नेपाल संवत् ११४७ को उल्लासमा साँखु, भाषा र संस्कृति संरक्षणको साझा प्रतिबद्धता

lawanyasandesh.com

शंखरापुर (साँखु), काठमाण्डौं। सक्व शिरोमणि पुचबाट परम्परागत धिमे बाजा बजाउँदै नेपाल संवत् ११४७ न्हुँद (नयाँ वर्ष) को स्वागत कार्यक्रम सुरु गरिएको छ। नेपाल संवत्को ऐतिहासिक महत्त्व, नेवारी भाषा, कला, संस्कृति, सम्पदा तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, पुच तथा टोल सुधार समितिका पदाधिकारी र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।


न्हुँद ११४७ का अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुरेन्द्र मालीले गर्नुभएको थियो। कार्यक्रममा शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित प्रमुख अतिथि तथा उपप्रमुख समिता श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा नगरपालिकाका निवर्तमान प्रमुख सुवर्ण श्रेष्ठसहित नगरपालिकाका नौवटै वडाका अध्यक्षहरूलाई अतिथिका रूपमा आसन ग्रहण गराइएको थियो।


त्यसैगरी इपाटोल सुधार समितिका अध्यक्ष लक्ष्मीप्रसाद श्रेष्ठ, वडा सदस्य तथा नगरपालिकाका खेलकुद विकास संयोजक श्रीराम (श्रीखण्ड) श्रेष्ठ, संस्थाका पूर्वअध्यक्ष जीवनलाल श्रेष्ठ, विभिन्न पुच तथा टोल सुधार समितिका पदाधिकारी, सामाजिक व्यक्तित्व र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष जीवनलाल श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै भाषा, संस्कृति र परम्पराको संरक्षण समुदायको सामूहिक दायित्व भएको बताउनुभयो। उहाँले आफ्नो भाषा र संस्कृतिलाई गर्वका साथ व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै परम्परागत भोजभतेर, रहनसहन र सांस्कृतिक अभ्यासलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।

स्थानीय तहमा गरिने निवेदन तथा प्रशासनिक कामकाजमा समेत नेपाल भाषा र तामाङ भाषाको प्रयोग बढाउनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीले आफू मात्र परिवर्तन भएर हुँदैन, सँगैको छिमेकीलाई पनि परिवर्तन गर्नुपर्छ। पहिले हामी आफू एक भएर बाँचौँ, त्यसपछि एकता आफैँ बलियो हुँदै जान्छ।” उहाँले आफ्नो भाषा र संस्कृतिको प्रयोग घरपरिवारदेखि समुदायसम्म विस्तार गर्न आग्रह गर्नुभयो।


कार्यक्रममा श्रीराम (श्रीखण्ड) श्रेष्ठले नेपाल संवत् नेवार समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताउनुभयो। जनताले देशकै नामबाट स्थापित गरेको ऐतिहासिक संवत्ले नेपालको गौरव, इतिहास र पहिचान बोकेको उल्लेख गर्दै उहाँले यसको प्रवर्द्धनका लागि सबै नेपालीले हातेमालो गर्नुपर्ने बताउनुभयो।


संस्थाका निवर्तमान अध्यक्ष शंकरमान श्रेष्ठले नेपाल संवत् ११४७ को शुभकामना व्यक्त गर्दै सबैलाई आनन्दमय र सुखद जीवनको कामना गर्नुभयो। उहाँले न्हुँदलाई उत्साहपूर्वक मनाउँदै आफ्नो मौलिक चाडपर्व र संस्कृतिको संरक्षणमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो।


कार्यक्रमको विशेष आकर्षणका रूपमा श्री भक्त जोशीद्वारा लिखित ‘मुना सह’ पुस्तक विमोचन गरिएको थियो। पुस्तकका बारेमा स्वयं लेखक जोशीले प्रकाश पार्नुभएको थियो। उहाँले नेपाल भाषाको ऐतिहासिक, साहित्यिक तथा सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै नेपाल भाषाले नेपालको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न पुर्‍याएको योगदानबारे जानकारी गराउनुभयो।


कार्यक्रमलाई सांस्कृतिक रौनक प्रदान गर्दै स्थानीय बहिनीहरूले तिहारको सन्दर्भ झल्किने स्वागत नृत्य प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतिले कार्यक्रममा थप उत्साह र सांस्कृतिक उल्लास थपेको थियो।


इपाटोल सुधार समितिका अध्यक्ष एलपी श्रेष्ठले नेपाल भाषा कुनै एक समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा सम्पदा भएको उल्लेख गर्नुभयो। उहाँले सबै समुदायका दाजुभाइ तथा दिदीबहिनीलाई आफ्नो मातृभाषा घरपरिवार र समाजमा बोल्ने, लेख्ने तथा व्यवहारमा प्रयोग गर्ने बानी बसाल्न आग्रह गर्नुभयो।


