कर प्रणालीबारे शंखरापुरका व्यवसायीलाई सुसूचित गर्दै करदाता शिक्षा कार्यक्रम सम्पन्न शंखरापुर, काठमाण्डौं।

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं।

व्यवसायीहरूलाई करसम्बन्धी विद्यमान कानुन, नीति तथा व्यवहारिक पक्षबारे जानकारी गराउने उद्देश्यले शंखरापुर नगरपालिकाको साँखुमा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ। आन्तरिक राजस्व कार्यालय, जोरपाटीको आयोजना तथा शंखरापुर उद्योग वाणिज्य संघ, साँखुको समन्वयमा आयोजित कार्यक्रममा स्थानीय व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा शंखरापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष विष्णु प्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा शंखरापुर क्षेत्रका करिब ५० जना स्थानीय व्यवसायी तथा करदाता सहभागी भएका थिए।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, जोरपाटीका कर अधिकृत विष्णु बुढाथोकी, सुरज बस्याल तथा लोकराज ढुंगानाले सहजीकरण गर्दै कर प्रणालीका आधारभूत सिद्धान्त, मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, अन्तःशुल्क, व्यवसाय दर्ता, कर विवरण पेस गर्ने प्रक्रिया, डिजिटल भुक्तानी प्रणाली, क्यूआरमार्फत कारोबार, कर छुट, जरिवाना तथा पछिल्लो समय लागू भएका करसम्बन्धी कानुनी व्यवस्थाबारे विस्तृत जानकारी दिनुभएको थियो।

सहजीकरणका क्रममा कर अधिकृतहरूले व्यवसायलाई पारदर्शी, व्यवस्थित र प्रतिस्पर्धी बनाउन कर प्रणालीको पालनालाई अनिवार्य शर्तका रूपमा प्रस्तुत गरेका थिए। उनीहरूले करदाताले समयमै विवरण पेस गर्नुपर्ने, कारोबारको सही अभिलेख राख्नुपर्ने तथा डिजिटल माध्यमबाट हुने कारोबारलाई समेत व्यवस्थित रूपमा लेखाजोखा गर्नुपर्नेमा जोड दिएका थिए।

व्यवसायीका जिज्ञासा र राजस्व कार्यालयको जवाफ

कार्यक्रममा सहभागी व्यवसायीहरूले आफूहरूले भोगिरहेका व्यवहारिक समस्या र जिज्ञासाहरू खुलस्त रूपमा राखेका थिए।

व्यवसायी राजन मानन्धरले अन्तःशुल्क तिरेका चुरोट तथा मदिराजन्य वस्तुहरू एउटै स्थानमा राखेर बिक्री गर्न मिल्ने वा नमिल्नेबारे जिज्ञासा राख्नुभएको थियो। त्यसको जवाफमा सहजीकरण टोलीले प्रचलित कानुनी प्रावधानअनुसार आवश्यक अनुमति तथा कर प्रक्रिया पूरा गरिएको अवस्थामा त्यस्ता वस्तुहरू एउटै व्यवसायिक स्थलबाट बिक्री गर्न सकिने स्पष्ट पारेको जनाएको छ।

त्यसैगरी व्यवसायी सङ्गीता श्रेष्ठ तथा सुर्ज्यबहादुर रञ्जितले बजारमा देखिएको दररेट र वास्तविक खरिद मूल्यबीचको ठूलो अन्तरका कारण व्यवसायीहरू समस्यामा परेको विषय उठाउनुभएको थियो। उहाँहरूले कतिपय अवस्थामा कुनै सामानको वास्तविक खरिद मूल्य ५०० रुपैयाँ भए पनि थोक विक्रेताले १५० रुपैयाँ मात्र उल्लेख भएको बिल उपलब्ध गराउने गरेको गुनासो गर्नुभएको थियो।


यस विषयमा कर अधिकृतहरूले यो समस्या शंखरापुरमा मात्र नभई देशका विभिन्न स्थानमा देखिएको उल्लेख गर्दै सम्बन्धित निकायमा छलफलका लागि विषयवस्तु पठाइने र आवश्यक समन्वय गरिने जानकारी दिएका थिए। सही बिलिङ प्रणाली तथा यथार्थ कारोबार अभिलेखीकरणमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा पनि जोड दिइएको थियो।

त्यस्तै पालुवारीका गणेश दुलालले डेरी व्यवसायको लेखा व्यवस्थापनसम्बन्धी जिज्ञासा राख्नुभएको थियो। जवाफमा कर अधिकृतहरूले दैनिक साना कारोबारका लागि एकमुष्ट भौचर प्रणाली व्यवहारिक हुन सक्ने बताए पनि खरिद खाता र बिक्री खाता अनिवार्य रूपमा राख्नुपर्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारेका थिए।

