समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

lawanyasandesh.com

साँखु,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका ५७ जना उम्मेदवारहरूको नामावली टुंगो लगाएको छ। आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले निर्वाचन आयोगमा बुझाउने उम्मेदवारहरूको अन्तिम नामावली स्वीकृत गरेको हो।
​पार्टी प्रवक्ता मनिष झाका अनुसार रास्वपाले समावेशी सिद्धान्तलाई प्राथमिकता दिँदै ४८ जना महिला र ९ जना पुरुषको नाम आयोगमा पठाउने निर्णय गरेको छ।



समावेशी समूहको वर्गीकरण
​आयोगमा बुझाइने ५७ जनाको नामावलीमा विभिन्न क्लस्टरहरूलाई यसरी समेटिएको छ:
• ​खसआर्य: १७ जना
• ​आदिवासी जनजाति: १६ जना
• ​मधेसी: ९ जना
• ​दलित: ८ जना
• ​थारू: ४ जना
• ​मुस्लिम: ३ जना
नाम अहिले नै सार्वजनिक नगर्ने
​निर्वाचन आयोगले दलहरूलाई उम्मेदवार सिफारिस गर्न दिएको अन्तिम समयसीमा भित्रै रास्वपाले आफ्नो नामावली बुझाउने तयारी गरेको छ। तर, पार्टीले तत्कालै ती नामहरू सार्वजनिक नगर्ने नीति लिएको छ।
​प्रवक्ता झाले आयोगले नामहरू रूजु र प्रमाणित नगरेसम्म ती नामहरू 'प्रस्तावित' मात्र रहने स्पष्ट पार्नुभयो। "राजनीतिक र कानुनी प्रक्रियाअनुसार जबसम्म निर्वाचन आयोगले नामहरू प्रमाणित गर्दैन, तबसम्म हामी प्रतीक्षा गर्नेछौं। आयोगबाटै आधिकारिक रूपमा नाम सार्वजनिक होस् भन्ने हाम्रो चाहना हो," झाले भन्नुभयो।
​पार्टी कार्यालयका तोकिएका कर्मचारी र सचिवालय सदस्यहरूको नेतृत्वमा आजै आयोग पुगेर नामावली दर्ता गराइने रास्वपाले जनाएको छ।

प्रतिक्रिया