साँखु–काठमाडौँमा चुनावी प्रचार औपचारिक रूपमा सुरु, आचारसंहिता पालना गर्न आयोगको कडा निर्देशन

lawanyasandesh.com

साँखु, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजबाट औपचारिक चुनावी प्रचार–प्रसारको अवधि सुरु भएको छ। निर्वाचन तालिकाअनुसार मतदान मितिभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा लगायत कार्यक्रम गर्न र सञ्चारमाध्यममार्फत चुनावसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न पाइने व्यवस्था लागू भएको हो।

यसै प्रावधानअनुसार राजनीतिक दल तथा उम्मेदवारहरूले आजदेखि फागुन १८ गते राति १२ बजेसम्म प्रचार गतिविधि सञ्चालन गर्न पाउनेछन्। तोकिएको समयसीमाभित्र रहेर मात्र मतदातासँग मत माग्ने, कार्यक्रम गर्ने र प्रचार सामग्री सार्वजनिक गर्ने अधिकार रहनेछ।

निर्वाचन आयोग नेपाल ले निर्वाचनको निष्पक्षता र मर्यादा कायम राख्न आचारसंहिताको पूर्ण पालना गर्न सबै दल, उम्मेदवार र सरोकारवालालाई आग्रह गरेको छ। आयोगले आचारसंहिता कार्यान्वयन र अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिरहेको जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले आचारसंहिता उल्लङ्घनप्रति आयोगले शून्य सहनशीलताको नीति अवलम्बन गरेको स्पष्ट पार्दै नियमविपरीत गतिविधि भएमा स्पष्टीकरण सोधिने र आवश्यक परे कानुनी कारबाही अघि बढाइने जानकारी दिनुभयो। उल्लङ्घनको प्रकृति हेरेर सचेत गराउने, जरिवाना गर्ने वा उम्मेदवारी नै खारेजसम्म गर्न सकिने कानुनी व्यवस्था रहेको बताइएको छ।

दल तथा उम्मेदवारहरूले तोकिएको मापदण्डभित्र रही पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममा विज्ञापनमार्फत प्रचार गर्न सक्नेछन्। साथै आमसभा वा कोणसभा आयोजना गर्दा मञ्च व्यवस्थापन र अन्य तयारीमा भएको खर्चको विवरण सम्बन्धित उम्मेदवारले स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ।

निर्वाचन अवधिभर सामाजिक सञ्जाल तथा अनलाइन माध्यम प्रयोग गर्दा मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति वा संगठित रूपमा भ्रम फैलाउने गतिविधि नगर्न पनि आयोगले चेतावनी दिएको छ।

प्रतिक्रिया