कार्यक्रममा फुटपाथ व्यवसायबारे समेत प्रश्न उठेको थियो। सहजीकरण टोलीले राज्यले अनुमति नदिएको स्थानमा गरिने फुटपाथ कारोबार कानुनविपरीत हुने तथा त्यस्ता स्थानमा कुनै पनि प्रकारको व्यवसायिक गतिविधि सञ्चालन गर्न नपाइने जानकारी दिएको थियो।


व्यवसायीलाई कर सचेतना आवश्यक : अध्यक्ष श्रेष्ठ

शंखरापुर उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण श्रेष्ठले यस्ता कार्यक्रमले स्थानीय व्यवसायीहरूलाई करसम्बन्धी ज्ञान, शिक्षा तथा व्यवहारिक जानकारी प्रदान गर्ने भएकाले अत्यन्तै उपयोगी भएको बताउनुभयो।

उहाँले शंखरापुरका व्यवसायीहरूलाई कर प्रणालीबारे अझ बढी सचेत र जिम्मेवार बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै व्यवसायी र राजस्व प्रशासनबीचको दूरी कम गर्न पनि यस्ता अन्तरक्रियाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

अनुगमनअघि सचेत हुन व्यवसायीलाई आग्रह

कार्यक्रममा काठमाण्डौं ट्याक्स हब प्रालिका सञ्चालक विक्रम श्रेष्ठले शंखरापुर नगरपालिकाभित्र ८५० भन्दा बढी व्यवसाय सञ्चालनमा रहे पनि कार्यक्रममा करिब ५० जनाको मात्र उपस्थिति हुनु चिन्ताको विषय भएको टिप्पणी गर्नुभयो।

उहाँले पछिल्लो समय कर प्रशासनले डिजिटल कारोबार, क्यूआर भुक्तानी तथा कर विवरणको पारदर्शितामा विशेष ध्यान दिइरहेको उल्लेख गर्दै व्यवसायीहरूले आफूले पेश गरेको विवरण र वास्तविक कारोबारबीच समानता कायम गर्नुपर्ने बताउनुभयो।

“क्यूआर (QR )मार्फत कारोबार गर्ने तर विवरण पेस गर्दा वास्तविक कारोबार नदेखाउने प्रवृत्तिले व्यवसायीहरूलाई अनुगमनका बेला ठूलो समस्या पर्ने गरेको छ,” उहाँले भन्नुभयो, “पछिल्लो समय विवरण नमिल्दा जरिवाना, व्यवसाय बन्दसम्मका अवस्था सिर्जना हुने गरेका छन्। त्यसैले अहिले नै सचेत हुन आवश्यक छ।”


आजका प्रमुख अतिथि विष्णु प्रसाद श्रेष्ठले करदाता शिक्षाको अभावमा कर नतिर्नेहरूलाई सर्वप्रथम करसम्बन्धी तालिम प्रदान गरी सचेत गराउनुपर्ने र त्यसपश्चात् पनि अटेर गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, आन्तरिक राजस्व कार्यालयले आयकर र अन्तशुल्कको अनुगमन गर्ने भएकाले खाद्य सामग्रीको हकमा मूल्य र उपभोग्य मिति स्पष्ट रूपमा उल्लेख गरी टाँस्नुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।"

कर संस्कृति विकासमा सहयोग पुग्ने अपेक्षा

कार्यक्रममा सहभागी व्यवसायीहरूले प्रत्यक्ष रूपमा कर अधिकृतहरूसँग अन्तरक्रिया गर्न पाउँदा आफ्ना जिज्ञासाको समाधान भएको प्रतिक्रिया दिएका थिए। स्थानीय तह, राजस्व प्रशासन र निजी क्षेत्रबीचको सहकार्यमा सञ्चालन गरिएका यस्ता कार्यक्रमले करदातामा कर संस्कृतिको विकास, राजस्व प्रणालीप्रति विश्वास अभिवृद्धि तथा व्यवसायलाई कानुनी दायराभित्र व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

शंखरापुर क्षेत्रमा व्यवसायको विस्तारसँगै करसम्बन्धी सचेतना पनि बढ्दै गएको अवस्थामा यस्ता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमले स्थानीय व्यवसायीलाई नयाँ कानुनी व्यवस्था, डिजिटल कर प्रणाली र पारदर्शी व्यवसाय सञ्चालनका विषयमा थप सुसूचित बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया