शंखरापुर,काठमाण्डौं। शंखरापुर नगरपालिकाले नगरपालिकाभित्र स्थायी बसोबास गर्ने सम्पूर्ण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेट तथा नीतिगत व्यवस्थाअनुसार स्वास्थ्य बीमाको प्रिमियममा शतप्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरेको हो।
नगरपालिकाले मिति २०८३ कात्तिक १७ गते सार्वजनिक सूचना जारी गर्दै
उक्त कार्यक्रममा सहभागी हुन इच्छुक नगरपालिकाका सम्पूर्ण स्थायी नगरवासीलाई
आवश्यक कागजातसहित प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
कार्यक्रममा सहभागी हुन इच्छुक नागरिकले नेपाली नागरिकताको
प्रमाणपत्रको प्रतिलिपि, कर तिरेको सक्कल रसिद, स्वास्थ्य
बीमा गरेको प्रमाण पेस गर्नुपर्नेछ। त्यसैगरी, अन्य स्थानबाट
बसाइँसराइ गरी शंखरापुर नगरपालिकामा आएका नागरिकले बसाइँसराइ प्रमाणपत्रको
प्रतिलिपि र अन्य पालिकामा विवाह गरी शंखरापुरमा आएका नागरिकले विवाह दर्ता
प्रमाणपत्रसमेत पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
नगरपालिकाले कार्यक्रमसम्बन्धी थप जानकारी तथा आवश्यक प्रक्रियाका
लागि नगरपालिकास्थित स्वास्थ्य शाखा वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न पनि
अनुरोध गरेको छ।
स्थानीय नागरिकलाई
आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् र सबैको स्वास्थ्य सेवामा
पहुँच स्थापित होस् भन्ने उद्देश्यले ल्याइएको यस कार्यक्रमले नगरवासीलाई राहत
पुग्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य बीमाको
प्रिमियममा शतप्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्थाले नागरिकको स्वास्थ्य
सुरक्षामा स्थानीय सरकारको जिम्मेवारी र प्रतिबद्धतालाई थप बलियो बनाउने विश्वास
गरिएको छ।