प्रधानमन्त्री बालेन शाहद्वारा सचिवहरूलाई छोटो निर्देशन: ‘मन्त्रीको निर्देशन अनुसार काम गर्नुस्, नसके मार्गप्रशस्त गर्नुहोस्’

lawanyasandesh.com

साँखु,काठमाडौं, शुक्रबार । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सिंहदरबारमा सचिवहरूलाई बोलाएर सरकारको गति र मर्मअनुसार काम गर्न निर्देशन दिएका छन्। शपथपछि आयोजित छोटो बैठकमा प्रधानमन्त्री शाहले मन्त्रीहरूले दिएको निर्देशनअनुसार काम गर्न र काममा ढिलाइ हुने अवस्था आए मार्गप्रशस्त गर्नसमेत आग्रह गरेका हुन्।
विभिन्न मन्त्रालयका तीन जना सचिवसँग गरिएको कुराकानीअनुसार प्रधानमन्त्री शाहले सचिवहरूलाई सरकारको “स्पिड” र “स्पिरिट” कायम राखेर परिणाममुखी ढंगले काम गर्न जोड दिएका थिए। कामको गति कायम राख्न नसक्ने अवस्था भए पद छाडेर मार्गप्रशस्त गर्न सकिने उनको भनाइ रहेको ती सचिवहरूले बताए।
प्रधानमन्त्री शाहले “नागरिक सर्वोच्चता” कायम गर्नुपर्नेमा जोड दिँदै निजामती प्रशासनको प्रमुख दायित्व जनतालाई सेवा दिने भएको उल्लेख गरेका थिए। सरकारको निर्देशनअनुसार प्रभावकारी ढंगले काम गर्दै परिणाम दिनुपर्नेमा उनले जोड दिएका छन्।
एक सचिवका अनुसार प्रधानमन्त्री शाहले नियम–कानुन देखाएर कामबाट पन्छिने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएका थिए। “नियम-कानुन देखाएर पन्छिने काम नगर्नु, मन्त्रीहरूलाई पढाउने काम नगर्नु, तपाईंहरूको काम डेलिभरी दिने हो,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती सचिवले बताए।
अर्का सचिवका अनुसार प्रधानमन्त्री शाहले मन्त्रीहरूले दिएका काम कार्यान्वयन गर्ने क्रममा समस्या देखिए समाधान खोज्न आग्रह गरेका थिए। “किन मिल्दैन भनेर तर्क नगर्नु, कसरी मिल्छ भन्ने उपाय खोज्नु,” प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै ती सचिवले बताए।
प्रधानमन्त्रीसँगको उक्त बैठक निकै छोटो समयको रहेको र सचिवहरूबाट धारणा राख्ने अवसरसमेत नदिइएको स्रोतहरूले बताएका छन्। “प्रधानमन्त्रीसँग भएका मिटिङमध्ये अहिलेसम्मकै छोटो यही हो, उहाँले आफ्नो कुरा राख्नुभयो, अरूले खासै केही भन्नुभएन,” एक सचिवले भने।
यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधारका १०० बुँदे कार्यसूची सार्वजनिक गरिसकेको छ। उक्त कार्यसूचीमा ७ दिनदेखि १,००० दिनसम्मका लक्ष्य निर्धारण गरिएको छ। प्रधानमन्त्री शाहको सचिवहरूसँगको निर्देशन पनि सोही कार्यसूची कार्यान्वयनलाई लक्षित रहेको बुझिएको छ।

प्रतिक्रिया