नेपाल भाषालाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न योगदान पुर्‍याएको ऐतिहासिक भाषा भन्दै उहाँले यसको संरक्षणका लागि पहिले घरबाटै सुरुवात गर्नुपर्ने बताउनुभयो। “हामीले आफ्नो भाषा, भेषभूषा, रीतिरिवाज र संस्कृति व्यवहारमा उतार्न सके मात्र यसको संरक्षण सम्भव हुन्छ,” उहाँको भनाइ थियो। उहाँले शुभदीपावली तथा नेपाल संवत् ११४७ को शुभकामना पनि व्यक्त गर्नुभयो।


कार्यक्रममा शंखरापुर नगरपालिका वडा नं. ८ का अध्यक्ष पोटे थिङले नेपाल संवत् ११४७ तथा शुभदीपावलीको शुभकामना व्यक्त गर्नुभयो।

शंखरापुर नगरपालिका वडा नं. ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले आफ्नो जातीय पहिचान, भाषा र संस्कृतिको महत्त्व आफैँले बुझेर संरक्षण गर्नुपर्ने बताउनुभयो। उहाँले भाषा तथा परम्पराको संरक्षणका लागि स्थानीय सरकारसँग संस्थागत रूपमा समन्वय र सहकार्य गर्नुपर्ने उल्लेख गर्दै आर्थिक दृष्टिले पनि यस्ता सांस्कृतिक अभियानलाई निरन्तरता दिन सकिने धारणा राख्नुभयो।


त्यसैगरी नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले नेपाल संवत् ११४७, शुभदीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभयो। उहाँले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा स्थापित गर्न लामो समयदेखि भएका प्रयास सफल भएको उल्लेख गर्दै संघीय सरकारले नेपाल भाषा तथा तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने निर्णय गरे पनि व्यवहारमा पूर्ण कार्यान्वयन हुन नसकेको बताउनुभयो।


आफ्नो जनप्रतिनिधिका रूपमा बितेको करिब १० वर्षको कार्यकालको मूल्याङ्कन गर्दै उहाँले भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि भएका प्रयासलाई व्यवहारमा अझ प्रभावकारी बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।


शंखरापुर नगरपालिकाका निवर्तमान प्रमुख सुवर्ण श्रेष्ठले नेपाल संवत्को ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्दै शंखधर साख्वाले जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुवात गर्नुभएको ऐतिहासिक योगदान स्मरण गर्नुभयो। उहाँले २०४६ सालपछि नेपाल संवत् र राष्ट्रिय विभूति शंखधर साख्वाको पहिचान स्थापित गर्न विभिन्न राजनीतिक दल तथा सामाजिक क्षेत्रबाट भएका प्रयासको चर्चा गर्नुभयो। नेपाल सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिइसकेको अवस्थामा यसको महत्त्व नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने उहाँको भनाइ थियो।


कार्यक्रमका प्रमुख अतिथि शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितले भाषा, रीतिरिवाज, संस्कार, सम्पदा र परम्पराको संरक्षणका लागि नगरपालिका निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो। विगतका आन्दोलनबाट प्राप्त अधिकारको संरक्षण तथा स्थानीय समुदायको भाषा र सांस्कृतिक पहिचान प्रवर्द्धनमा नगरपालिका गम्भीर रहेको उहाँको भनाइ थियो।


नगरपालिकाले स्थानीय भाषा, परम्परा र रीतिरिवाजको संरक्षणका लागि व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले साँखु बजार क्षेत्रमा मौलिक परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीलाई प्रोत्साहनस्वरूप प्रतिघर एक लाख २५ हजार रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो।


भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि नेपाल भाषा तथा तामाङ भाषामा पठनपाठनसमेत सुरु भइसकेको जानकारी दिँदै प्रमुख नापितले स्थानीय मौलिक पहिचान जोगाउने अभियानमा नगरपालिका निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


कार्यक्रमको अन्त्यमा सभाध्यक्ष एवं न्हुँद ११४७ का अध्यक्ष रामेश्वर श्रेष्ठले नगरपालिका, वडा कार्यालय, विभिन्न सङ्घसंस्था, सहकारी संस्था, पुच, टोल सुधार समिति तथा समाजका अगुवाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कार्यक्रममा व्यक्त प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले आगामी कार्तिक २४ गते मनाइने नेपाल संवत् ११४७ को न्हुँद कार्यक्रममा सम्पूर्ण शंखरापुरवासीलाई उत्साहपूर्वक सहभागी हुन आह्वान गर्नुभयो।


नेपाल संवत् ११४७ को स्वागतसँगै सुरु भएको यस कार्यक्रमले साँखुको मौलिक भाषा, संस्कृति, परम्परा र सामुदायिक एकतालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया