साँखुमा श्री श्री श्री बज्रयोगिनी जात्राको रौनक: खट जात्रा र बजार सजावटले फेरियो नगरको स्वरूप

lawanyasandesh.com

साँखु (शंखरापुर), काठमाडौँ। चैत्र पूर्णिमाको पावन अवसरसँगै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको श्री श्री श्री बज्रयोगिनी जात्रा आजदेखि विधिवत रूपमा सुरु भएको छ। जात्रा सञ्चालनका लागि गुँविहार (माथिल्लो मन्दिर) बाट श्री बज्रयोगिनी माताको गणलाई शंखरापुर साँखुमा ल्याउन आवश्यक ‘खट’ तयार गर्ने कार्य धमाधम भइरहेको छ। जात्राको प्रारम्भसँगै साँखु नगर धार्मिक आस्था, सांस्कृतिक रौनक र सामुदायिक सहभागिताले भरिएको छ।

स्काउटको सक्रियता र खट निर्माण तीव्र

जात्रालाई व्यवस्थित रूपमा सञ्चालन गर्न तथा माताको गणलाई नगर प्रवेश गराउन साँखुका विभिन्न नेपाल स्काउटका पदाधिकारी तथा सदस्यहरू सक्रिय रूपमा खटिएका छन्। स्काउटका सदस्यहरूले स्थानीय बासिन्दासँग सहकार्य गर्दै खट निर्माण, व्यवस्थापन तथा आवश्यक सामग्री जुटाउने काममा विशेष सक्रियता देखाइरहेका छन्। सामूहिक श्रमदानमार्फत खट निर्माण कार्य तीव्र पारिएको छ, जसले जात्राको तयारीलाई थप गति दिएको छ।

झिलिमिली साँखु र सरसफाइ अभियान

जात्राको स्वागतका लागि साँखुका टोल–टोलमा आकर्षक झल्लर, ध्वजापताका तथा सजावट राखिएको छ। परम्परागत शैलीमा गरिएको सजावटले सम्पूर्ण नगरलाई बेहुली झैँ झिलिमिली र रङ्गीचङ्गी बनाएको छ। जात्रालाई भव्य र स्वच्छ बनाउन स्थानीय वडा कार्यालयले सरसफाइ अभियान सञ्चालन गर्न आह्वान गरेको छ।

शंखरापुर नगरपालिका वडा नं. ६ र ७ को कार्यालयले जारी गरेको सूचनाअनुसार २०८२ साल चैत्र १९ गतेदेखि सुरु भएको श्री बज्रयोगिनी जात्रालाई लक्षित गर्दै सम्बन्धित वडावासीलाई आ–आफ्नो टोल तथा घर वरपर राखिएका निर्माण सामग्री, फोहोर तथा वातावरणमा असर पार्ने वस्तुहरू यथाशीघ्र हटाई सरसफाइ कायम गर्न अनुरोध गरिएको छ। साथै जात्रालाई सभ्य, भव्य र व्यवस्थित रूपमा मनाउन सबैलाई सहयोग गर्न आह्वान गरिएको छ।

साथै बाटोमा झल्लर र सजावटहरु राखिएकाले जात्रा अवधिभर अग्ला सवारी साधनलाई साँखु भित्र प्रवेश नगर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न पनि अनुरोध गरिएको छ।

धार्मिक आस्था र सांस्कृतिक महत्व

बज्रयोगिनी जात्रा साँखुको मात्र नभई काठमाडौँ उपत्यकाकै महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छ।  यस जात्राले स्थानीय बासिन्दामा उत्साह, आस्था र सामुदायिक एकता थप्ने विश्वास गरिएको छ।

जात्रा अवधिभर विभिन्न धार्मिक पूजाआजा, सांस्कृतिक दाफा भजन,रामायण भजन परम्परागत बाजागाजा तथा सामुदायिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। स्थानीयवासी, सामाजिक संघसंस्था तथा स्वयंसेवकहरूको सक्रिय सहभागिताले यस वर्षको श्री बज्रयोगिनी जात्रा थप भव्य, व्यवस्थित र आकर्षक बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया