धर्मस्थलीमा पाहा चर्हे जात्राको रौनक: भोलि 'द्यो:थाहाबिज्या' सँगै समापन हुने।

lawanyasandesh.com

साँखु,काठमाडौँ ।
ऐतिहासिक एवं धार्मिक महत्त्वको क्षेत्र तारकेश्वर नगरपालिका अन्तर्गत धर्मस्थलीमा यस वर्षको 'पाहा चर्हे' (चैत्र कृष्ण त्रयोदशी)२०८२ साल चैत्र ३ गतेको अवसरमा सुरु भएको जात्रा यतिबेला उत्कर्षमा पुगेको छ। परम्परागत बाजागाजा, देवदेवीको खट यात्रा र स्थानीयको बाक्लो सहभागिताले धर्मस्थली क्षेत्र उत्सवमय बनेको छ। त्रयोदशीबाट सुरु भएको यो ऐतिहासिक जात्रा भोलि (चैत्र ७ गते) विधिवत् रूपमा समापन हुदैछ।



​सिन्दूर उत्सव र सामाजिक सद्भाव
​जात्राको मुख्य आकर्षण मानिने औँसीको दिन हिजो धर्मस्थलीको भित्री बस्तीहरूमा समेत देवताको रथयात्रा गरि शिन्दुर जात्रा गरि धुमधामका साथ मनाइएको छ। गणे द्यो (गणेश), महाकाली द्यो र अजिमा द्यो (पिरकुन) लाई खटमा राखेर नगर परिक्रमा गराउँदा भक्तजनहरूको ठूलो घुइँचो लागेको थियो।
​परम्पराअनुसार हिजोको दिन स्थानीयले आफ्ना आफन्त, इष्टमित्र र साथीभाइलाई निमन्त्रणा गरी  भोज खुवाउने र सामाजिक सम्बन्धलाई प्रगाढ बनाउने कार्य गरेका छन्।
​नयाँ पुस्ताको सक्रियता
​पछिल्ला वर्षहरूमा यो जात्रामा युवा पुस्ताको सहभागिता उल्लेखनीय देखिएको छ। परम्परागत संस्कृतिलाई निरन्तरता दिँदै युवाहरूले सांगीतिक कार्यक्रमहरू र विभिन्न आधुनिक प्रस्तुतिहरू मार्फत उत्सवलाई थप आकर्षक बनाएका छन्। स्थानीय बुद्धिजीवीहरूका अनुसार जात्राले पुरानो पहिचान जोगाउँदै नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने बलियो माध्यम बनेको छ।



​भोलि 'द्यो:थाहाबिज्या' सँगै समापन
​जात्राको अन्तिम दिन भोलि (चैत्र ७ गते शनिबार) विशेष धार्मिक अनुष्ठान “द्यो:थाहाबिज्या” अर्थात् देवतालाई स-सम्मान फिर्ता पठाउने कार्यक्रम रहेको छ।
भोलिको मुख्य आकर्षण:
• ​जरन्कु तथा पारी गाउँबाट गणेश भगवानलाई ल्याइनेछ।
• ​परम्परागत शैलीमा 'देवता छेक्ने र हटाउने' रोचक खेल प्रदर्शन गरिनेछ।
• ​युवाहरूको सक्रियतामा रमाइलो वातावरणका साथ जात्राको बिसर्जन गरिनेछ।
​धर्मस्थलीको यो जात्रा केवल धार्मिक अनुष्ठान मात्र नभई स्थानीय संस्कृति, परम्परा र सामुदायिक एकताको सशक्त प्रतीकका रूपमा रहँदै आएको छ। भोलिको विशेष कार्यक्रमसँगै यस वर्षको पाहा चर्हे धर्मस्थलिको जात्राले औपचारिक रूपमा बिदा लिनेछ।

प्रतिक्रिया