साँखु, काठमाडौँ । काठमाडौँ जिल्लाको शंखरापुर नगरपालिका वडा नं. १
नाङ्लेभारेस्थित सामुदायिक वन क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीयका अनुसार हिजो बिहान करिब ११:०० बजेतिर नाङ्लेभारे प्रहरी चौकी नजिकै पानी ट्यांकीमुनिको खोल्चा क्षेत्रमा अन्दाजी ४०–४२ वर्ष उमेरका एक पुरुषको शव भेटिएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी अन्तर्गत नाङ्लेभारे प्रहरी चौकी तथा साँखु प्रहरी वृत्त बाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले शवको मुचुल्का उठाएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीका अनुसार मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको र मृत्युको कारण पत्ता लगाउन थप प्रक्रिया अघि बढाइएको बताइएको छ।
घटनाबारे जानकारी दिँदै प्रहरी निरीक्षक रमेश थापा ले मृत व्यक्तिको पहिचान खुलाउन स्थानीय तथा सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेका छन्। यदि कसैले उक्त व्यक्तिलाई चिन्नु भएको भए नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपतकालीन नम्बर १०० मा जानकारी दिन अनुरोध गरिएको छ। साथै ९८५१२८३००५ नम्बरमा समेत सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।
प्रहरीले मृतकको पहिचान र घटनाको वास्तविक कारण पत्ता लगाउन सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएको छ। स्थानीयवासीले पनि मृत व्यक्तिको पहिचान खुलाउन सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत जानकारी साझा गरिरहेका छन्।
यदि कसैले मृतकलाई चिन्नुहुन्छ भने उहाँको परिवारजन वा आफन्तसम्म सूचना पुर्याउन सहयोग गर्न स्थानीयले आग्रह गरेका छन्।