शंखरापुर,काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको साधारण सदस्यबाट निष्कासित तथा कारबाही प्रक्रियामा रहेका व्यक्तिहरूलाई पार्टीका कुनै पनि निकायमा समावेश नगर्न र पार्टीद्वारा आयोजित कार्यक्रम तथा गतिविधिमा सहभागी नगराउन निर्देशन दिएको छ।
राप्रपाको केन्द्रीय कार्यालय, धुम्बाराहीबाट जारी पत्रमार्फत काठमाडौं, चितवन, दोलखा र धादिङका जिल्ला कार्यसमितिलाई यस्तो निर्देशन दिइएको हो। पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङको हस्ताक्षर रहेको पत्रमा कारबाहीमा परेका तथा कारबाही प्रक्रियामा रहेका व्यक्तिहरूलाई पार्टीका कुनै पनि निकायमा समावेश नगर्न र पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागिता नगराउन अनुरोध गरिएको छ।
पत्रअनुसार पार्टीको साधारण सदस्यबाट निष्कासनमा परेका व्यक्तिहरूमा काठमाडौंका उद्धव थापा, राजेन्द्र प्रजापती र राजु विष्ट तथा चितवनका गिरबहादुर तामाङ रहेका छन्।
त्यसैगरी कारबाही प्रक्रियामा रहेका व्यक्तिहरूमा दोलखाकी मोनिका श्रेष्ठ, काठमाडौंका नुरज वज्राचार्य र धादिङका डम्बर तामाङ रहेको पत्रमा उल्लेख छ।
राप्रपाले उक्त निर्देशनको बोधार्थ केन्द्रीय निर्वाचन समितिसहित काठमाडौं, चितवन, दोलखा र धादिङका जिल्ला निर्वाचन समितिलाई समेत पठाएको छ। यसबाट पार्टीका आगामी सांगठनिक तथा निर्वाचनसम्बन्धी गतिविधिमा कारबाहीमा परेका व्यक्तिहरूको सहभागितालाई समेत रोक्ने पार्टीको नीति स्पष्ट भएको छ।