काठमाडौं । निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित उम्मेदवारहरूको घोषणा गरेको छ।
आयोगले सोमबार एक सूचना जारी गर्दै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा समानुपातिक प्रणालीतर्फ निर्वाचित उम्मेदवारहरूको घोषणा गरिएको जनाएको हो।
सूचनाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(४) तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३८(१) बमोजिम राजनीतिक दलहरूले पेश गरेका बन्दसूचीका आधारमा उम्मेदवारहरू चयन गरी आयोगको निर्णय अनुसार निर्वाचित घोषणा गरिएको उल्लेख गरिएको छ।
आयोगले निर्वाचित उम्मेदवारहरूको विवरण सूचनासँगै संलग्न गरिएको जनाएको छ।
यसैबीच, निर्वाचित उम्मेदवारहरूलाई आगामी चैत १४ गते बिहान ११:३० बजे आयोग परिसरबाट प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको आयोगले जनाएको छ। प्रमाणपत्र लिन आउँदा निर्वाचित उम्मेदवारहरूले आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र र दुई प्रति पासपोर्ट साइज फोटो साथमा ल्याउन आयोगले अनुरोध गरेको छ।