साँखु जात्रा : ३३०० वर्ष पुरानो शहर र अनौठा नियमहरूको जीवित परम्परा

lawanyasandesh.com

साँखु, काठमाडौँ— चैत १६ गतेदेखि सुरु हुने साँखु जात्रा केवल धार्मिक उत्सव मात्र नभई प्राचीन इतिहास, सामाजिक अनुशासन र सांस्कृतिक परम्पराको जीवित दर्शन मानिन्छ। करिब ३३०० वर्ष पुरानो मानिने साँखु नगरमा मनाइने यस जात्रामा आजसम्म पनि अनौठा नियमहरू कडाइका साथ पालना गरिन्छन्। जात्राको अवधिभर स्थानीय बासिन्दा तथा सहभागीहरूले परम्परागत मर्यादालाई अत्यन्त महत्वका साथ पालन गर्ने चलन छ।

जात्राका अनौठा नियमहरू

साँखु जात्राको समयमा विभिन्न सामाजिक तथा धार्मिक नियमहरू लागू हुन्छन्। विदेशी छाता ओढ्न नपाइने, छालाको जुत्ता लगाउन नपाइने, असामीसँग ऋण असुल्न नपाइने, घरधुरी बाँड्न नपाइने, खट बाँधेर काम गर्न नपाइने, घोडा–हात्ती चढ्न नहुने, बाजा बजाएर विवाह गर्न नहुने तथा खेतीपाती गर्न नहुने जस्ता नियमहरू कडाइका साथ पालना गरिन्छ। यस अवधिमा मृत्यु संस्कार गर्न परे पनि बाजा बजाएर शव लैजान पाइँदैन र झगडा गर्न समेत निषेध गरिएको हुन्छ। यी नियमहरूले सामाजिक अनुशासन, धार्मिक आस्था र सांस्कृतिक पहिचानको संरक्षण गर्ने उद्देश्य राखेका छन्।

श्री बज्रयोगिनी माताको जात्रा

साँखु जात्रा श्री बज्रयोगिनी माता, शिंघिनी, ब्याघिनी तथा चैत्य (चिभा द्यो:) को जात्रासँग सम्बन्धित छ। चैत्र शुक्ल पूर्णिमाको दिन (क्वाहा: बिज्या) बज्रयोगिनी मन्दिरबाट देवतालाई निकालेर साँखुका आठ टोलमध्ये पालो परेको टोलको सत्तलमा विराजमान गराउने परम्परा छ। धूँल्लाटोल–साल्खाटोल, चलाखुटोल–दुगाहितीटोल, सुनटोल–इपाटोल तथा इल्लाटोल–पुखुलाक्षीटोल गरी चार समूहमा आलोपालो जात्रा सञ्चालन हुन्छ। भगवान राख्ने सत्तल धूँल्लाटोल, चलाखुटोल, सुनटोल र इल्लाटोलमा रहेका छन्। यस वर्ष इल्लाटोलको बहालमा देवी विराजमान गराइँदैछ भने आगामी २०८४ सालमा सुनटोलमा जात्रा सञ्चालन गरिनेछ।

पूर्णिमाको दिन बज्राचार्यहरूले बौद्ध विधिअनुसार पूजा सम्पन्न गरेपछि देशवारहरू बज्रयोगिनी पुगेर देवतालाई रथमा होइन, खटमा राखी बाजागाजासहित पालो परेको टोलमा ल्याइन्छ। महिलाहरूले धूँल्लाटोलबाट लशकुश (शुकुण्डा बाली) गर्दै देवतालाई सत्तलसम्म पुर्‍याउने परम्परा छ। त्यसपछि प्रत्येक घरबाट बत्ती दिने चलन रहिआएको छ।

जात्राको क्रम

पूर्णिमापछि प्रतिपदाको दिन साधारण पूजा गरी साँझ बत्ती दिइन्छ। द्वितीयाको दिन नखः भोज तयार गरी खाने परम्परा छ। तृतीयामा मू: जात्रा गर्दै नगर परिक्रमा गरिन्छ। चौथो दिन बसुन्धरा माजुलाई नगरमा भित्र्याएसँगै मू: जात्रा भव्य रूपमा सञ्चालन हुन्छ, जुन सबैभन्दा आकर्षक दिन मानिन्छ। यस दिन विशेष प्रकारको चटामरीलाई रंगीचंगी बनाइ आकाशमा चराझैँ उडाउने अनौठो परम्परा देखिन्छ। करिब पाँच फिट अग्लो भगवानलाई खटमा राखी नगर परिक्रमा गरिँदा बालबालिका देखि बृद्धसम्मले सजिलै दर्शन गर्न सक्ने उग्रतारा (बज्रयोगिनी) स्वरूप विश्वमै दुर्लभ मानिन्छ।

