शालिनदी क्षेत्रमा दोहोरो फायर: लागू औषध कारोबारी र प्रहरीबीच झडप, एक घाइते, एक पक्राउ, दुई फरार

lawanyasandesh.com

साँखु, काठमाडौँ | २०८३ वैशाख ११

शंखरापुर नगरपालिका–५ पालुबारीस्थित शालिनदी मन्दिर माथिको मचा गाल क्षेत्रमा लागू औषध नियन्त्रणका क्रममा प्रहरी र लागू औषध कारोबारीबीच दोहोरो फायर भएको छ। घटनामा एक जना घाइते भएका छन्, एक जना पक्राउ परेका छन् भने दुई जना फरार रहेका छन्।

प्रहरी प्रभाग साँखुका प्रमुख प्रहरी निरीक्षक रमेश थापाका अनुसार लागू औषध ओसारपसारमा संलग्न समूहले पहिले फायर खोलेपछि प्रहरीले जवाफी कारबाहीस्वरूप गोली चलाएको हो। लागू औषध नियन्त्रण ब्युरोको टोलीले प्रहरी निरीक्षक राकेश यादवको नेतृत्वमा सञ्चालन गरेको उक्त अपरेसनका क्रममा प्रहरीले चार राउन्ड गोली प्रहार गरेको थियो।

त्यस क्रममा मकवानपुर घर भई हाल कुपण्डोल बस्दै आएका ३५ वर्षीय जीवन जिम्बा बायाँ खुट्टाको घुँडामुनि गोली लागेर घाइते भएका छन्। उनलाई तत्काल सुष्मा कोइराला मेमोरियल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि ट्रमा सेन्टर वीर हस्पिटल पठाइएको छ।

घटनामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ भोटेचौर घर भएका ३४ वर्षीय वीरबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी हाल प्रहरी प्रभाग साँखुको हिरासतमा रहेता पनि बौद्ध बृत्त पठाउन लागेको जानकारी प्रहरी प्रमुखले बताए।

प्रहरीका अनुसार घटनास्थलबाट लागू औषध कारोबारीहरूले प्रयोग गरेको ९ एमएमको पिस्तोलबाट १  राउन्ड फायर गरिएको प्रमाणसहित एउटा खोका भेटेको तथा तीन थान गोलि बरामद भएको बताए।

घटनास्थलबाट दुई जना संलग्न व्यक्ति फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ। क्षेत्रभर सुरक्षा सतर्कता बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया