काठमाडौँ क्षेत्र नं. २ को निर्वाचन परिणामपछि उम्मेदवार कविर शर्माद्वारा मतदाताप्रति आभार

lawanyasandesh.com

साँखु काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नं. २ मा नेपाली काँग्रेसका उम्मेदवार कविर शर्माले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताप्रति हार्दिक आभार व्यक्त गरेका छन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि उनले एक वक्तव्य जारी गर्दै आफूलाई विश्वास गरेर मतदान गर्ने आदरणीय मतदाता, चुनावी अभियानमा अहोरात्र खट्ने पार्टीका साथीहरू, आफन्तजन तथा शुभेच्छुकहरू सबैप्रति कृतज्ञता प्रकट गरेका हुन्।

शर्माले जारी गरेको सन्देशमा भनेका छन्, “सर्वप्रथम मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पूर्ण आदरणीय मतदाता महानुभावहरू प्रति हार्दिक आभार व्यक्त गर्दछु। निर्वाचनको दौरान दिनरात खटेर मलाई सहयोग गर्नुहुने पार्टीका सम्पूर्ण साथीहरू, आफन्तजन तथा शुभेच्छुकहरूप्रति म ऋणी छु।”

उनले चुनावी परिणाम आफूहरूले अपेक्षा गरेअनुसार नआए पनि लोकतन्त्रको अभ्यास सुदृढ भएकोमा खुसी व्यक्त गरेका छन्। लोकतान्त्रिक प्रणालीमा हार–जीतलाई स्वाभाविक प्रक्रियाको रूपमा स्वीकार गर्दै उनले काठमाडौं क्षेत्र नं. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुनिल केसीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।




शर्माले नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गरेर आफूहरूप्रति विश्वास प्रकट गर्ने मतदाताहरूको मतलाई अत्यन्त मूल्यवान् ठानेका छन्। “हाम्रो आग्रहलाई स्वीकार गर्दै तपाईंहरूले नेपाली काँग्रेसको रुख चिन्हमा व्यक्त गर्नुभएको अमूल्य मतप्रति हामी हार्दिक कृतज्ञता प्रकट गर्दछौँ। यसले हामीलाई अझ जिम्मेवार, प्रतिबद्ध र जनताको सेवामा समर्पित भएर काम गर्न प्रेरित गरेको छ,” उनले उल्लेख गरेका छन्।

उनका अनुसार निर्वाचन लोकतन्त्रको सुन्दर अभ्यास हो जहाँ जनताको निर्णय नै अन्तिम र सर्वोपरि हुन्छ। यसपटक आफूहरू उपविजेतामा सीमित भए पनि मतदाताले देखाएको विश्वास, समर्थन र सद्भाव आफ्नो लागि सबैभन्दा ठूलो शक्ति र पूँजी भएको उनले बताएका छन्।


शर्माले निर्वाचन परिणामले मतदाता र नेताबीचको सम्बन्ध समाप्त नहुने स्पष्ट पार्दै जनताको सेवा गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। “निर्वाचन जित्न नसकेको मात्रले जनताको सेवा गर्ने हाम्रो दायित्व समाप्त हुँदैन। बरु यो समय जनतासँग अझ नजिक भएर काम गर्ने, जनताका आवाज सुन्ने र आवश्यकताहरूलाई सम्बोधन गर्ने अवसरको रूपमा लिएका छौँ,” उनले भने।

निर्वाचन अभियानका क्रममा सहयोग, साथ र समर्थन दिने सम्पूर्ण मतदाता, सहयोगी, शुभेच्छुक तथा युवाप्रति धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा पनि जनताको सुख–दुःखमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

“निर्वाचनको परिणाम जस्तो भए पनि हामी सधैं तपाईंहरूको बीचमै रहनेछौँ, तपाईंहरूको हरेक सुख–दुःखमा साथ दिनेछौँ र जनताको विश्वासलाई सम्मान गर्दै निरन्तर सेवा गरिरहनेछौँ,” उनले भने।

अन्त्यमा उनले लोकतन्त्रप्रति आस्था राख्ने सम्पूर्ण नागरिकप्रति सम्मान व्यक्त गर्दै पुनः धन्यवाद प्रकट गरेका छन्।

प्रतिक्रिया