लामो समयदेखि ओझेलमा परेको “गुर्जु पल्टन” परम्परा पनि पुनर्जीवित गरिएको छ। पहिलो चार दिन देवतालाई सत्तलभित्र राखिन्छ भने मू: जात्रापछि बाहिर सबैले देख्ने गरी राखिन्छ। यसै दिनदेखि सत्ययुगदेखि बाल्दै आएको आगो सम्झेर गोँसी बाल्ने, गुबाजु, झाँक्री तथा वैद्यहरूले साधना गर्ने, दाफा भजन, रामायण भजन तथा लोककथा सुनाउने परम्परा पनि सुरु हुन्छ।


ऐतिहासिक परम्परा

कलिगत १८१८ देखि जात्रा निरन्तर हुँदै आएको विश्वास छ। प्रताप मल्लको निधनपछि नेपाल संवत् ७९३ मा नृपेन्द्र मल्लले जात्रा रोकेका थिए भने कोरोना महामारीका कारण नेपाल संवत् ११४१ मा धूँल्लाटोलको पालोमा दुई पटक मात्र जात्रा रोकिएको इतिहास छ। त्यसबाहेक जात्रा निरन्तर सञ्चालन हुँदै आएको मानिन्छ।

जयप्रकाश मल्लको पालादेखि पृथ्वीनारायण शाहको नाकाबन्दीका कारण राजा उपस्थित हुन नसक्दा राजाको प्रतीकस्वरूप तरवार ल्याएर जात्रा सञ्चालन गरिएको उल्लेख पाइन्छ। त्यसअघि प्रत्येक वर्ष राजा एकादशीदेखि कम्तीमा २१ दिन साँखुमा बस्ने चलन थियो। राजा काठमाडौँ वा भक्तपुरका भए पनि हात्ती–घोडासहित आउने भएकाले व्यवस्थापनका लागि करिब ८० रोपनी जग्गा छुट्याइएको उल्लेख पाइन्छ।

जात्राका थप दिनहरू

पाँचौँ दिन मू:भुज्या, त्यसपछि धुँ भुज्या र सातौँ दिन बौया: मनाइन्छ, जसमा पितृहरूलाई भोजन खुवाउने चलन छ। यस दिन नगरभित्र प्रवेश गर्न पाइने तर बाहिर बास बस्न नपाइने परम्परा रहिआएको छ। आठौँ दिन (था: बिज्या) देवतालाई पुनः बज्रयोगिनी फर्काउन खटमा राखिन्छ। यस क्रममा चिभा द्यो: को खटमा दुई जना र उग्रतारा माईको खटमा चार जना गुबाजु बस्ने चलन छ। धूँल्लाटोलको फिसलमा “बरे कोफ्यँगु” भनिने स्थान पार नगरेसम्म गुर्जुहरू खटमा बसिरहनुपर्ने र त्यसपछि फर्काउन नमिल्ने परम्परा पनि छ।


अर्को दिन देशवारहरूले बाजागाजासहित देवतालाई कोलागालमा लगेर खेलाउने चलन छ, जहाँ हजारौँ भक्तजन उपस्थित हुन्छन्। यही स्थानबाट घुमारिचोक–लप्सेका तामाङ समुदायले खट बोक्ने परम्पराले जातीय सद्भावको उदाहरण प्रस्तुत गर्छ। देवतालाई सुरक्षित रूपमा बज्रयोगिनी पुर्‍याएपछि “राजाको पूजा” र त्यसपछि “रानीको पूजा” सम्पन्न गरिन्छ। देशवारहरूले देवी सकुशल पुगेको जानकारी पाएपछि मात्र वार्षिक जात्रा समापन भएको मानिन्छ।

ऐतिहासिक महत्त्व

साँखुमा आठ वटा ढोका रहेको उल्लेख पाइन्छ, जसमध्ये अहिले पाँच वटा मात्र देखिन्छन्। बाँकी ढोकाहरूको अवशेषले यो शहर प्राचीन शहरको स्वरूपमा रहेको झल्काउँछ। ‘मणिशैल महावदान’ ग्रन्थअनुसार करिब ३३०० वर्षअघि साँखु शहर क्रमिक रूपमा विकसित भएको थियो भने मल्लकालसम्म पुग्दा यहाँ करिब एक हजार घरधुरीको व्यवस्थित शहर बनेको उल्लेख छ।


जीवित इतिहासको अनुभव

साँखु जात्रामा सहभागी हुँदा ढोकाहरू, झाँकीहरू, बाजागाजा, परम्परागत नियम र धार्मिक अनुष्ठानले प्राचीन समयको अनुभूति गराउँछन्। यसरी साँखु जात्रा केवल उत्सव मात्र होइन, इतिहास, संस्कृति र परम्पराको अद्भुत संगम हो, जहाँ ३३०० वर्ष पुरानो शहरको गौरव आज पनि जीवन्त रूपमा देख्न पाइन्छ।

     " स्थानिय ईतिहासबिद् प्रकाश मान सक्को"

प्रतिक्रिया