आस्था र संस्कृतिको सङ्गम: साँखुमा बज्रयोगिनी जात्राको भव्य तयारी

lawanyasandesh.com

साँखु (शंखरापुर), काठमाडौँ
काठमाडौँ उपत्यकाको उत्तर-पूर्वी कुनामा अवस्थित ऐतिहासिक एवं पुरातात्विक नगर साँखु अहिले उत्सवको पर्खाइमा छ। शंख आकारको यो प्राचीन सहर यतिबेला आफ्नो सबैभन्दा ठूलो सांस्कृतिक उत्सव


श्री बज्रयोगिनी (म्हासुख्वामाजु) जात्रा २०८२ को स्वागतका लागि सजावट र तयारीमा व्यस्त छ।
​बौद्ध र हिन्दु धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र मानिने यो जात्रा केवल एउटा पर्व मात्र नभई साँखुबासीको गौरवशाली इतिहास र जीवित सभ्यताको ऐना पनि हो।



इतिहासको विरासत: कलिगत संवतदेखि निरन्तरता
​वंशावलीका अनुसार, कलिगत संवत् १८०१ मा माता बज्रयोगिनीको ईश्वरीय आदेश पाएर जोगदेव बज्राचार्यले साँखु नगरको स्थापना गरी यो जात्राको आरम्भ गरेका थिए। वि.सं. १९७० र २०७७(कोरोना) सालको विषम परिस्थितिबाहेक यो जात्राले शताब्दीऔँदेखि आफ्नो निरन्तरता कायम राखेको छ।
​यस वर्षको जात्रा चैत्र १९ गते (चैत्र शुक्ल पूर्णिमा) देखि सुरु भई चैत्र २६ गतेसम्म आठ रात र नौ दिनसम्म चल्नेछ।



युवा नेतृत्व र तयारीको चटारो
​यसपटक जात्रा व्यवस्थापनको जिम्मेवारी पुखुलाक्षिटोलले सम्हालेको छ। परम्परालाई आधुनिक ऊर्जासँग जोड्दै यस वर्ष युवा नेतृत्व अगाडि सरेको छ। जात्रा व्यवस्थापन समितिका अध्यक्ष सरोज श्रेष्ठका अनुसार खट मर्मत, डोरी, धनुष-बाँस; पूजा सामाग्रीहरु आदिईत्यादीको जोहो गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।


​"भूकम्पले क्षतिग्रस्त बनाएको बहालको 'द्यौछें' (भगवान् राख्ने सत्तल) अझै पुनर्निर्माण हुन नसक्नु दुःखद छ," अध्यक्ष श्रेष्ठले भावुक हुँदै भने, "नगरपालिकाको तर्फबाट ठोस पहल नभए पनि हामीले भगवानलाई सुरक्षित र मर्यादित रूपमा विराजमान गराउन वैकल्पिक व्यवस्था ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठसंग मिलाइरहेका छौँ।"




