शंखरापुर(साँखु), काठमाण्डौं।
नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं. २ अन्तर्गत शंखरापुर नगरपालिका वडा नं. ६ र ७ इकाईको संयुक्त आयोजनामा २०८३ सालको विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्तिक २२ गते आइतबार बिहान शंखरापुर नगरपालिका वडा नं. ६ स्थित ईल्लाटोलमा आयोजित उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ता, पार्टीका शुभेच्छुक, बुद्धिजीवी एवं स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित ब्यक्तित्वहरुले नेपालीहरूको महान् चाडपर्वले समाजमा आपसी सद्भाव, भाइचारा, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए। चाडपर्व केवल धार्मिक तथा सांस्कृतिक उत्सवमा मात्र सीमित नरही सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने र समुदायबीच आत्मीयता बढाउने अवसरसमेत भएको उनीहरूको भनाइ थियो।
सो अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामनासहित विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको थियो।
यसैगरी, नेपाली काङ्ग्रेस शंखरापुर नगरपालिका वडा नं. ९ इकाईको आयोजनामा पनि कार्तिक २१ गते शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भइसकेको छ।
शंखरापुरका विभिन्न वडा इकाईहरूले चाडपर्वको अवसर पारेर आयोजना गरेका यस्ता कार्यक्रमले पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय नागरिकबीचको सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै सामाजिक सद्भाव, संगठनात्मक एकता र आपसी सहकार्यलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
चाडपर्वलाई आपसी भेटघाट, शुभकामना आदानप्रदान र सामाजिक एकताको अवसरका रूपमा उपयोग गर्दै नेपाली काङ्ग्रेसका स्थानीय इकाईहरूले समुदायसँगको सम्बन्धलाई थप जीवन्त बनाउने प्रयास गरेको देखिन्छ।