शंखरापुर–साँखुमा नेवारी परम्पराअनुसार भव्य होली बाजागाजा, स्वःपूजा र शहर परिक्रमा गर्दै सामूहिक उल्लास

lawanyasandesh.com

साँखु, काठमाडौँ । राजधानीको उत्तर–पूर्वी भेगमा अवस्थित ऐतिहासिक नगर साँखुमा यस वर्ष पनि नेवारी परम्पराअनुसार विशेष ढंगले होली पर्व मनाइएको छ। देशका अन्य स्थानमा रङ खेल्दै मात्र होली मनाउने चलन रहे पनि साँखुमा भने धार्मिक विधि, बाजागाजा, भजन–कीर्तन र सामूहिक रुपमा शहर परिक्रमा समेत गरि मौलिक शैलीमा पर्व मनाउने प्रचलन रहेको छ। 
सोमबार साँखु शहर वरपर रहेका चुगाँ, पालुवारि, फेदी तथा जहरसिंह पौवामा रहेका आसपासका टोलबासीहरू एकत्रित भई  चोकचोकमा निस्कि  पूजाआजा गर्दै एक–आपसमा रङ दलेर खुसीयाली साटासाट गरेका थिए। बसन्त ऋतुको आगमनसँगै हरियाली छाउने र रंगीचङ्गी फूलहरू फुल्ने विश्वासका कारण फागुको दिनलाई नेवारी समुदायले विशेष महत्व दिने गर्दछन्। यस अवसरमा स्वःपूजा अर्थात् सरस्वती पूजा गरी आध्यात्मिक शुद्धिकरणसहित होली मनाउने परम्परा यहाँ अझै जीवित छ।




न्हुँद समारोह समितिको सामूहिक यात्रा

साँखुमा सामूहिक रूपमा न्हुँद समारोह समितिको अगुवाइमा सुन्टोलबाट सुरु भएको होली यात्रा आठ वटा टोल परिक्रमा गर्दै सम्पन्न भएको थियो। स्थानीय युवा–युवती, ज्येष्ठ नागरिक र बालबालिकाको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले एक–आपसमा रङ लगाउँदै, शुभकामना आदानप्रदान गर्दै नगर परिक्रमा गरेका थिए।


धुँल्लाटोलबाट पनि सामुहिक टोलवासिहरुको गुठिको तर्फबाट नास द्यो (नाट्यश्वर महादेव) को पूजा सम्पन्न गरी भजन–कीर्तनसहित शहर परिक्रमा गरेका थिए। धार्मिक आस्था र सांस्कृतिक मौलिकताको समिश्रणले साँखुको होलीलाई थप आकर्षक बनाएको देखिन्थ्यो।

साल्खाटोलको मौलिक भजन मण्डलि

त्यसैगरी साल्खाटोलबासीहरू रामपुर (रामझुपडी) बाट आफ्ना मौलिक बाजागाजासहित भजन गाउँदै निस्किएका थिए। उनीहरूले साँखु शहर परिक्रमा गर्दै एक–आपसमा रङ लगाई हर्षोल्लासका साथ पर्व मनाएका थिए। अन्ततः उनीहरूको यात्रा साँखुको ऐतिहासिक मन्दिर ज्योतिर्लिङ्गेश्वर पुगेर समापन भएको थियो।
धिमे बाजाको उत्साह
महादेवस्थानमा सक्रिय ज्योतिर्लिङ्गेश्वर तथा तब निभा पुच धिमे बाजा खल ले विगत ८–१० वर्षदेखि टोल–टोलका युवा–युवतीलाई एकत्रित गरी सामूहिक रूपमा होली मनाउने अभियानलाई निरन्तरता दिँदै आएको छ। यस वर्ष पनि सो खलले बाजागाजासहित ज्योतिर्लिङ्गेश्वर  प्राङ्गणमा सांस्कृतिक एकता र भाइचाराको सन्देश प्रवाह गरेका थिए।

परम्परा र एकताको सन्देश

साँखुको होली केवल रङ खेल्ने पर्व मात्र नभई सांस्कृतिक पहिचान, धार्मिक आस्था र सामुदायिक एकताको प्रतीकका रूपमा स्थापित हुँदै आएको छ। आधुनिकता र व्यस्त जीवनशैलीका बीच पनि स्थानीय बासिन्दाले मौलिक परम्परालाई जगेर्ना गर्दै पुस्तान्तरण गरिरहनु साँखुको सांस्कृतिक समृद्धिको उदाहरण बनेको छ।
यसरी नेवारी परम्पराअनुसार मनाइएको साँखुको होलीले धार्मिक श्रद्धा, सांस्कृतिक मौलिकता र सामूहिक सद्भावको अनुपम दृश्य प्रस्तुत गरेको छ।

प्रतिक्रिया