कागेश्वरी मनोहरा हुँदै साँखुसम्म मेट्रो रेल विस्तारका लागि नगर प्रमुख कार्कीको पहल

lawanyasandesh.com

शंखरापुर(साँखु), काठमाण्डौं। काठमाडौं उपत्यकाको बढ्दो सहरीकरण, ट्राफिक जाम तथा सार्वजनिक यातायातमा बढ्दो चापलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्ने उद्देश्यले कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले प्रस्तावित मेट्रो रेलमार्ग साँखुसम्म विस्तार गर्न पहल अघि बढाउनुभएको छ।

यसै क्रममा बिहीबार नगरपालिकामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) को प्राविधिक टोलीसँग भएको छलफलमा नगर प्रमुख कार्कीले प्रस्तावित मेट्रो रेलमार्ग कागेश्वरी मनोहरा नगरपालिका हुँदै शंखरापुर नगरपालिकाको साँखुसम्म विस्तार गर्नुपर्ने धारणा राख्नुभएको हो।

नगर प्रमुख कार्कीले प्रस्तावित रेलमार्गलाई कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ९ हुँदै साँखुसम्म विस्तार गर्न सके उत्तरपूर्वी काठमाडौंका नागरिकलाई आधुनिक, सहज र भरपर्दो सार्वजनिक यातायातको पहुँच उपलब्ध हुने बताउनुभयो।

उहाँका अनुसार मेट्रो रेलमार्ग साँखुसम्म जोड्न सके कागेश्वरी मनोहरा र शंखरापुर क्षेत्रका नागरिकको दैनिक आवागमन सहज हुनुका साथै यातायातको चाप र ट्राफिक जाम न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुग्नेछ। यसले यस क्षेत्रको व्यापार, आर्थिक गतिविधि तथा समग्र सहरी विकासलाई समेत गति दिने अपेक्षा गरिएको छ।

विकासका ठूला पूर्वाधार आयोजना काठमाडौंको केन्द्रमा मात्र सीमित नराखी उपत्यकाका बाहिरी तथा तीव्र रूपमा सहरीकरण भइरहेका क्षेत्रलाई समेत समेटेर अघि बढाउनुपर्नेमा नगर प्रमुख कार्कीले जोड दिनुभएको छ।

कागेश्वरी मनोहरा हुँदै साँखुसम्म मेट्रो रेल विस्तार गर्ने विषयलाई सम्बन्धित निकायसमक्ष निरन्तर उठाउँदै यस क्षेत्रका नागरिकको आवश्यकता र अपेक्षालाई योजनामा समेट्न पहल गर्ने उहाँको प्रतिबद्धता छ।

प्रस्तावित मेट्रो रेलमार्गको सम्भावित विस्तारसम्बन्धी छलफलले उत्तरपूर्वी काठमाडौंको यातायात व्यवस्थापन, सहरी विकास र आर्थिक समृद्धिका लागि नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ। यद्यपि, साँखुसम्म रेलमार्ग विस्तार गर्ने विषय हाल छलफल र प्रस्तावकै चरणमा रहेको छ।

प्रतिक्रिया