहाइले एक वर्षभित्र इन्धनको मूल्य अझै बढ्ने अनुमान गरेका छन्। आधाभन्दा बढी सहभागीले युद्धले आफ्नो व्यक्तिगत आर्थिक अवस्थामाथि नकारात्मक प्रभाव पार्ने बताएका छन्।
यसैबीच, अमेरिका बसोबास गरिरहेका नेपाल मूलका नागरिकहरूले पनि युद्ध अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन्। अमेरिका निवासी सबिता श्रेष्ठ ले युद्धले विश्व शान्ति र आर्थिक स्थिरतामा गम्भीर असर पार्ने बताउँदै भनिन्, “युद्धले कुनै दीर्घकालीन समाधान दिँदैन, बरु सामान्य नागरिकको जीवन झन् कठिन बनाउँछ। ऊर्जा मूल्य वृद्धि र मुद्रास्फीति बढ्दा अमेरिकामा बस्ने आप्रवासी समुदाय पनि प्रत्यक्ष प्रभावित भएका छन्। छिटो कूटनीतिक समाधान खोजिनु आवश्यक छ।”
त्यस्तै, नेपाल मूलका अमेरिका निवासी अजय श्रेष्ठ ले पनि युद्धभन्दा संवाद नै विकल्प भएको उल्लेख गर्दै भने, “युद्ध लम्बिँदै जाँदा कर वृद्धि, इन्धन महँगी र रोजगारीमा अनिश्चितता बढ्ने चिन्ता छ। आम अमेरिकी नागरिकजस्तै आप्रवासी समुदाय पनि युद्ध अन्त्यको पक्षमा देखिन्छन्। शान्तिपूर्ण वार्ता नै दीर्घकालीन समाधान हो।”
१ हजार २१ जनाको सहभागितामा गरिएको उक्त सर्वेक्षणले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि युद्ध सम्बन्धी जनमतले ट्रम्प प्रशासनमाथि थप राजनीतिक दबाब सिर्जना गर्न सक्ने संकेत गरेको छ।