साँखु, काठमाडौं ।
श्री श्री बज्रयोगिनी माताको ऐतिहासिक जात्रा सुरु भएसँगै शंखरापुर नगरपालिका वडा नं. ६ र ७ ले स्थानीय बासिन्दालाई सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्। जात्रा अवधिमा हजारौं श्रद्धालु तथा आगन्तुकको आवागमन बढ्ने भएकाले टोल–टोलमा वातावरण स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन संयुक्त सूचना जारी गरिएको हो।
वडा कार्यालयद्वारा जारी सूचनामा २०८२ साल चैत १९ गतेदेखि जात्रा पर्व प्रारम्भ भइसकेको उल्लेख गर्दै आ–आफ्नो घर वरपर राखिएका निर्माण सामग्री, ढुंगा, बालुवा, काठ, फोहोर तथा वातावरणमा नकारात्मक असर पार्ने अन्य वस्तुहरू यथाशीघ्र हटाउन अनुरोध गरिएको छ। साँघुरा सडक र गल्लीहरूमा यस्ता सामग्री रहँदा आवत–जावतमा असहजता सिर्जना हुने, दुर्घटनाको जोखिम बढ्ने तथा जात्रा व्यवस्थापनमा कठिनाइ आउने भएकाले समयमै सरसफाइ गर्न आग्रह गरिएको हो।
जात्रा अवधिमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामुदायिक एकताको प्रतिविम्ब झल्किने भएकाले स्थानीयको सक्रिय सहभागिता अपरिहार्य रहेको वडा कार्यालयले जनाएको छ। सरसफाइ, व्यवस्थापन र अनुशासन कायम राख्न सके जात्राको गरिमा अझ उचो हुने र आगन्तुकमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरिएको छ।
वडा नं. ६ का अध्यक्ष राधा कृष्ण श्रेष्ठ र वडा नं. ७ का अध्यक्ष विष्णु प्रसाद श्रेष्ठले संयुक्त रूपमा हस्ताक्षर गरी जारी गरिएको सूचनामा जात्रालाई सभ्य र भव्य रूपमा मनाउन सबैलाई आ–आफ्नो क्षेत्र सफा राख्न, अनावश्यक सामग्री हटाउन र सामुदायिक सहकार्य बढाउन अनुरोध गरिएको छ। साथै, धार्मिक पर्वको अवसरमा स्थानीयवासीबीच आपसी सहयोग, सद्भाव र अनुशासन कायम गर्नुपर्नेमा पनि जोड दिइएको छ।
शंखरापुरको साँखु क्षेत्र प्राचीन धार्मिक तथा सांस्कृतिक सम्पदाले समृद्ध मानिन्छ। यहाँ आयोजना हुने बज्रयोगिनी जात्रा उपत्यकाकै महत्वपूर्ण पर्वमध्ये एक मानिन्छ, जसले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सामुदायिक एकतालाई उजागर गर्दछ। यस्तो महत्वपूर्ण जात्रालाई व्यवस्थित र स्वच्छ वातावरणमा सम्पन्न गर्न वडा कार्यालयले सबै स्थानीयवासीलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।