शंखरापुर, काठमाण्डौं।
विश्व फुटबलका करोडौं समर्थकले प्रतीक्षा गरेको फिफा विश्वकप–२०२६ भव्य रूपमा सुरु भएको छ। अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा भइरहेको यस संस्करणले विश्वकप इतिहासमा नयाँ अध्याय थपेको छ। पहिलो पटक ४८ राष्ट्र सहभागी रहेको प्रतियोगिता जुलाई १९ सम्म सञ्चालन हुनेछ र प्रतियोगिताभर कुल १०४ खेल खेलाइनेछन्।
यस पटकको विश्वकपले अर्को ऐतिहासिक कीर्तिमान पनि कायम गरेको छ। विश्वकप इतिहासमै पहिलो पटक तीनवटा अलग–अलग उद्घाटन समारोह आयोजना गरिएको छ। आयोजक राष्ट्र मेक्सिको, क्यानडा र अमेरिकाले आफ्ना पहिलो खेलअघि सांस्कृतिक तथा सांगीतिक कार्यक्रममार्फत विश्व समुदायलाई स्वागत गरेका छन्।
मेक्सिको सिटीमा आयोजित उद्घाटन समारोहमा विश्वप्रसिद्ध कलाकार शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन र टायलाको प्रस्तुति आकर्षणको केन्द्र बन्यो। क्यानडाको टोरन्टोमा माइकल बब्ले, एलानिस मोरिसेट र एलेसिया काराले दर्शकलाई मनोरञ्जन प्रदान गरे भने अमेरिकाको लस एन्जलसमा केटी पेरी, ब्ल्याकपिंककी लिसा, अनिट्टा, रिमा र फ्युचरले सांगीतिक माहोल तताएका थिए।
विश्वकपको उद्घाटन खेलमा सहआयोजक राष्ट्र मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको थियो।
खेलको नवौं मिनेटमै जुलियन किइनोनेजले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए। उक्त गोलसँगै रंगशालामा उपस्थित हजारौं समर्थक उत्साहले झुमेका थिए। पहिलो हाफभर मेक्सिकोले खेलमा दबाब कायम राखे पनि थप गोल गर्न सकेन।
दोस्रो हाफमा दक्षिण अफ्रिकाका याया सिथोल र थेम्बा जुवानेले रातो कार्ड पाएपछि टोली संकटमा परेको थियो। दुई खेलाडी बाहिरिएपछि संख्यात्मक रूपमा कमजोर बनेको दक्षिण अफ्रिकामाथि मेक्सिकोले थप दबाब सिर्जना गर्यो।
त्यसको फाइदा उठाउँदै अनुभवी ३५ वर्षीय स्ट्राइकर राउल जिमेनेजले ६७ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। अन्त्यतिर मेक्सिकोका डिफेन्डर सिजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान छाडे पनि त्यसले खेलको नतिजामा कुनै प्रभाव पार्न सकेन।
महत्वपूर्ण जितसँगै मेक्सिकोले समूह ‘ए’ मा बलियो सुरुआत गरेको छ। घरेलु मैदान, समर्थकको साथ र अनुभवी खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले मेक्सिकोलाई यस विश्वकपको सम्भावित दाबेदार टोलीमध्ये एकका रूपमा स्थापित गरेको छ।
यसैबीच, विश्वभरका करोडौं दर्शकको ध्यान अहिले उत्तर अमेरिकातर्फ केन्द्रित छ। फुटबल, संगीत र संस्कृतिको अद्भुत संगमसँगै सुरु भएको विश्वकप–२०२६ ले आगामी एक महिनाभन्दा बढी समयसम्म विश्व खेलकुद जगतलाई रोमाञ्चित बनाउने अपेक्षा गरिएको छ। नयाँ ढाँचा, बढेको टोली संख्या, तीन देशमा फैलिएको आयोजना र विश्वका उत्कृष्ट खेलाडीहरूको उपस्थितिका कारण यस संस्करणलाई विश्वकप इतिहासकै सबैभन्दा भव्य र आकर्षक प्रतियोगिताका रूपमा हेरिएको छ। :::