मुहान क्षेत्रमा संरचना निर्माणविरुद्ध साँखु खानेपानीको कडा चेतावनी : तत्काल हटाउन नगरपालिकालाई ज्ञापनपत्र

lawanyasandesh.com

साँखु, काठमाडौं ।
शंखरापुर नगरपालिका वडा नं. ३ अन्तर्गत जहरसिंहपौवा क्षेत्रमा रहेको खानेपानीको मुख्य मुहान नजिक अनधिकृत रूपमा संरचना निर्माण भइरहेको विषयले थप गम्भीर मोड लिएको छ। साँखु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मुहान क्षेत्रमा भइरहेको निर्माण कार्य तत्काल रोक्न र बनाइएका संरचना हटाउन माग गर्दै आज शंखरापुर नगरपालिकामा औपचारिक ज्ञापनपत्र बुझाएको छ।



समितिले नगर प्रमुखलाई सम्बोधन गर्दै बुझाएको ज्ञापनपत्रमा जहरसिंहपौवा सामुदायिक वन उपभोक्ता समूहले हिलेचौर क्षेत्रमा रहेको खानेपानी मुहान संरक्षण ऐन, प्रचलित नियम तथा स्थानीय सरोकारविपरीत पिकनिक स्थल निर्माण गरिरहेको भन्दै कडा आपत्ति जनाएको छ।


उपभोक्ता समितिका अनुसार उक्त क्षेत्र साँखु आसपासका हजारौ बस्तीका लागि अत्यन्त महत्वपूर्ण जलस्रोत क्षेत्र हो। त्यही स्थानमा भौतिक संरचना निर्माण हुनु प्राकृतिक स्रोत संरक्षण, पानीको गुणस्तर र दीर्घकालीन आपूर्तिका दृष्टिले गम्भीर जोखिमपूर्ण रहेको जनाइएको छ।
पहिलेको आदेश अटेर, निर्माण झन् तीव्र
समितिले ज्ञापनपत्रमा यसअघि शंखरापुर नगरपालिका र सब-डिभिजन वन कार्यालय साँखुले निर्माण कार्य रोक्न पत्राचार गरिसकेको स्मरण गराएको छ। तर सम्बन्धित पक्षले ती आदेशको अवज्ञा गर्दै निर्माण कार्य निरन्तर जारी राखेको आरोप लगाइएको छ।


स्थानीयका अनुसार नगरपालिकाले निर्माण रोक्न आधिकारिक सिफारिस गरिसकेपछि पनि संरचना निर्माण तीव्र गतिमा अघि बढ्नुले प्रशासनिक प्रभावकारिता र निर्णय कार्यान्वयनमाथि प्रश्न खडा गरेको छ।
फलामको पाइप, ट्रस र जस्तापाता जडान
ज्ञापनपत्रमा उल्लेख भएअनुसार मुहान क्षेत्रमा चार वटा फलामका पाइप गाडेर ट्रस निर्माण गरिएको छ भने त्यसमा जस्तापाता राख्ने कामसमेत अगाडि बढाइएको छ। उपभोक्ता समितिले यसलाई “बलपूर्वक गरिएको अतिक्रमण” को संज्ञा दिएको छ।


समितिको भनाइमा खानेपानीको संवेदनशील मुहान क्षेत्रमा यसरी स्थायी संरचना निर्माण हुँदा मानवीय चहलपहल बढ्ने, फोहोरमैला बढ्ने र पानीको शुद्धतामाथि प्रत्यक्ष असर पर्ने सम्भावना उच्च छ।


‘मुहान जोगाउनु पहिलो प्राथमिकता’
साँखु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरूका अनुसार अहिलेको विषय कुनै सामान्य विवाद नभई हजारौं उपभोक्ताको दैनिक जीवनसँग जोडिएको विषय हो। मुहान क्षेत्र सुरक्षित नरहे खानेपानी आपूर्ति नै प्रभावित हुन सक्ने उनीहरूको चेतावनी छ।

पिकनिक स्थलभन्दा पहिले जनताको पानी जोगिनुपर्छ,” स्थानीय उपभोक्ताहरूले बताएका छन्।

अल्टिमेटमसहित चेतावनी
समितिले ज्ञापनपत्रमार्फत निर्माण गरिएका संरचना बिना सर्त तत्काल भत्काउन, गैरकानुनी रूपमा लगिएका पाइप तथा सामग्री हटाउन र मुहान क्षेत्र पूर्ववत् अवस्थामा फर्काउन माग गरेको छ।
यदि सम्बन्धित निकायले बेवास्ता गरेमा उपभोक्ताहरू आफैंले संरचना हटाउने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी नगरपालिका तथा सम्बन्धित निकायले लिनुपर्ने चेतावनीसमेत ज्ञापनपत्रमा दिइएको छ।
नगरपालिकाले भन्यो– कानुनी प्रक्रिया अघि बढ्छ
ज्ञापनपत्र बुझ्दै शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले तथा प्रमुख प्रशासकि प्रमुखले विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्राप्त जानकारीअनुसार नगरपालिकाले मुहान क्षेत्रलाई पूर्ववत् अवस्थामा राख्न आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तथा सम्बन्धित पक्षलाई छलफलका लागि बोलाउने तोक आदेश गरेको छ।

तर स्थानीयवासीहरूले यसअघि पनि रोक आदेश जारी भएर कार्यान्वयन नभएको भन्दै अब व्यवहारमै परिणाम देखिनुपर्ने माग गरेका छन्।
जनविश्वासको परीक्षा


जहरसिंहपौवा क्षेत्रको यो विवाद अब केवल एउटा संरचना निर्माणको मुद्दा मात्र नभई स्थानीय शासन, प्राकृतिक स्रोत संरक्षण, सामुदायिक वनको उपयोग र उपभोक्ताको अधिकारसँग जोडिएको संवेदनशील विषय बनेको छ।
यदि समयमै निष्पक्ष निर्णय, पारदर्शी प्रक्रिया र प्रभावकारी कार्यान्वयन हुन सकेन भने यसले सामाजिक तनाव र जनअविश्वास बढाउने सरोकारवालाहरूको भनाइ छ।



साँखु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जयराम श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा अन्त्यमा सबै पक्षलाई खानेपानी जस्तो संवेदनशील विषयमा खेलबाड नगर्न र प्राकृतिक स्रोत संरक्षणमा जिम्मेवार बन्न आग्रह गरिएको छ।

प्रतिक्रिया