त्रिशूली बाढीमा दक्षिणकालीका १२ भन्दा बढि नगरबासी सम्पर्कविहीन

lawanyasandesh.com

शंखरापुर, काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला गोसाइँकुण्ड जाने क्रममा दक्षिणकाली नगरपालिकाका स्कोर्पियो चालक मुरारीसहित १० जना नगरबासी सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी वडा अध्यक्ष श्यामबहादुर खत्रीले दिनु भएको छ ।


दक्षिणकाली नगरपालिका–१ का क्रिस सा र आर्यन पाण्डेसमेत सम्पर्कविहीन रहेको जानकारी नगर उपप्रमुख बसन्ती डंगोल तामाङले दिनुभएको छ। यद्यपि बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क अवरुद्ध तथा विवरण संकलनको काम जारी रहेकाले सम्पर्कविहीन भएका व्यक्तिको यकिन संख्या र पूर्ण विवरण अझै पुष्टि भइसकेको छैन।

भाद्र १२ गते गोसाइँकुण्डमा लाग्ने मेला भर्न दक्षिणकाली क्षेत्रबाट केही नगरबासी भाद्र १० गते बिहानै त्यसतर्फ प्रस्थान गरेका थिए। प्रारम्भिक विवरणअनुसार उनीहरू स्कोर्पियो गाडी रिजर्भ गरी गोसाइँकुण्डतर्फ गएको र उक्त गाडी मुरारी नाम गरेका चालकले चलाएको बुझिएको छ। उनीहरू त्रिशूली क्षेत्र पुगेपछि सम्पर्कविहीन भएको बताइएको छ।

सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतको नेतृत्वमा नौ सदस्यीय टोली नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेक पुगेको छ। नगरपालिकाले भाद्र १० गते नै आवश्यक निर्णय गरी खोजी तथा उद्धारका लागि पहल थालेको र टोली भाद्र ११ गते बिहान बट्टार पुगेको जनाएको छ।

नगर प्रमुख बस्नेत नेतृत्वको टोलीले नेपाली सेना, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी सम्पर्कविहीन नगरबासीको खोजी तथा सम्भावित उद्धारका लागि आवश्यक पहल गरिरहेको छ। हालसम्म उनीहरू सवार भनिएको स्कोर्पियो गाडी वा यात्रुका सम्बन्धमा कुनै निश्चित सुराक फेला नपरेको जनाइएको छ।

यसैबीच, वडा अध्यक्ष श्यामबहादुर खत्री र उपप्रमुख बसन्ती डंगोल तामाङले नगरभित्रका अन्य नागरिकसमेत उक्त विपद परेको हुन सक्ने भएकाले सबै वडाबाट विवरण संकलन तथा खोजी कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको छ।

नगरपालिकाले सम्पर्कविहीन व्यक्तिको संख्या तथा पहिचान अझै यकिन भइनसकेको स्पष्ट पार्दै दक्षिणकाली नगरपालिकाभित्रका कुनै नागरिक बाढीका कारण सम्पर्कविहीन भएको, गोसाइँकुण्ड वा अन्यत्र जाने क्रममा हराएको अथवा आफन्तसँग सम्पर्क हुन नसकेको जानकारी भए तत्काल नगरपालिका वा सम्बन्धित वडा कार्यालयमा खबर गर्न अनुरोध गरेको छ।

नगरपालिकाले खोजी तथा उद्धार कार्यमा समन्वयका लागि वडा अध्यक्ष तथा प्रवक्ता अमृका बलामी (९८५१०१८४३४), सूचना अधिकारी गिरीराज खनाल (९८५११९६३८७) र नगर प्रहरी प्रमुख आशिष पुडासैनी (९८६०४४४७३७) लाई सम्पर्क गर्न सकिने जनाएको छ।

रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत त्रिशूली नदी तटीय क्षेत्रमा गम्भीर असर पु¥याएको छ। बाढीका कारण सडक तथा सञ्चार सम्पर्क प्रभावित हुनुका साथै नदी आसपासका बस्तीमा त्रास बढेको छ।

विपद्को यस कठिन घडीमा दक्षिणकाली नगरपालिकाले आफ्ना नागरिकको खोजी तथा उद्धारलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। नेपाली सेना, स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीचको समन्वयमा खोजी कार्यलाई निरन्तरता दिइएको छ।

नगरपालिकाले दक्षिणकालीका कुनै पनि नागरिक बाढीमा परेका वा सम्पर्कविहीन भएको जानकारी भए तत्काल खबर गर्न आग्रह गरेको छ। प्राप्त सूचनाले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया