नवौं विश्व नेवा: दिवसको अवसरमा शंखरापुरमा साहित्यकार सम्मान, नेवा संस्कृति संरक्षणमा जोड

lawanyasandesh.com

साँखु, काठमाडौँ । नवौं विश्व नेवा दिवस (हलि नेवा दिन) को अवसरमा शंखरापुर नगरपालिकाले नेवा भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका साहित्यकारहरूलाई सम्मान गरेको छ। शनिबार बिहान साँखुस्थित भक्ती ब्याम्बो कटेज एण्ड पार्टी प्यालेस, महादेवस्थानमा आयोजित कार्यक्रममा नगरप्रमुख रमेश नापितले सम्मान–पत्र प्रदान गर्दै नेवा समुदायको मौलिक भाषा, कला र परम्परा संरक्षणमा साहित्यकारहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले स्थानीय तहबाट संस्कृति जोगाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै लोपोन्मुख परम्परा, भाषा र संस्कृतिलाई जोगाउन नगरपालिकाले आवश्यक पहल गर्ने बताए।

कार्यक्रममा रामेश्वर श्रेष्ठ, जीवनलाल श्रेष्ठ, श्रीभक्त श्रेष्ठ, महन्तलाल मल्ल, बालचन्द्र श्रेष्ठ, प्रकाशमान सक्को, प्रबिनराज श्रेष्ठ तथा रन्जन श्रेष्ठलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूले नेवा भाषा, साहित्य र सांस्कृतिक पहिचानको संरक्षणमा दीर्घकालीन योगदान पुर्‍याउँदै आएको आयोजक कमितिले  जनाएको छ।

कार्यक्रमको स्वागत मन्तव्य राख्दै वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले भाषा, कला, साहित्य तथा सांस्कृतिक परम्परालाई विश्वभर परिचित गराउने उद्देश्यले संस्था स्थापना गरिएको उल्लेख गर्दै यस क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको बताए। उनले आर्थिक अभाव र पुस्तान्तरणको कमीका कारण लोप हुने अवस्थामा पुगेका परम्परालाई जोगाउन जनप्रतिनिधिहरूको भूमिका आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा अनु मानन्धर तथा शुभद्रा शाखकर्मीले खादा तथा मालाद्वारा अतिथिहरूको स्वागत गरेका थिए।

शंखरापुर वडा नं २ का वडा अध्यक्ष रन बहादुर तामाङ्गले  मन्तव्य व्यक्त गर्दै ‘धुँ’ (शंख) शब्दको सांस्कृतिक अर्थबारे चर्चा गरे। उनले नेवार लगायत आदिवासी समुदायबीच गुठीका नाममा एकता कमजोर बनाइने प्रवृत्ति देखिएको भन्दै सांस्कृतिक एकता मजबुत बनाउन आवश्यक रहेको बताए।
हलि नेवा दबुबाट वरिष्ठ उपाध्यक्ष राधेश्याम त्वानाबासुलेले सम्मान कार्यक्रमले नेवा समुदायको मौलिक परम्परा, कला र संस्कृतिको संरक्षणमा सकारात्मक सन्देश दिएको बताए।

सम्मानित साहित्यकार जीवनलाल श्रेष्ठले नेवाको आफ्नै परम्परा, संस्कृति र कला विश्वभर फैलिएको भए पनि आफ्नो सम्पदाको संरक्षणमा निरन्तरता आवश्यक रहेको उल्लेख गर्दै नगरपालिकाले सुरु गरेको सम्मान परम्परा हरेक वर्ष निरन्तर हुनुपर्ने धारणा राखे।

कार्यक्रममा सम्मानित साहित्यकार प्रबिनराज श्रेष्ठले दुई महत्वपूर्ण पुस्तक नगरपालिकालाई हस्तान्तरण गरे। ‘साँखु’ शीर्षकको पुस्तकले शंखरापुरको ऐतिहासिक पुरातात्विक महत्व प्रस्तुत गरेको उल्लेख गर्दै उक्त पुस्तकको नेपाली अनुवाद संस्करण प्रकाशन गर्न उनले आग्रह गरे। साथै विदेशी अनुसन्धानकर्ता जेसिकाद्वारा प्रकाशित ‘स्वथानि’ सम्बन्धी पुस्तकलाई पनि नेपालीमा अनुवाद गरिनुपर्ने उद्देश्यले हस्तान्तरण गरिएको उनले बताए।

नगरपालिका उपप्रमुख समिता श्रेष्ठले विश्वभर रहेका नेवा समुदायले करिब ३५ राष्ट्रमा विभिन्न कार्यक्रम गरी विश्व नेवा दिवस मनाइरहेको जानकारी दिँदै नेवा पहिचान जोगाउन पोशाक, भाषा र बाजागाजाको संरक्षण आवश्यक रहेको बताइन्। उनले आर्थिक समस्या भए नगरपालिकाले संरक्षणसम्बन्धी नीति ल्याएर सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

कार्यक्रमको समापन गर्दै नगरप्रमुख रमेश नापितले नेवा महाकवि गिरिजा प्रसाद जोशीको “दोकचा ल्याहा ल्याहा वैइ” कृति आफूले अध्ययन गरेको उल्लेख गर्दै नेवा साहित्यले सांस्कृतिक चेतना जगाउने काम गरेको बताए। उनले जात्रा तथा सांस्कृतिक गतिविधिलाई नगरपालिकाले आर्थिक सहयोग गर्दै प्रवर्द्धन गरिरहेको पनि बताए।
कार्यक्रममा वडा नं. ६ र २ का वडा अध्यक्ष, नेवा भाषा तथा संस्कृति संरक्षणमा क्रियाशील संघ–संस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, साहित्यकार तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नेवा संस्कृति संरक्षणका लागि पुस्तान्तरण आवश्यक रहेको, भाषा–साहित्यलाई विद्यालय तथा समुदायस्तरमा प्रवर्द्धन गर्नुपर्ने धारणा राखेका थिए।

नगरपालिकाका अनुसार विश्व नेवा दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमले स्थानीय पहिचान जोगाउने अभियानलाई थप बल मिल्ने विश्वास लिइएको छ। नेवा समुदायको मौलिक कला, संस्कृति, भाषा र साहित्यलाई पुस्तौँदेखि पुस्तामा हस्तान्तरण गर्दै लैजान यस्ता सम्मान तथा प्रेरणामूलक कार्यक्रम आवश्यक रहेको वक्ताहरूले जोड दिएका थिए। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

प्रतिक्रिया