कांग्रेसमा समानान्तर महाधिवेशन प्रक्रिया

lawanyasandesh.com

शंखरापुर,काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवादका बीच संस्थापन पक्ष र पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टाछुट्टै अधिवेशन प्रक्रिया अघि बढाएका छन् । संस्थापन पक्षले आफ्नो कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाइरहेका बेला देउवा पक्षले पनि समानान्तर रूपमा वडा अधिवेशनदेखि महाधिवेशनसम्मको कार्यतालिका अघि सारेको हो ।

वडा अधिवेशनबाट समानान्तर प्रक्रिया सुरु

देउवा पक्षले आजदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरेको छ । त्यसका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत परिचालन गरिएको तथा ५६ जिल्लामा निर्वाचन संयोजकसमेत खटाइएको जनाएको छ । वडा तहबाटै संगठनलाई व्यवस्थित गर्दै आगामी महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया अघि बढाउने देउवा पक्षको तयारी छ ।

मङ्सिर २१ देखि २३ गतेसम्म महाधिवेशन

देउवा पक्षले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी छ । त्यसपछि मङ्सिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ । उक्त कार्यतालिकाबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइएको देउवा पक्षले जनाएको छ ।

आधिकारिकता विवाद अदालतमा

कांग्रेसको आधिकारिकता तथा महाधिवेशन प्रक्रियासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा दुवै पक्षले आ–आफ्नै प्रक्रिया अघि बढाएका छन् । देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै आएको छ भने संस्थापन पक्षले आफ्नो प्रक्रियाअनुसार महाधिवेशन अघि बढाइरहेको छ ।

शंखरापुर देखि देशभर प्रभावको चासो

केन्द्रीय तहमा देखिएको विवादको प्रभाव वडा, पालिका, प्रदेशसभा क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रसम्म पुग्ने देखिएको छ । काठमाडौँ क्षेत्र नं. २ अन्तर्गत शंखरापुरमा समेत वडा तहदेखि हुने अधिवेशनले स्थानीय संगठनको आगामी संरचना र प्रतिनिधित्वमा प्रभाव पार्ने भएकाले स्थानीय कांग्रेस नेता–कार्यकर्तामाझ अधिवेशनप्रति चासो बढेको छ ।

देउवा पक्षीय महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउनुपर्नेमा जोड दिँदै नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई वडा अधिवेशनमा सहभागी हुन अपिल गर्नुभएको छ ।

दुवै पक्षबाट समानान्तर रूपमा अधिवेशन प्रक्रिया अघि बढेपछि कांग्रेसको १५औँ महाधिवेशनको आधिकारिक स्वरूप, प्रतिनिधित्व र नेतृत्वसम्बन्धी विषय आगामी दिनमा थप महत्वपूर्ण बन्ने देखिएको छ ।

प्रतिक्रिया