जात्राको मुख्य आकर्षण र सांस्कृतिक गरिमा
​गुँबहा (पहाड) बाट माता बज्रयोगिनीलाई खटमा राखी साँखु नगर भित्र्याएपछि जात्राको वास्तविक रौनक सुरु हुन्छ। नगरका आठ वटा टोलहरू— धुँल्ला, चालाखु, सुनटोल, ईल्लाटोलका स्थानमा पालैपालो देवीलाई विराजमान गराइ प्रत्यक बर्ष जात्रा संचालन गर्ने गरिन्छ। जात्रा संचालन हेतु  ४ दिन अगाडि चैत्र १६ गते राजाको प्रतिनिधीको स्वरुप तलवार ल्याउने कार्य गरिने छ,भने ईल्लाटोल यानिकी बहाल अवस्थित द्यो छेंमा शुरुको  चैत्र १९ गते म्हासुख्वा माजु,चि:भा द्यो, सिंघिनी, व्याघिनी भगवानलाई बज्रयोगिनिबाट खटमा राखी बाजागाजा सहित  साँखु शहरमा भित्र्याईन्छ,भोलिको दिन शुन्यका,२१ गते नख: जात्राको चौथो दिन २२ गते भने ल्याएका सम्पुर्ण भगवान सहित बज्रयोगिनिबाट बसुन्धरा माजुलाई पनि विशेष विधिपूर्वक खटमा राखि जात्रा गरि साँखुमा ल्याई विशेष मू:जात्रामा समावेश गराइन्छ। यो दिन साँखु शहरमा विभिन्न बाजा गाजा सहित परम्परागत पोसाकमा बढो हर्षौल्लासका साथ भगवानलाई जान लान सकेको ठाँउसम्म बोकेर साँखु शहर परिक्रमा गराई मू:जात्रा संचालन गर्ने गरिन्छ भने छोरीज्वाइँ,मामा,फूपू,ससुराली समस्त आफन्तजन ईष्टमित्र साथिभाईहरुलाई बोलाई जात्रालाई हर्ष उल्लासमयका साथ सम्पन्न गर्ने गर्दछ।



जात्राको ८ दिन पुरै बिधिवत विभिन्न परम्परागत पुजाआजा गर्नु पर्ने ब्यवस्था गरिएको छ भने पुजा विधि सम्पुर्ण बज्राचार्य बर्गहरुबाट सम्पन्न गर्ने गर्दछ।यस वर्षको अर्को महत्त्वपूर्ण पक्ष भनेको ६२ वर्ष पुरानो परम्पराको पुनर्जागरण हो। मूल पुजारी तिलक बज्राचार्यका अनुसार,३ बर्ष अगाडि  धूँल्ला टोलको पालोदेखि सुरु गरिएको ऐतिहासिक विधिलाई निरन्तरता दिँदै यस वर्ष पनि 'गुर्जु पल्टन' लाई सहभागी गराइनेछ, जसले जात्रालाई सैन्य र राजकीय शौर्यको झल्को दिनेछ।



र अन्तिम दिन चैत्र २६ गते बेलुकाको समयमा सम्पुर्ण भगवानहरुलाई पुन खटमा बिराजमान गरि बिदा गर्ने चलन यथावत छदैछ ।अर्को दिन चैत्र २७ गते बिहान भगवानलाई फिर्ता लाने क्रममा साँखुको कोलागालमा भगवान खेलाउने (तलमाथी गरि भगवानलाई ओहोरदोहोर गर्ने) प्रचन छ कोलागलको तल्लो भेगमा रहेको एउटा कुलो कताएपछी भने देउता बोक्ने अधिकार घुमारिचोक लप्सेका तामाङ्गहरुको हुन जाने गर्दछ तथा भगवानलाई सकुशल बज्रयोगिनी पुर्याउने कार्य उहाँहरुले निरन्तर गर्दै आएका छन्। चैत्र २८ गते र २९ गते राजा तथा रानीको विचार जाने भनेर सम्पूर्ण साँखुबासीहरू बज्रयोगिनी पूजा गर्न गएपछि यस वर्षको जात्रा सम्पन्न भएको ठहर्छ।




एक्यबद्धताको आह्वान
​जात्रा केवल मूर्ति घुमाउने कार्य मात्र होइन, यो समुदायलाई जोड्ने कडी पनि हो। अध्यक्ष श्रेष्ठले देश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरू र स्थानीय श्रद्धालुहरूलाई यस पावन अवसरमा सहभागी तथा आर्थिक रुपमा सहयोग गरि दिनु हुन पनि अपिल गरेका छन्।
​"हाम्रो संस्कृति हाम्रो पहिचान हो। आउनुहोस्, यो गौरवपूर्ण जात्रालाई हर्षोल्लासका साथ सफल पारौँ र आफ्ना पुर्खाहरूले सुम्पिएको यो नासोलाई भावी पुस्तासम्म जीवित राखौँ।"


प्रतिक्रिया