साँखु काठमाण्डौंमा सनसनी: आमाकै घरबाट लाखौँ चोरी गर्ने छोरा पक्राउ

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं — शंखरापुर नगरपालिका–७ साँखु काठमाण्डौंमा एक घरबाट करिब १२ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ।
स्थानीय ६० वर्षीया गङ्गा माया देउलाको घरमा शुक्रबार साँझ घर खाली रहेको मौका छोपेर चोरी भएको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार घरबाट सुनका विभिन्न गरगहना तथा नगद रकम चोरी भएको हो।
प्रहरी प्रभाग साँखुका प्रमुख प्रहरी निरीक्षक रमेश थापाका अनुसार घटनापछि तत्कालै अनुसन्धान सुरु गरिएको थियो। “घटनाको प्रकृति हेर्दा योजनाबद्ध रूपमा चोरी भएको देखिन्छ,” उनले भने, “छिमेकी घरहरूमा जडान गरिएका सिसिटिभी क्यामेराको अध्ययनबाट शङ्कास्पद गतिविधि पहिचान गर्न सफल भयौं।”
अनुसन्धानका क्रममा संकलित सिसिटिभी फुटेज तथा अन्य प्रमाणका आधारमा चोरीमा संलग्न व्यक्ति पीडितकै कान्छो छोरा जीवन देउला रहेको खुलेको प्रहरीले जनाएको छ। घटनापछि उनी फरार रहेका थिए तर भोलिपल्ट शनिवार बिहान समातिएका छन्। 
प्रहरीका अनुसार प्रारम्भिक चरणमा गङ्गा माया देउलाले छिमेकीहरूमाथि शंका व्यक्त गर्दा केही समय स्थानीय स्तरमा असहज स्थिति समेत सिर्जना भएको थियो। तर, प्रमाणका आधारमा घटनाको वास्तविकता खुल्दै गएपछि अनुसन्धानले नयाँ मोड लिएको हो।
हाल घटनामा संलग्न जीवन देउलालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
यस घटनाले घर सुरक्षाका उपायहरूलाई अझ सुदृढ बनाउन आवश्यक रहेको स्थानीयवासीले बताएका छन्। प्रहरीले पनि घर खाली छोड्दा सतर्कता अपनाउन र शङ्कास्पद गतिविधिबारे तुरुन्त जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया